श्रावण शुक्लपक्षको पूर्णिमा तिथीमा मनाइने जनैपूर्णिमा पर्व नेपालीहरुका लागि विशेष पर्वको रुपमा रहेको छ । धार्मिक र वैज्ञानिक दुबै दृष्टिकोणबाट उत्तिकै महत्व बोकेको यस पर्वलाई ब्राह्मण समुदायले मात्र नभएर नेपाली समाजका अनेक जाति धर्मका समुदायले पनि विशेष रुपमा मनाउने गरेको पाइन्छ ।
धार्मिक दृष्टिकोणबाट हेर्दा शरीर शुद्ध र पवित्र हुने, जनै धारण गर्ने व्यक्ति आसुरी शक्तिको प्रभावबाट बच्न सक्ने, विभिन्न धार्मिक कार्य गर्दा जनै धारण गरे मात्र गरिएका कार्य सफल हुने भन्ने मान्यता रहेको छ । वैज्ञानिक दृष्टिकोण अनुसार जनै धारण गर्ने व्यक्तिमा हृदय रोगको सम्भावना कम हुने, दायाँ कानको नशा, अण्डकोष र गुप्तइन्द्रियसँग जोडिएको हुँदा दिसा, पिसाब गर्ने समयमा दायाँ कानमा जनै राख्नाले शुक्रकिटको रक्षा हुने लगायतका मान्यता रहिआएको छ ।
जनैपूर्णिमा पर्वमा मूलतः जनै फेर्ने काम गरिने भएको हुनाले यसलाई जनैपूर्णिमा भनिएको भए तापनि यस पर्वका अवसरमा अन्य साँस्कृतिक एवम् धार्मिक क्रियाकलापहरु पनि हुने गर्दछन् । यस्ता क्रियाकलापहरु धर्म, जाति, क्षेत्र सम्प्रदाय लगायतका आधारमा फरक–फरक छन् । पहाडमा बसोबास गर्ने सम्प्रदायमा जनै फेर्ने, क्वाँटी खाने, डोरो बाँध्ने, पूजापाठ गर्ने लगायतको प्रचलन भेटिन्छ । नेवार समुदायमा क्वाँटी खाने, भ्यागुता पूजा गर्ने, यहि पर्वको आसपासमा गाईजात्रा मनाउने जस्ता प्रचलनहरु विद्यमान छन् । तराईको समुदायमा अन्य धार्मिक क्रियाकलापहरु गरिनुका साथै दिदी बहिनीले दाजु भाइलाई राखी बाँध्ने परम्परा लोकप्रिय छ । हिन्दु सम्प्रदायमा ऋषि तर्पणीका रुपमा समेत बुझिने यस पर्वका अवसरमा आफ्ना गुरुहरुप्रति सम्मान प्रकट गर्दै विभिन्न पवित्र खोलानाला र तलाउहरुमा स्नान गरी पूजापाठ गर्ने प्रचलन पाइन्छ । यस्तो प्रचलन वुद्ध धर्मावलम्बीहरुले समेत अपनाएको देखिन्छ, त्यसकारण यस पर्वलाई नेपालभित्रका अनेक जातजाति, धर्म सम्प्रदायबीचको मिश्रित पर्व हो भन्न सकिन्छ । यस पर्वका अवसरमा गरिने विभिन्न क्रियाकलापहरुलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छः
नयाँ जनै फेर्नेः अघिल्लो वर्ष यसै दिन अर्थात् जनै पूर्णिमाका दिनमा धारण गरेको जनै जनै पूर्णिमाकै दिन फेरेर नयाँ लगाइने हुँदा यसलाई नयाँ जनै फेर्ने दिनका रुपमा पनि लिने गरिन्छ । ब्रतबन्ध गरिएका पुरुष व्यक्तिहरुले पूरानो जनै फालेर नयाँ जनै धारण गर्दछन् ।
