यो साता नेपालका दुई शिखर पुरुषका बारे चर्चा हुने नै छ । नेपालमा राजनीतिक विचारको विजारोपण गर्ने व्यक्ति विश्वेश्वर प्रसाद कोईराला (वीपी कोईराला) र पुष्पलाल श्रेष्ठका विषयमा जानी–नजानी कनीकुथी केही भन्ने प्रयास गरिने छन् । यही कर्मलाई नै नेताहरुको सच्चा अनुयायी भएको दावी पनि हुने छन् । तर उनीहरु को हुन् र योगदान के थियो भन्ने कहीँ कतै वास्तविकताको नजिक पुग्ने प्रयास समेत हुँदैन । त्यसका लागि अहिलेको पुस्तालाई फुर्सद पनि छैन । ओँठे भक्तिका लागि स्मृति दिवसमा स्मरण गरिन्छ । आजको लोभी–पापी परिस्थितिमा यी युग पुरुषहरुका विषयमा यति गर्नुलाई पनि ठूलो मान्नु पर्ने छ ।
कांग्रेसका प्रत्येक कार्यक्रममा आदर्श व्यक्तिका रुपमा वीपी र कम्यूनिष्टका कार्यक्रममा पुष्पलालको फोटो सजाउने गरिन्छ । कम्यूनिष्टहरुले त अझ लामा दाह्री भएका अन्तर्राष्ट्रिय नेताहरुको समेत फोटो राखेर कार्यक्रम गर्दछन् । कांग्रेस चाहीँ विपी तथा सूर्वण शम्सेर, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरीजाप्रसाद कोईराला, सुशील कोईराला लगायतका नेताहरुको तस्विर सजाउँदछन् । कार्यक्रममा फोटा राख्नु भनेको उनीहरुलाई साक्षी राखेर उनीहरुको आदर्शअनुसार काम गर्ने प्रतिवद्धता हो । तर, आजको राजनीतिक नेतृत्वले त्यो मान्यतालाई जीवित राख्न सकेको छ ? आदर्श फोटामा हैन व्यवहारमा उर्तानु पर्दछ ।
२०३५ साल साउन ५ गते नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने पुष्पलाल श्रेष्ठको निधन भएको थियो । नेपाली समाज रुपान्तरणका लागि माक्र्सवादी सिद्धान्त नै फलदायी हुन्छ भन्ने मान्यताले कम्युनिष्ट पार्टीको दर्ता गरेका पुष्पलालपछि आफ्नैहरुले धोका दिएका मात्र हैनकी अपमान समेत गरेका थिए । तर समय कालले उनलाई नेपाली कम्युनिष्ट पार्टीको सच्चा आदर्शका रुपमा चित्रित गरेको छ । आज देशका कम्युनिष्ट दावी गर्नेहरुले उनैलाई आदर्श मान्ने गरेका छन् । तर व्यवहारमा उनको आदर्श विपरित क्रियाकलाप हुँदै आएको छ ।
नेपालमा राजनीति चेतनाको उदय गराउने युग पुरुष वीपीको पनि साउन ६ गते २०३९ सालमा निधन भयो । राणा शासन विरुद्धको सशस्त्र आन्दोलनको अगुवाई गरेका कोईरालाले देखेको सपना आज उनकै अनुयायी दावी गर्नेहरुले मूलबाटोमा अलपत्र पारेका छन् । तर पनि साउन ६ गते एक दिन उनलाई स्मरण गर्ने कांग्रेसको परम्परा बनेको छ । विपीको आदर्श, सिद्धान्त र ईतिहासलाई भजाएर राजनीति गर्ने वर्तमान नेतृत्वले मुलुक रुपान्तरण गर्न सक्छ भन्ने अनेक प्रश्न उठेका छन् ।
वीपी कोईराला र पुष्पलाल सुरुमा एउटै राजनीतिक दर्शनबाट प्रेरित भएका हुन् । उनीहरुमा नागरिक अधिकारका लागि आफूहरुले गर्नुपर्ने कर्तव्यमा एकै विचारका साथ अघि आएका थिए । तर परिस्थितिले लामो समय उनीहरु एकै ठाउँमा बसेनन् । उनीहरु भित्रको राजनीतिक चेत र चिन्तन तथा समाज रुपान्तरणका लागि लिईने बाटो र सिद्धान्तमा फरक परेपछि पुष्पलाल कम्युनिष्ट पार्टी खोलेको पाईन्छ । वीपीले आफ्नो आत्मवृत्तान्तमा पनि नेपालमा कांग्रेस र कम्युनिष्ट विचार धारासँगै उदय भएको उल्लेख गरेका छन् ।
