नेपालको शिक्षा सीपमूलक नभएको भन्दै आलोचना भएको धेरै भयो । तर राज्यका निकायहरुले पाठ्यक्रमलाई अझै पनि सैद्धान्तिक पक्षबाट मात्रै सुधार गरेका छन् । आजको युगमा सीपको खाँचो छ । अहिलेको पाठ्यक्रम बेरोजगार युवा उत्पादनको कारखानामात्र हो । त्यसमाथि पनि सबै ठाउँको शिक्षाको गुणस्तरसमेत समान प्रकारको छैन । एउटै पाठ्यक्रम भनिए पनि स्थान विशेषमा विद्यालयहरुले फरक शैलीबाट अध्यापन गराउनेदेखि थप पाठ्यपुस्तकबाट ज्ञान दिने गर्दा विद्यार्थीको सिकाई र क्षमता विकास समेतमा फरक पर्ने गरेको छ । देश संघीय संरचनामा गएपछि अब कम्तिमा पनि प्रदेशभित्रको शैक्षिक गुणस्तर समान हुनुपर्ने आवाज उठ्न थालेको छ । जसलाई सम्बन्धित निकायले सम्बोधन गर्नु आवश्यक छ ।
अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै गर्दा शिक्षा र युवाका सवाल पनि उठेका छन् । शैक्षिक बेरोजगार युवाहरुको संख्या प्रत्येक बर्ष किन बढिरहेको छ भन्ने पक्षबाट पनि बहस हुन आवश्यक छ । सीपयुक्त शिक्षा भएको भए शैक्षिक योग्यता भएर पनि बेरोजगार बन्नुपर्ने अवस्था पक्कै हुने थिएन । बर्षमा ७ लाख बढी योग्यता पुगेका युवाहरु रोजगारीको खोजीमा बजारमा निस्कने गरेका छन्, तर कतिले रोजगारी पाउँछन् त भन्ने तथ्यांक कुनै निकायसँग छैन । अवसरले युवा खोज्नुपर्ने हो । तर यहाँ त हातमा योग्यताको प्रमाण बोकेर युवाहरु अवसर खोज्दैछन् भने आवश्यक जनशक्ति रोजगारदाताहरुले पाउनै सकेका हुँदैनन् । यसको जिम्मेवार राज्य हो वा युवाहरु स्वयम् हुन् ?
शिक्षामा समानता नहुँदा अवसरको उपयोगमा समेत विभेद हुँदै आएको छ । प्रमाणपत्रका आधार समान देखिए पनि क्षमता र सीप हुनेहरुले बेरोजगार बन्नु पर्दैन । यस्तो संख्या अत्यन्त कम छ । ठूलो संख्या बेरोजगार नै छ । उनीहरुलाई क्षमता र सीपयुक्त बनाउने शिक्षा प्रणालीको आवश्यकता छ । बुर्जुवा शिक्षा बहिस्कार गर्ने शक्तिहरुले समेत लामो समयसम्म राज्यको बागडोर हातमा लिइसक्दा वैज्ञानिक शिक्षाको विकास हुन सकेको छैन । रोजगार वा स्वरोजगारमूलक शिक्षा लिनुपर्ने आवश्यकता भएका युवा शक्तिले नै अब शिक्षा क्षेत्रको सुधार र विकासमा योगदान दिन आवश्यक छ । यसका लागि अनुशासित र व्यवहारिक शिक्षा प्रणालीमा जोड दिनुपर्छ ।
शिक्षा भनेको जबरजस्तीको विषय हुँदै होइन । आज घोकन्ते शिक्षामा जोड दिइने गरिएको छ । प्रयोगात्मक शिक्षाका लागि पाठ्यक्रम विकास गर्ने र प्रयोगमा ल्याउनेतर्फ जोड दिनु अहिलेका युवाहरुको जिम्मेवारी हो । आजका युवाले सुधारमा योगदान दिन सकेमात्र भावी पुस्ताले सीपयुक्त र व्यवहारिक शिक्षा पाउनेछन् । अध्यापनको भाषादेखि शैलीमा परिवर्तन गरिनुपर्दछ । जबरजस्ती अरुको भाषामा पढाउनेभन्दा विद्यार्थीको रुचि, क्षमता र ज्ञानका आधारमा भाषा छनौटको सुनिश्चिता हुनुपर्दछ । सामाजिकरुपमा नैतिक शिक्षा हराउँदै गएको छ । विद्यार्थी तथा युवाहरु नैतिक हुनै पर्दछ । नत्र समाज सुधारको कुरा गफमात्र हुनेछ । यसका लागि विद्यालय तहबाट नैतिक शिक्षा र व्यवहारलाई जोड दिनुपर्दछ । तबमात्र शिक्षाले योग्य युवाको उत्पादन गर्नसक्छ ।