कांग्रेसमा प्रवेश गर्नेलाई स्वागत गर्नुहुँदै नेता ईन्द्रबहादुर बानियाँ ।

हेटौंडाः विभिन्न पार्टी परित्याग गरी मकवानपुरगढी गाउँपालिका ३ र ४ स्थित विभिन्न टोलका १ सय ९७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस मकवानपुरगढी ३ र ४ वडाको संयुक्त आयोजनामा मक्रान्चुलीमा शनिबार पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले, माओवादी र राप्रपाका १ सय ९७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस गढी गाउँपालिका ३ र ४ का सभापति क्रमशः विजय लामा र कृष्णबहादुर खड्काको संयुक्त सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यमा भएको कार्यक्रममा नवप्रवेशीहरुलाई पार्टीको सदस्यता दिई खादा लगाएर स्वागत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले दुईतिहाईको नजिक रहेको कम्युनिष्ट सरकार केपी ओलीको दम्भी र सत्ता लिप्साका कारण ५ बर्ष प्रतिपक्षमा बस्न जनताले दिएको म्याण्डेड विपरित बाध्यात्मक परिस्थितिले गर्दा कांग्रेसले सत्ता चलाउन पुगेको बताउँदै जनताको भोटलाई अवमूल्यन गर्दै कम्युनिष्टका केही नेताहरु संविधान मिचाई, भ्रष्टाचार र कुर्सीमोहमा लागेकाले सत्ताबाट बहिर्गमन हुनुपरेको बताउनुभयो । नेता बानियाँले गणतन्त्र र संविधानको रक्षार्थ सरकारमा पुगेको कांग्रेसको मूख्य उद्देश्य भनेको अहिले कोरोना महामारीबाट हरेक जनतालाई बचाउन खोपको व्यवस्था गर्न लागिपरेको भन्दै मंसिरसम्ममा नेपालका सम्पूर्ण जनताले खोप लगाईसक्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस मकवानपुर जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्य एवम् संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्यहरु राजिव सुवेदी, अर्जुन दाहाल, सूर्यबहादुर रुम्बा, दोर्जे लामा स्याङ्तान, संघीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, गढी गाउँपालिका सभापति राजवीर मुक्तान, उपाध्यक्षकी उम्मेदवार मन्दिरा केसी, नेता देवराज लामिछाने, नवप्रवेशीहरु रामप्रसाद घिमिरे, सर्कलाल लोलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।