हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस मकवानपुरले वडा–वडामा पार्टी प्रतिनिधि खटाएको छ । निर्वाचन लक्षित अभियानको देशव्यापी सुरुवात गर्दै काँग्रेस मकवानपुरले वडा प्रतिनिधि खटाएको हो ।
आइतबार हेटौंडामा एक समारोहका बीच केन्द्रीय प्रतिनिधि गुरुराज घिमिरेले ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियानको सुरुवात गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका वडाहरुमा जिल्ला प्रतिनिधिलाई प्रतिनिधि नियुक्त गरिएको पत्र हस्तान्तरण गर्नुभयो । काँग्रेस मकवानपुरले नियुक्त गरेका प्रतिनिधिको विवरण काँग्रेस मकवानपुरका उपसभापति आनन्द कठायतले वाचन गरेर सुनाउनुभएको थियो ।
काँग्रेस मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडामा राजेश भेटवाल, २ नम्बर वडामा हरि वाग्ले, ३ नम्बर वडामा ईश्वर पण्डित, ४ नम्बर वडामा रामबाबु बानियाँ, ५ नम्बर वडामा आनन्दराम पराजुली, ६ नम्बर वडामा गोपीलाल बिश्वकर्मा, ७ नम्बर वडामा अर्जुनप्रसाद चौलागाई, ८ नम्बर वडामा प्रदीप कोइरालालाई जिल्ला प्रतिनिधि खटाएको छ ।
यस्तै ९ नम्बर वडामा केशव प्रसाद धिताल, १० नम्बर वडामा अशोक शाक्य, ११ नम्बर वडामा प्रभात दाहाल, १२ नम्बर वडामा ईश्वरलाल श्रेष्ठ, १३ नम्बर वडामा शर्मिला श्रेष्ठ, १४ नम्बर वडामा सञ्जीता सिग्देल, १५ नम्बर वडामा कालु घलान, १६ नम्बर वडामा तारानाथ चौलागाई, १७ नम्बर वडामा ताराकुमारी राई कार्की, १८ नम्बर वडामा होमनाथ गौतम र १९ नम्बर वडामा ईन्द्र बर्तौलालाई जिल्लाले प्रतिनिधिको रुपमा खटाएको छ ।
१ महिने अभियानअन्तर्गत वडा–वडामा खटिने जिल्ला प्रतिनिधिले जनताको घर ढक्ढकाउने र जनतालाई झक्झक्याउनु पर्ने बताइएको छ । जिल्ला प्रतिनिधिले वडामा गएर एक हप्ताभित्र पार्टीको अवस्थाको प्रतिवेदन केन्द्रमा बुझाउनुपर्नेछ । जनताको घर–घरमा पुगेर वडा प्रतिनिधिले जनतालाई मताधिकार प्रयोग गर्न प्रेरित गर्ने, नेपाली काँग्रेसलाई नै किन मत हाल्ने भनेर बुझाउने, काँग्रेसले विगतमा गरेको काम, राजनीतिक परिवर्तनको कुरा मात्रै नभई विकासका लागि गरेको कामको कुरा गर्न प्रतिनिधिलाई केन्द्रीय प्रतिनिधि गुरुराज घिमिरेले निर्देशन दिनुभएको छ । नेता घिमिरेले वडा–वडामा खटिने प्रतिनिधिले काँग्रेसको अगुवाइमा भएको विकासको कामलाई जनतासम्म बुझाउनुपर्ने उल्लेख गर्नुभएको छ ।
एक महिने अभियानमा आसन्न निर्वाचनमा पहिलो पटक मतदान गर्ने समुहलाई मतदानको महत्वबारे बुझाउने, मतदाता शिक्षा सन्चालन गर्ने, भातृ र शुभेच्छुक संस्थाको सहयोग लिने, कार्यक्रम–क्रियाकलाप गर्ने, सामाजिक सञ्जालको उपयोग गरी पार्टीका गतिविधि प्रचार गर्ने, स्थानीय सन्चार माध्यममार्फत प्रचारप्रसार गर्ने, घोषणापत्र तयार पार्ने, जनधारणा बुझ्ने लगायतको कार्य गर्नुपर्ने नेता घिमिरेले बताउनुभयो ।