रविन्द्र वाईबा ।


हेटौंडाः बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयको आयोजनामा गत बिहीबारदेखि सोमबारसम्म ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भयो । काभ्रेपलाञ्चोकको धुलिखेलमा बागमती प्रदेशका पत्रकारहरुका लागि तालिम आयोजना भएको थियो । त्यसमा म पनि सहभागी हुने अवसर मिल्यो । बुधबार सुमोमा हेटौंडाबाट काठमाडौंसम्म पुगेँ र बास बसेँ । बिहीबार बिहानै काठमाडौंबाट बसको यात्रा गर्दै धुलिखेलमा पुगेँ । पत्रकारिता तालिम मेरो लागि पहिलो पटक थियो । म पनि तालिममा सहभागी भए । तालिममा बागमती प्रदेशका विभिन्न जिल्लाका १७ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

सबैभन्दा अगाडि म साथीहरुसँग परिचय गर्न थालेँ । एकअर्काबीच चिनजान भएपछि सामान्य बोलचाल सुरु भयो । त्यहाँ पुग्दा करिब ११ बजेको थियो । पहिला खाना खान सुरु गरेँ अनि तालिममा सहभागी भएँ । कार्यक्रम बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालको प्रमुख आतिथ्यता र बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयका प्रमुख रेवती सापकोटाको सभाध्यक्षतामा भएको थियो । सुरुमा सबै सहभागीबीच आ–आफ्नो परिचयको आदानप्रदान गरियो । मैले पनि आफ्नो परिचय राखेँ । मलाई लागिरहेको थियो कि– म त लोकल पत्रिका, रेडियो र अनलाइनमा काम गछृु । मैले लेखेको, पढेको र प्रसारण गरेका समाचार सानो निश्चित क्षेत्रसम्म मात्र प्रसारण हुन्छ । सीमित पाठक, श्रोताहरुले मात्र सुन्ने, पढ्ने गर्छन् । तर त्यो अब होइन रहेछन् भन्ने थाहा पायँैं । अब कुनै सिमित ठाउँका सूचना, समाचारहरु सञ्चार माध्यमबाट संसारका जुनसुकै ठाउँमा पुग्दारहेछन् । मैले लेखेको, प्रकाशन र प्रसारण गरेको समाचारहरु एकैपटक वृहत्रुपमा धेरै दर्शक, पाठक, श्रोताहरुले सुन्न, हेर्न र प्रतिक्रिया दिन सकिने अवस्था रहेछ । मैले प्रकाशन, प्रसारण गर्ने सूचना, समचारमा मेरो जिम्मेवारी, सतर्कता र पत्रकारको आचारसंहिताको बारेमा जानकारी पाएँ ।

परिचयात्मक कार्यक्रमपछि सबैजना तालिमको विषयवस्तुमा केन्द्रित भयौं । तालिममा पत्रकार विनोद सुवेदीले पत्रकारिता के हो ?, पत्रकारिता कसरी गर्ने, समचार लेखन, समचारका प्रकारका बारेमा जानकारी दिनुभयाो । नेपालमा मिडिया कानुनको बारेमा जानकारी गराउनुभयो । यस्तै अनलाइन पत्रकारिताका बारेमा पत्रकार विकास कार्कीले प्रशिक्षण दिनुभयो । उहा ले अनलाई पत्रकारिता, मोबाइल पत्रकारिता, फोटो पत्रकारिताको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । पत्रकार रविराज बरालले इन्टरनेट पत्रकारिताका बारेमा प्रशिक्षण गराउनुभएको थियो । यस्तै पत्रकारहरु गंगा बीसी र नेत्र पन्थीले ठूला सञ्चार गृहहरुमा कसरी न्युजरुम सञ्चालन हुन्छ भनेर प्रशिक्षण गराउनुभयो । ठुला सञ्चारगृहमा मैले पत्रकारिता गर्न के गर्नुपर्छ, कस्ता ज्ञान, लेखनसीप हुनुपर्छ भन्ने कुरा थाहा पाएँ ।

तालिम सकिएपछि सहभागी सबै जनाले प्रमाणपत्र प्राप्त गर्‍यौं । मैले पनि प्राप्त गरेँ । हातमा प्रमाणपत्र प्राप्त हुनासाथ मलाई पत्रकारिता पेशामा लाग्न थप ऊर्जा मिलेको जस्तो महसुस भएको छ । अब पत्रकारिता गर्दा कसैको डर, धम्कीले सूचना, समाचार लेख्ने–नलेख्ने भन्ने कुरा हट्यो, स्वतन्त्ररुपमा काम गर्न सहज भयो भन्ने अनुभव भयो । तालिममा अग्रज पत्रकार, सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वहरु, अन्य जिल्लाका पत्रकार साथीहरुसँगको भेट, कुराकानी, सल्लाह–सुझावले गर्दा पनि पत्रकारितामा टिक्ने र बिक्ने हुन मलाई थप हौसला मिलेको छ ।