क्वाँटी खानेः यस दिनलाई क्वाँटी खाने दिनका रुपमा पनि लिइन्छ । विशेषगरी क्वाँटी मास, मस्याङ, मुगी, राजमा, केराउ, चना, बोडी, सिमी, भटमास, बकुल्ला लगायतका कम्तीमा नौं थरीका गेडागुडीबाट तयार गरिन्छ । भिजाएर टुसा उमारेको यस प्रकारको खाद्यान्नबाट शरीरलाई शक्ति दिने र वर्षायाममा लागेको चिसोबाट मुक्ति गराउने हुँदा यसलाई स्वास्थ्यको दृष्टिकोणले निकै लाभदायक मानिएको छ । नेवारी समुदायबाट विकसित भएको भए पनि आजभोलि यस संस्कारले सम्पूर्ण नेपाली समुदायलाई समेटेको छ ।
भ्यागुताको पूजाः नेवारी समुदायमा परम्परादेखि मनाउँदै आएको यस किसिमको पूजामा भ्यागुतालाई पानीको प्रतीकको रुपमा लिने हुँदा कुवा, पोखरी, ताल, तलाउमा क्वाँटी चढाउँदै पूजा गर्ने गरिन्छ । त्यसैले जनै पूर्णिमाको दिन वर्षातलाई डाक्ने भ्यागुताको पूजा गर्ने साँस्कृतिक परम्परा नेवारी समुदायमा पाइन्छ ।
रक्षाबन्धनः जनैपूर्णिमालाई रक्षाबन्धन पनि भनिन्छ । गुरुपुरोहितद्वारा मन्त्रोच्चारण गर्दै नाडीमा डोरो बाँधिदिनु भएपछि दिदी बहिनीले दाजु भाइलाई हातमा राखी बाँधिदिने चलन पनि रहिआएको छ । यो प्रचलन विशेषगरी तराई क्षेत्रमा प्रचलित छ । कलात्मक किसिमका राखीहरु लगाइदिएर आपसमा उपहार आदानप्रदान गर्ने परम्परा रहेको छ । पहाडी क्षेत्रमा पनि राखी बाँधिदिने प्रचलनले आजभोलि क्रमशः लोकप्रियता पाउँदै छ ।
धार्मिक मेला जात्राः यस दिन विशेषगरी जनै धारण गर्ने पुरुष व्यक्तिहरु नदी, खोला, पवित्र कुण्ड, पोखरीमा गएर स्नान गर्ने र पितृहरुलाई तर्पण दिने प्रचलनका कारणले उक्त स्थानहरुमा जात्रा मेला पनि लाग्ने गरेको पाइन्छ । यस दिन पितृहरुलाई तर्पण दिँदा आत्माले शान्ति पाउने र नरलोकबाट मुक्त भई स्वर्गमा बास पाउने धार्मिक विश्वास समेत रहेको छ । यस पर्वमा सप्तऋषिलाई समेत तर्पण दिएर भक्तिभाव प्रकट गरिने भएकाले यस पर्वलाई ऋषि तर्पणी पर्व पनि भनिएको छ । यस दिनको अवसरमा गोसाइकुण्ड, पाँचपोखरी, शैलुङ, जनकपुरका विभिन्न सागरहरु, विभिन्न क्षेत्रका कुण्ड पोखरी, त्रिवेणी लगायत महादेव मन्दिरहरुमा मेला लाग्ने गर्दछ ।
तान्त्रिक साधनाः जनै पूर्णिमाका दिन विभिन्न सम्प्रदायका तान्त्रिक क्रियाकलापहरुका लागि पनि शुभ मानिन्छ । हिन्दुका केहि सम्प्रदायका साथै किराँत र बौद्घ धर्मावलम्बीहरुले समेत तान्त्रिक विधिका साथ पूजा अर्चना गर्दछन् । यसैकारण जनै पूर्णिमाको अवसरमा गोसाइकुण्ड, पाँचपोखरी, शैलुङ, लगायतका हिमाली क्षेत्रमा तान्त्रिक विद्याको साधना र सिद्घिका लागि भक्तजनहरुको घुइँचो हुने गर्दछ ।
यसरी नेपालमा बसोबास गर्ने अधिकांश समुदायको साझा पर्वका रुपमा जनैपूर्णिमामा स्थापित हुँदै गएको छ । धार्मिक विश्वास, साँस्कृतिक परम्परा, मौसम अनुसारको खाने परिकार, आपसी प्रेम, सद्भाव भातृत्व, पितृ र गुरु परम्पराप्रति सम्मान, लोकविश्वास लगायतले यस पर्वको महत्वलाई अझ बढाएको छ ।