प्रहरी मेरो साथी भन्ने कुरा व्यवहारले प्रमाणित गर्नु पर्दछ । नारा राम्रो तर व्यवहार पुरानै हुने हो भने नाराको औचित्य हुँदैन । जनताको सेवामा समर्पित हुनुपर्ने प्रहरी संगठनलाई जनपक्षीय बनाउने दायित्व कार्यरत कर्मचारीको हो । हुन त कुनै सामान्य घटना विशेषका आधारमा मात्र समग्र प्रहरी चरित्रको मूल्यांकन हुन सक्दैन । दक्षिण एसियाली देशमै नेपाल प्रहरीको अनुसन्धानदेखि कार्यक्षमता उत्कृष्ट मानिँदै आएको छ । धेरै घटनाहरुले त्यस कुराको पुष्टि पनि गरेको छ । तर केही यस्ता घटना पनि छन्, जसले प्रहरीले आर्जन गरेको विश्वासलाई अपत्यारिलो बनाएका छन् । एकाध घटनाका अधारमा मूल्यांकन हुनु हुँदैन । प्रहरी अब्बल होस् भन्ने आम चासो र सरोकार गुनासोका रुपमा प्रकट हुने गरेको छ ।
जनविश्वास आर्जन गरेको प्रहरीप्रति हेटौंडाका जनप्रतिनिधिहरु भने सन्तुष्ट देखिएका छैनन् । गुनासोलाई नकारात्मक लिनु हुँदैन । आफ्नै ठानेपछि आलोचना हुन्छ । अझै बढि काम होस् भन्ने अपेक्षा राख्दा गुनासो स्वभाविक हो । हेटौंडाका जनप्रतिनिधिहरुको गुनासोलाई यही रुपमा लिनु उचित हुन्छ । तर किन प्रश्न उठ्ने गरेको छ भन्ने पक्षबाट प्रहरी संगठनले सोच्नुपर्दछ । कतिपय अवस्थामा संगठनभन्दा त्यहाँ कार्यरत कर्मचारीको व्यक्तिगत आचरण तथा व्यवहारका कारण समस्या हुने गरका छन् । प्रहरीले जनताको सेवा गरिरहँदा स्थानीय जनताको विश्वास जित्न सक्नुपर्दछ । यसका लागि समन्वयमा काम भए अझै सहज हुने सुझावलाई सकारात्मक मान्नु पर्दछ ।
हेटौंडा पछिल्ला वर्षमा लागूपदार्थ कारोबारको केन्द्रजस्तै बनेको छ । विभिन्न वडाहरुमा कारोबार हुने भएकाले प्रहरीको सक्रियता आवश्यक छ । तर स्थानीयरुपमा हुने अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्ने र संलग्नलाई कारावाही गर्दा स्थानीय जनप्रतिनिधिको सहभागिता खोजिएको छ । यो मागलाई कुन रुपमा लिने भन्ने बहस हुनुपर्दछ । सकारात्मक कामको जिम्मेवारी लिनेमात्र प्रयास हो वा प्रहरीको अनुसन्धानलाई थप सहयोग गर्ने ? प्रहरी अनुसन्धान गोप्य हुने भएकाले जनप्रतिनिधिसँग परामर्श वा छलफल गर्दा घटनाले नयाँ मोड लिने खतरा पनि हुनसक्छ । अपराध नियन्त्रण गर्ने क्रममा जनप्रतिनिधिको सहभागिता सान्दर्भिक नहुन सक्छ । प्रतिनिधिले चिनेजानेको भरमा अनुसन्धान वा कारवाही प्रभावित हुनसक्ने आशंका भएकाले सबै काममा सहभागिता खोज्नु उचित हुँदैन कि ?
स्थानीय जनप्रतिनिधिदेखि नागरिकलाई विश्वासमा लिन आवश्यक हुन्छ । तर जनप्रतिनिधिले भनेजस्तै सबै कुरामा सहभागी व्यवहारिक छैन । हेटौंडामा भएको एक कार्यक्रममा स्थानीय जनप्रतिनिधिले प्रहरी एक्लै हिँड्न खोजेको आरोप लगाएका छन् । यस्ता घटना र आरोपले गर्दा वातावरण थप असहज हुन सक्नेतर्फ प्रहरी जिम्मेवार भई जनप्रतिनिधिका गुनासा सम्बोधन गरिनु आवश्यक छ । जनप्रतिनिधिले असहयोग गरेको खण्डमा प्रहरीको मुख्य उद्देश्य पूरा हुन सक्दैन । तर प्रहरीबाट भएका असल काममा सबैको समर्थन हुनै पर्दछ । आफूलाई सोधेको छैन भन्ने निहुँमा अपराध गर्नेहरुलाई संरक्षण गर्नेजस्ता काम जनप्रतिनिधिबाट हुने छैनन् । आरोप र गुनासो गर्नुभन्दा सहकार्य गरेर अघि बढेमात्र उद्देश्य पूरा हुनसक्छ । चाडपर्वमा विशेष सुरक्षा आवश्यक हुने भएकाले नागरिक सहभागितामा मात्र शान्तिसुरक्षा कायम हुनसक्छ । यसतर्फपनि सम्बन्धित पक्षको ध्यान पुग्नुपर्दछ ।