तालिम समापनपछि सामूहिक तस्वीर खिचाउँदै ।

सञ्चार राजिस्ट्रार कार्यालय बागमती प्रदेशको आयोजनामा प्रदेशका पत्रकारहरुका लागि ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । सोही तालिममा सहभागी हुन समृद्व समाज राष्ट्रिय दैनिककी संवाददाता, म जमुना थिङ पनि मंसिर २९ गते सुमोमा काठमाडौं प्रस्थान गरेको थिएँ । आधारभूत तह कक्षा ८ मा अध्ययनरत रहँदा पहिलो पल्ट नेपालको राजधानी काठमाडौं अवलोकन गर्ने अवसर पाएकी थिएँ । त्यतिबेला सुमोले मलाई भाडा नलिई लगेको थियो । जसकारण मलाई सुमो भाडा कति हो भन्ने यकिन भएन । जहाँसम्म लाग्छ, ४ वर्षअघि सुमोले एकजनाको भाडा करिब ३ सय रुपैयाँ भाडा लिने गरेको थियो । अहिले भने हेटौंडाबाट बल्खुसम्मको भाडा एक जनाको ५ सय ५० रुपैयाँ तोकिएको रहेछ । सुमोले भाडा जति लिएपनि मलाई काठमाडौं पुग्नुथियो र पुगेँ पनि ।

जमुना थिङ

मंसिरको अन्तिम दिन दिउँसो ३ बजे हेटौंडाबाट काठमाडौंका लागि गुडेका सुमो राति ७ः३० बजे बल्खु पुग्यौं । भोलिपल्ट पुस १ गते रत्नपार्कबाट धुलिखेलका लागि बस चढें । त्यहाँबाट धुलिखेल पुग्न लगभग दुई घण्टा लाग्दोरहेछ । हेटौंडाबाट काठमाडौं पुग्न बाटोको असुविधा भनौं या यातायातको असुविधा । त्यसैले मुस्किल थियो राजधानी पुग्नलाई । विभिन्न हरियाली दृश्यसँगै बाटोघाटो, होटल र झुपडीका घरलाई पनि नियाल्न पाएँ । कताकता मनलाई डुलाइरहेँ, ८ कक्षा पढेका बेला उही बाटोबाट काठमाडौं पुगेको थिएँ । ४ वर्षपछि पत्रकारिता पेशा अंगालेर क्षमता अभिवृद्विका लागि उही बाटो नेपालको राजधानी पुग्न कष्ट नै भयो । हालसम्म पनि बाटोको अवस्था लगभग उस्तै रहेछ । कतै–कतै सडक विस्तार गरी सुमो गुडाउन सजिलो बनाएको पाएँ । तर, सुमोको भाडा बढे पनि किन बाटो पिच भएन ? ढुक्कसँग सुमोबाट राजधानी पुग्नसक्ने वातावरण किन सिर्जना भएन ? राति ७ बजेपनि डोजरले बाटो मर्मत गरिरहेको थियो । अचम्म लाग्छ मलाई, सुमो र मोटरसाइकललाई रोक लगाई बाटो मर्मत गर्नु कति उपयुक्त छ ?

सोही क्रममा बिरामी बोकिरहेका एम्बुलेन्स आयो, हर्न बजाउँदै । मलाई थाहा छ, बिरामीलाई कुनै पनि कारण देखाई बाटोमा अवरोध गर्नुहुन्न । त्यसैले होला डोजरले पनि एम्बुलेन्सकै लागि भएपनि बाटो मर्मत गर्न छाडेर साइड लाग्यो । रोकिरहेका दर्जनभन्दा बढी मोटरसाइकल र सुमोहरु पनि बिरामीकै कारण केही बेरको पखाईपछि जान पाए । वस्तावमा भन्ने हो भने पत्रकारिता समाज परिवर्तनकै लागि हो । तर समाज परिवर्तन गर्न चुनौती रहेछ । अहिलेको २१ औं शाताब्दीमा पनि राजधानीमै धुलो र धुवाँ खानुपर्ने स्थिति छ । समयमै कार्यालय तथा विद्यालयमा पुग्न मुस्किल छ, ट्राफिक जामका कारण । सडकमै चेतनशील प्राणी मानिसले रात बिताउनुपर्ने स्थिति छ । विभिन्न कारणले अहिलेपनि संघर्षपूर्ण जीवन जिउनु परेको छ, मानिसले । यो विकट क्षेत्रमा देखिएका दृश्यबारे चर्चा तथा परिचर्चा गरिएको होइन, नेपालकै राजधानी काठमाडौैंको बारे चर्चा तथा परिचर्चा गरिएको हो ।