समकालिन राजनीतिज्ञहरुको अवसान पनि केही बर्षको फरकमा भएको छ । संयुक्त जनआन्दोलनको आवश्यकता देख्ने पुष्पलाल र जनधिकारका लागि भिन्न कोणबाट जागरण ल्याउनु पर्ने मान्यता राख्नु हुने कोईराला अहिलेको राजनीतिमा बोलीमा आदर्शकै रुपमा छन् तर व्यवहारमा एकछेउमा पनि भेटिँदैनन् । देखावटी र ओँठेभक्तीका रुपमा यी पत्रहरुलाई वर्तमान राजनीतिमा उपयोग गरिँदै आएको छ । राजनीतिका दुवै धारले यतिबेला यी पात्रलाई बिर्सँदै गएको वास्तविकता हो । उनीहरुको स्मृति दिवस मनाउँदै गर्दा प्रतिपादित राजनीतिक मूल्य, मान्यता र व्यवहार तथा चरित्र कहाँ छन् भन्ने प्रश्न कार्यकर्ताले गर्नु आवश्यक छ । नेताहरुले आफू कुन आदर्शबाट राजनीतिमा प्रवेश गरेको र आज कुन ठाउँमा छु भन्ने चिन्तन र आत्म समीक्षा गर्न जरुरी छ ।
नेपालका जतिपनि कम्युनिष्ट पार्टीहरु छन् उनीहरु पुष्पलालको नाम नचाहेर पनि लिन बाध्य छन् । उनकै नामबाट आफूलाई स्थापित गर्ने प्रयास गरिरहेका छन् । तर उनीहरुले पुष्पलालको आदर्श पालना गर्न संकोच मान्दछन् । उनले उल्था गरेको कम्युनिष्ट घोषणापत्रलाई आजका कम्युनिष्ट भन्नेहरुले पढेका छन् भन्ने कुरामै शंका छ । आफूलाई कम्युनिष्ट भन्न रुचाउनेहरुले कम्युनिष्ट आचरण र सिद्धान्त बुझ्ने र आफू कहाँ छु भन्ने वास्तविकता थाहा पाए मात्र पनि पुष्पलालप्रतिको श्रद्धाञ्जली हुन सक्छ । व्यक्तिवादी चरित्र, नाता कुटुम्बको भलो गर्ने र वर्गीय सिद्धान्त छोड्ने प्रवृत्ति कम्युनिष्टहरुको आचरण बनेको छ । यो चरित्र कम्युनिष्ट मूल्य, मान्यता विपरित हो । कम्यूनिष्टहरुमै सामन्ती चिन्तन र व्यवहार झाँगिदै गएको छ ।
पुष्पलालले आजकै जस्तो कम्युनिष्ट पार्टी र आचरणको कल्पना गरेका थिए होलान् ? सत्ताकै लागि जालझेल, सहकर्मीहरुमाथि षडयन्त्र, लाञ्छना, अपमान, तिरस्कारको राजनीतिक व्यवहार उनको मान्यता थियो ? आजसम्म यी व्यक्ति रहेका थिए भने वर्तमान नेतृत्वको व्यवहारलाई के भन्ने थिए होलान् ? सत्ताका लागि जे पनि जायज भन्ने मानसिकता बोकेकाहरुले पुष्पलालले देखेको कम्युनिष्ट सिद्धान्त र आजको नेताहरुको व्यवहार कहाँ मेल खान्छ ? समीक्षा गर्लान् त ?
वीपी कोईराला नेपालका लागि मात्र नभई समाजवादी आन्दोलनका अन्तर्राष्ट्रिय व्यक्तित्व हुन् । समाजवादलाई कम्युनिष्टको जस्तो आदर्श मात्र नभई व्यवहारिक रुपमा व्याख्या गर्ने व्यक्ति कोईरालाले जन्माएको पार्टी नेपाली कांग्रेसले के गर्दै छ ? आम नेपालीले देखेकै छन् । वीपीले प्रतिपादन गरेको समाजवादी आन्दोलन र आजको कांग्रेसको आर्थिक नीति कहाँ मेल खान्छ ? समाज रुपान्तरणका लागि कोईरालाले २०१५ सालमा प्रधानमन्त्री हुँदा अघि सारेको अभियान कहाँ पुग्यो ? धनवाद, डनवाद, नातावाद नै कोईरालाको समाजवाद हो त ?
