हेटौंडाः मकवानपुरका अधिकांश विद्यालयहरु भदौ २७ गतेबाट खुलेका छन् । अहिले मकवानपुरका विद्यालयहरुमा पठनपाठन तिव्र गतिमा बढिरहेको छ । हेटौंडा–२ स्थित सिद्वार्थ मावि र हेटौंडा–१, चाइनाक्वाटरमा रहेको अमर माविका केही कक्षामा एउटै बेन्चमा ५ जनासम्म विद्यार्थी राखेर पठनपाठन भइरहेको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आएमा बालबालिकाका लागि खतरापूर्ण हुने आंकलन गरेको छ ।
सिद्वार्थ माविका प्राधानाध्यापक मोहनप्रसाद शर्मा भन्नुहुन्छ– ‘केही कक्षामा एउटा बेन्चमा ५ जना विद्यार्थी हुनुले सावधानीबारे विद्यार्थी स्वयम् जिम्मेवार हुन नसकेको बताउनुभयो । विद्यार्थी संख्या तथा जोरबिजोर प्रणालीअुनसार पठनपाठन गरिने भएपनि विद्यार्थी अन्यौलमा परेकाले सम्भव हुन नसकेको बताउनुभयो ।
प्रायः विद्यार्थीले मास्क लगाएका थिए भने थोरै मात्रले मास्क प्रयोग गरेका थिएनन् । १ हजार १ सय ५४ जना विद्यार्थी सिद्वार्थ माविमा रहेका छन् । प्रधानाध्यापक शर्माका अनुसार विद्यालय खुलेको आधा महिना भइसक्दा पनि १० प्रतिशत विद्यार्थी भर्ना हुन बा“की रहेको छ ।
यसैगरी हेटौंडा–१, चाइनक्वाटरमा रहेको अमर माध्यमिक विद्यालयमा प्रायः विद्यार्थीले मास्कको प्रयोग गरेपनि केही विद्यार्थीले भने प्रयोग गरेका थिएनन् । हेटौंडा उपमहानगरभित्र ७७ वटा सामुदायिक र ४६ वटा निजी विद्यालय रहेका छन् । उपमहानगरपालिकाभित्रका विद्यालयलाई उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा पेश गर्न निर्देशन दिएकोमा करिब ७५ प्रतिशत विद्यालयले मात्र कार्यढाँचा पेश गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालका अनुसार सबै विद्यालयका विद्यार्थीकै लागि भनेर उपमहानगरले ५ लाख रुपैयाँको मास्क तथा सेनिटाइजर वितरण गरिएको बताउनुभयो । उपमहानगरका विद्यालयमा अनुगमनका क्रममा विद्यार्थी स्वयम् नै कोरोना भाइरस संक्रमणविरुद्व जिम्मेवार बन्न नसकेको बताउनुभयो । एउटै बेन्चमा ३ जनाभन्दा बढी विद्यार्थी राखेर पठनपाठन गराइरहेका विद्यालयमा भने स्वास्थ्य सतर्कता अपनाउन सुझाव दिएको रिमालले बताउनुभयो । उहाँका अनुसार अनुगमनका क्रममा प्रायः विद्यालयमा विद्यार्थीले मास्क प्रयोग गरे पनि केही विद्यार्थीले नगरेको उहाँले बताउनुभयो ।
भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्दा विद्यालय र शिक्षकले पालना गर्नुपर्ने आचारसंहिता निर्माण गरी एक हप्ताभित्र कार्यढाँचा पेश गर्न आग्रह गरिएको थियो । शिक्षकहरुले दैनिकरुपमा स्वास्थ्य अवस्थाको ख्याल गरी सिकाई सहजीकरण गरिने कुरा विद्यालयहरुले कार्यढाँचामा उल्लेख गरिएको थियो । विद्यार्थीका हकमा भने विद्यालयमा अनावश्यक भिडभाड हुन नदिने, मास्क अनिवार्य, आँखा, नाक, मुखमा हातले नछुनेजस्ता नियमहरु पालनामा जोड दिएको थियो ।
विद्यालयले कक्षागत जोरबिजोर प्रणालीअनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो तर नियमको पालना आचारसंहितामा मात्र सिमित भएको छ । बिरामीको लक्षण भएकालाई प्रवेशमा रोक लगाइनेजस्ता कार्यढाँचामा उल्लेख गरिएको थियो । एक बेन्चमा २ जना विद्यार्थी, अनिवार्य मास्क, सेनिटाइजर र सामाजिक दुरी कायम गरी विद्यालय खोल्ने प्रस्ताव विद्यालयले कार्यढाँचामा उल्लेख गरिए पनि पालना भने पूर्णरुपमा देखिएको छैन ।