वास्तवमा भन्ने हो भने पत्रकारिता समाज परिवर्तनकै लागि हो । यस तथ्यलाई मनन गर्दै मैले आफूलाई सञ्चार राजिष्ट्रारको कार्यालयले आयोजना गरेको आधारभूत पत्रकारिता तालिममा केन्द्रित गरेँ । पहिलो दिन बागमती प्रदेशका कानुन तथा आन्तरिक मामिला मन्त्री कृष्ण शर्माको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको थियो । मन्त्री शर्माले यदि समाज परिवर्तन गर्नुछ भने पत्रकारिता गर भनेर तालिममा सहभागीलाई आग्रह गर्नुभएको थियो । कोही पत्रकारलाई वरिष्ठ भन्ने गरिएको भए पनि अहिलेसम्म सरकारले वरिष्ठ पत्रकारको मापदण्ड निर्माण नगरेको मन्त्री शर्माले बताउनुभयो । बागमती प्रदेश सरकारले निकट भविष्यमा कार्यविधि बनाई वरिष्ठ पत्रकारलाई थप सेवासुविधा प्रदान गर्ने उहाँले जानकारी दिनुभएको थियो ।

वास्तवमा भन्ने हो भने पत्रकारकै आधारभूत आवश्यकता पत्रकारिता पेशाबाट पूरा हुँदैन । सञ्चार राजिष्ट्रारको कार्यालय बागमती प्रदेशका प्रमुख रेवती सापकोटाले समाचार गुणस्तरीय हुन आवश्यक रहेको बताउनुभयो । अब समाचारको वितरण स्थानीयमात्रै हुँदैन भन्दै सापकोटाले इन्टरनेटको मद्दतबाट समाचारको वितरणलाई अन्तर्राष्ट्रियकरण गरिदिएको जानकारी दिनुभयो । पत्रकारले आफूलाई लोकल ठान्ने दिन गएको र ग्लोबल हुने दिन आएको उहाँको भनाई थियो । अब पत्रकार लोकल नभई ग्लोबल भएकाले ग्लोबलस्तरको समाचार तयार गर्नु पत्रकारको कर्तव्य रहेको सापकोटाले बताउनुभयो ।

तालिमको पहिलो र दोस्रो दिन वरिष्ठ पत्रकार विनोद ढुङ्गेलले समाचार के हो र कति प्रकारका हुन्छन् ? आमसञ्चार भनेको के हो ? पत्रकारको भूमिका र आचारसंहिता साथै समाचारको स्रोत कसरी पहिचान गर्ने भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो । विकास कार्कीले अनलाइन पत्रकारिताको विकास र अवस्थाबारे जानकारी दिनुभएको थियो । यस्तै रविराज बरालले डिजिटल प्रविधिको विकाससँगै अनलाइन पोर्टल कसरी बनाउने, अनलाइनबाट समाचार सम्प्रेषण गर्ने तरिका, भिडियो तथा फोटो फिचरका माध्यमबाट समाचार सम्प्रेषण, फोटोग्राफ र भिडियो इडिटिङ गर्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।

यसैगरी नेत्र पन्थी र गंगा बीसीले एउटा राष्ट्रिय पत्रिका, रेडियो र टेलिभिजनले समाचार आम नागरिकका बीच पुर्‍याउन गरिएका प्रयास तथा पत्रकारको भूमिका र न्युजरुम कसरी सञ्चालन हुन्छ भन्ने विषयमा जानकारी गराउनुभएको थियो । ५ गते समापन भएको तालिममा मकवानपुरसहित सिन्धुपाल्चोक, सिन्धुली, चितवन र काठमाडौंका पत्रकारहरुको सहभागिता रहेको थियो । समाज परिवर्तन गर्न चुनौती त रहेको छ, तर पनि मेरो ५ दिने पत्रकारिता तालिमले पक्कै समाज परिवर्तन गर्न थप सहयोग पुग्नेछ भन्ने अपेक्षा लिएको छु ।