सामन्तबाट उल्मुलनका लागि कोईरालाले ल्याउनु भएको भूमिसुधार, सामाजिक सुधार, मिडिया आन्दोलन, नागरिकका लागि सरकारको दायित्व र जिम्मेवारीमा बनाइएको योजनाहरु आजको कांग्रेस नेतृत्वले कति अध्ययन गरेको छ ? कांग्रेस हुँदैमा वीपीवादी हुन सकिँदैन । यसका लागि त उनको सिद्धान्त र आदर्शलाई व्यवहारमा रुपान्तरण गर्न आवश्यक छ । कोईरालाको निधनमा कार्यक्रम गर्ने र फोटोमा पुष्पगुच्छा अर्पण गर्दैमा आदर्श बाँच्न सक्दैन । यसका लागि कार्यकर्तादेखि नेतृत्व समेतका व्यवहार र आचरणमा आमूल परिमार्जन आवश्यक छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुँदैछ । त्यसका लागि स्थानीय तहबाट नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । तर कांग्रेसले लिनुपर्ने सिद्धान्तका विषयमा कहीँ कतै चर्चा भएको छैन । वडा, नगर, क्षेत्र वा जिल्ला अधिवेशनका लागि न केन्द्रबाट कुनै कार्य पत्र आएको छ न केन्द्रीय अधिवेशनमै दस्तावेज प्रस्तुत हुनेछ । अधिवेशनमा नीति र सिद्धान्त माथि बहस हुनुपर्नेमा कुन नेतालाई कसरी नेतृत्वमा स्थापित गर्ने भन्ने चिन्तन मात्र छ । अधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित गरिँदै आएको अवस्था छ । यसले कांग्रेसको नयाँ पुस्ताले सिद्धान्त कहाँबाट बुझ्ने ? कुन दस्तावेज र पक्षलाई नेतृत्वमा पुर्याउने भन्ने बहस कहाँ गर्ने ?
वीपीको समाजवादी व्याख्या आजको समाजमा कसरी कार्यान्वयन हुन सक्छ भन्ने कहीँ कतै छलफल छैन । जुन समयमा उनले समाजवादको सामाजिक प्रयोगका लागि दिनु भएका उदाहरण आज पनि नेताहरुले त्यही मात्र भन्दै आएका छन् । व्याख्या भनेको भावार्थ हो । गणितीय अर्थमा जड बनाई राख्नु भनेको वीपीको सिद्धान्तको अपव्याख्या हुन्छ । त्यसैले गोठमा गाईको ठाउँमा आज घरमा सानो–तिनो सवारी साधनको पो अर्थ लाग्छ कि ? उनले प्रतिपादन गरेको सिद्धान्तलाई बृहत्तर रुपमा व्याख्या आजको आवश्यकता हो । त्यो गर्ने आँट र क्षमता आजको नेतृत्वका लागि चुनौती पनि छ ।
नेतृत्वका लागि मात्र अधिवेशन गर्ने हो भने त कुनै समुहको भेला जस्तो मात्र हुने छ । पार्टीले लिने कार्यदिशा, सत्तामा भए गरिने काम, विपक्षमा बस्दा खेल्ने भूमिका, नागरिकलाई संगठित गर्नका लागि बनाईने योजना, देशको आर्थिक रणनीति, अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता कुरामा कुन नेताहरुले कार्यपत्र प्रस्तुत गर्दछन् र छलफल कहाँ हुने ? यी त आदर्श मात्रै हुन् । कुनै कांग्रेसजनमा यस प्रकारको चिन्तन गर्ने फुर्सद नै छन् । तर राजनीतिबाट समाज रुपान्तरण गर्ने हो भने वीपीको सिद्धान्तको व्यवहारिक रुपमा प्रयोग गराउने आँट गर्ने हो भने मात्र उहाँलाई स्मरणको अर्थ रहने छ । नेपाली राजनीतिका दुवै हस्तिहरुप्रति हार्दिक श्रद्धान्जली ।