हेटौँडा ः विभिन्न मुद्दामा फरार प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ७ जना प्रतिवादीलाई आइतबार पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई मकवानपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले लागूऔषध गाँजा र चरेशको मुद्दामा फरार रहेका २ जना, गाँजाको १ जना, बैंकिङ कसुरका १ जना, आपराधिक विश्वासघातका १ जना, ज्यान मुद्दा कसुरका १ जना र चेक अनादरका १ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश जनाएको छ । लागूऔषध गाँजा र चरेशको मुद्दामा परेर फरार रहेका मनहरी गाउँपालिका–८ का ४४ वर्षीय हरि बहादुर नेपाली र मनहरी–८ कै ४५ वर्षीया मिरा गिरीलाई पक्राउ गरिएको हो । नेपालीलाई ४ महिना १७ दिन र गिरीलाई ५ महिनाको कैद सजाय हुने गरी मकवानपुर जिल्ला अदालतले फैसला गरेको छ ।
यस्तै, लागूऔषध गाँजाकै मुद्दामा फरार रहेका राक्सिराङ गाउँपालिका–५ का राम कुमार प्रजालाई ६ महिना कैद १ लाख रुपैयाँको जरिवाना, बैंक कसुरमा मुद्दाको वरदाता पश्चात हेटौंडा–५ की ललिता उप्रेतीलाई १० वर्ष कैद, आपराधिक विश्वाघात तथा आपराधिक लाभको मुद्दामा फरार रहेका कुमार स्याङ्तानलाई ५ दिन कैद तथा १ हजार रुपैयाँ जरिवाना, ज्यान मुद्दाको कसुरमा फरार रहेका हेटौंडा–८ का राम कुमार उपाध्यायलाई ७ दिन कैद २ हजार रुपैयाँको जरिवाना र चेक अनादरको मुद्दामा फरार रहेका हेटौँडा–५ का नवराज (छवीलाल) पुडासैनीलाई १ हजार रुपैयाँको जरिवाना हुनेगरी मकवानपुर जिल्ला अदालतले फैसला गरेको थियो ।