हेटौंडाः भौगोलिक विकटताका कारण करिब ३ घण्टासम्म पैदल यात्रा गर्दै विद्यार्थीहरु विद्यालयसम्म आइपुग्छन्, बागमती–५ को देवकी माविमा । मकवानपुरसँगै सीमा जोडिएका काभ्रे, सिन्धुली जिल्लालगायत विकट क्षेत्रबाट अध्ययनका लागि उक्त विद्यालयमा विद्यार्थीहरु आउने गर्दछन् ।
बगर र जंगलको बाटो हुँदै करिब ३ घण्टा हिँड्दै बागमती–५, हिलपानी–कटुसपानीका विद्यार्थीहरु जसोतसो विद्यालय पुग्ने गर्दथे । तर अब त्यो समस्या हटेको छ । अहिले आधा घण्टामै टाढाका विद्यार्थीलाई बसले विद्यालय पुर्याउँछ । विद्यालयलाई गाउँपालिकाले उपलब्ध गराएको बस सञ्चालनमा आएपछि विद्यालय आउने टाढाका विद्यार्थी हर्षित बनेका हुन् । विद्यालयले गत जेठमै बस प्राप्त गरेको भए पनि कार्तिक महिनादेखि बस सञ्चालनमा आएको हो ।
बस सेवा सुरु भएपछि विद्यालयमा विद्यार्थीको उपस्थिति दर बढेको देवकी माविका प्रधानाध्यापक चन्द्र थापाले जानकारी दिनुभयो । टाँढाका विद्यार्थीहरु सबैजना बस चढेर सहजरुपमा विद्यालय आउन थालेसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति राम्रो भएको र विद्यार्थीको अनुहारमा उज्यालोपना देखा परेको उहाँले बताउनुभयो । विद्यालयमा बस सेवा सञ्चालन भएसँगै विद्यार्थीहरु समयमा विद्यालयमा उपस्थित नहुने, पैसा तिरेर घरभाडामा बस्नुपर्ने, लामो समय पैदल यात्रा गर्दै विद्यालय पुग्नुपर्ने झन्झट हट्ने प्रधानाध्यापक थापाले बताउनुभयो ।
अहिले बागमती–५, कुटसपानी–हिलपानी र कोइरालादमार हुँदै विद्यालयसम्म बस सञ्चालन गरिएको छ । यस्तै, बागमती–४ स्थित लमकना–पाँचपाण्डव–झुरझुरे हुँदै विद्यालयसम्म अर्को चरणमा उक्त बसले विद्यार्थी ओसारपसार गरिरहेको उहाँले बताउनुभयो । एउटा बसले मात्र सबै स्थानका विद्यार्थी ओसारपसार गर्न सम्भव नभएको बताउनुहुँदै प्रधानाध्यपक थापाले अझै एउटा बस थप भएमा सबै स्थानका विद्यार्थीलाई पहुँच पुग्ने बताउनुभयो ।
अहिले भौगोलिक दुरीले धेरै टाढा र विद्यार्थी संख्या बढी भएका ठाउँमा बस सञ्चालन गरिएको थापाले बताउनुभयो । कक्षा १ देखि १२ सम्म पठनपाठन हुने विद्यालयमा अहिले ४ सय ११ जना छात्र र ३ सय ८३ जना छात्रा अध्ययनरत रहेको उहाँले जानकारी दिनुभयो । विद्यालयमा प्राविधिक धारसहित २० जना शिक्षक रहेका छन् । जसमध्ये मावि तहमा ३ जनामात्र दरबन्दीका शिक्षक छन् । जसले गर्दा विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनबाट वञ्चित भएको प्रधानाध्यापक थापाले बताउनुभयो ।
विद्यालयमा विद्यार्थीको चाप बढिरहेको भए पनि भवन पर्याप्त नभएको प्रधानाध्यापक थापाले जानकारी दिनुभयो । अहिले कक्षा १ देखि १२ सम्म सञ्चालन गर्न विद्यालयमा १८ वटा पक्की कक्षाकोठा छ । जसमा विज्ञान प्रयोगशाला, पुस्तकालय, प्राथमिक स्वास्थ्य उपचार कक्षसमेत सञ्चालन भइरहेको छ । ४ कोठा प्राविधिक धारतर्फको कम्प्युटर इन्जिनियरिङ कक्षाका लागि छुट्याइएको छ । विद्यार्थीको उच्च चापका कारण पुराना अस्थायी सिकाई केन्द्र (टीएलसी)मा राखेर पढाईरहेको उहाँले जानकारी दिनुभयो । थप ८ वटा कक्षाकोठाको व्यवस्था भएमा मात्र विद्यार्थीको चाप धान्न सकिने उहाँले बताउनुभयो ।
विद्यालयसम्म बस सञ्चालन भएपछि घण्टौं पैदल यात्रा गर्दै विद्यालय जानुपर्ने कष्टकर अवस्थाबाट मुक्त भएको विद्यालयको कक्षा १० का छात्र प्रशान्त वाइबाले बताउनुभयो । बस सञ्चालन नहुँदा बिहान ७ बजेदेखि नै विद्यालय जान तयार हुनुपर्ने भए पनि अहिले त्यो अवस्था नरहेको वाइबाले बताउनुभयो । समयमै बसले विद्यालयदेखि घरसम्मै ल्याउने पुर्याउने गर्दा अहिले धेरै सजिलो भएको कक्षा १० मै अध्ययनरत छात्रा प्रमिला वाइबाले जानकारी दिनुभयो । सुरक्षित तरिकाले घरबाट विद्यालयसम्म पुग्न र विद्यालयबाट घर फर्किन सहज भएको उहाँले बताउनुभयो । विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्र अजय हिमडुङले बस सञ्चालन हुँदा धेरै सजिलो भएको बताउनुभयो ।