हेटौँडा ः आगामी चैत २५ देखि ३० गतेसम्म संचालन हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेश सरकारलाई बजेट अभाव देखिएको छ । कर्णाली प्रदेशमा हुने प्रतियोगितामा सहभागिताका लागि बागमती प्रदेश सरकार बजेट अभाव व्यहोर्न बाध्य भएको हो ।
३६ विधाका खेलकुद प्रतियोगिताको तयारी तथा सहभागिताका लागि बागमती प्रदेशमा बजेट अभाव भएको हो । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले ७४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको र उक्त बजेट मध्ये दशौं राष्ट्रिय खेलकुदका लागि ३ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
खेलकुदको हवको रुपमा रहेको बागमती प्रदेश सरकारले बजेट निर्माणको चरणमा पर्याप्त बजेट विनियोजना गर्न नसक्दा युवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद परिषद् बजेट अभाव भोग्न बाध्य भएको हो । ३६ खेलका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष अन्तर प्रदेश खेलकुद संचालनका लागि मात्र प्रदेश सरकारले मन्त्रालयलाई ९ करोड रुपैयाँ बजेट व्यवस्था गरेको थियो । तर, चालु आर्थिक वर्षमा कर्णाली प्रदेशमा हुने खेलकुद प्रतियोगितको सहभागिताका लागि ३ करोड ७४ लाख रुपैयाँ बजेट दिएको गुनासो गर्नुभयो ।
उक्त बजेट खेलाडी छनौटलाई समेत नपुग्ने उहाँले बताउनुभयो । सो बजेटबाट ३६ खेलका खेलाडी छनौट, खेलाडीको आवास खर्च, खेलाडीको पारिश्रमिक तथा सेवा सुविधामा खर्च हुने मन्त्री महर्जनको भनाई छ । बजेट अभावका कारण जिल्लाहरुमा संचालन हुुनु पर्ने खेलाडी छनौट कार्य समेत प्रभावित भएको मन्त्री महर्जनले बताउनुभयो । उहाँका अनुसार दशौं राष्ट्रिय खेलकुदमा आर्चरी, एथ्लेटिक्स, व्याडमिन्टन, बास्केटबल, शारीरिक सुगठन, बक्सिङ, बुद्धिचाल, क्रिकेट, साइक्लिङ, फेन्सिङ, फुटबल, फुलकन्ट्याक्ट कराँते, गल्फ, जिम्न्यास्टिक, ह्याण्डबल, हक्की, आइटीएफ तेक्वान्दो, जुडो, कबड्डी, कराँते, खोखो, प्याराग्लाइडिङ, रग्बी, सेपाक ताक्रो, भलिबल, कुस्ती, उसु, सफ्टटेनिस लगायतका खेलहरुमा सहभागिता जनाउनु पर्नेछ । उक्त खेलहरुका १ हजार ३ सय खेलाडीहरु प्रदेशका १३ जिल्लाबाट छनौट गरी बन्द प्रशिक्षणमा राखेर सहभागी गराउनु पर्ने उहाँले जानकारी दिनुभयो । मन्त्री महर्जनका अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १५ करोड रुपैयाँ बजेट लाग्नेछ ।
‘नवौं राष्ट्रिय खेलकुदका २६ प्रतियोगिताका लागि प्रदेश सरकारले ९ करोड रुपैयाँ बजेट व्यवस्था गरेको थियो । अहिले १० वटा खेलहरु बढेका छन् । बागमतीमा खेलकुदको हवको रुपमा रहेको काठमाडौं उपत्यका, मकवानपुर, चितवन लगायतका जिल्ला रहेका छन् । सो जिल्लासहित प्रदेशका १३ वटा जिल्लाबाट ३६ वटा खेलका खेलाडी छनौट गर्नु पर्छ’, मन्त्री महर्जनले भन्नुभयो, ‘जिल्लाबाट आएकाहरुबाट प्रदेशको टिम छनौट गर्नुपर्छ । त्यसका लागि बजेट ३ करोड ७४ लाख रुपैयाँ छ । एउटा खेलको छनौट कार्यका लागि मात्र ८० लाख रुपैयाँ लाग्छ । ३/४ करोड रुपैयाँ बजेटले के गर्नु ?’
मन्त्री महर्जनका अनुसार दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ३६ खेलका १ हजार ३०० खेलाडी छनौट गरी बन्द प्रशिक्षणमा राख्नु पर्ने हुन्छ । उनीहरुलाई आवासीय सुविधासहित बन्द प्रशिक्षणमा राखेर प्रतियोगितामा सहभागी गरउने गरी मन्त्रालयको तयारी रहेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि १ अर्ब ३० करोड रुपैयाँ बजेट व्यवस्था गरिएको भएपनि चालु आर्थिक वर्षमा बजेट कटौती गर्दा मन्त्रालयको बजेट ७५ करोड रुपैयाँ मात्र रहेको उहाँले बताउनुभयो ।
बजेट अभावका कारण बागमती प्रदेशमा खेलकुदका गतिविधी शुन्य हुने मन्त्री महर्जनको भनाई छ । खेलकुदको हवको रुपमा रहेको बागमती प्रदेश बजेट अभावका कारण नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरु गैरजिम्मेवार अभिव्यक्ति दिने गरेको उहाँले बताउनुभयो ।
थप ९ करोड बजेट माग गर्दै खेलकुद मन्त्रालय
प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि थप ९ करोड रुपैयाँ बजेट माग गरेको छ । विभिन्न शिर्षकमा लाग्ने खर्च अनुमानसहित मन्त्रालय थप बजेट माग गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रस्ताव पठाएको छ ।
गत असोजमा नै खेलकुद मन्त्रालयले पठाएको प्रस्ताव अघि बढ्न नसकेको मन्त्री मर्हजनले जानकारी दिनुभयो । पटक–पटक ताकेता गर्दा समेत उक्त प्रस्ताव आर्थिक मामिला तथा योजना मन्त्रालयबाट अघि बढ्न नसकेको उहाँको भनाई छ । बजेट माग गर्दै पटक–पटक मन्त्रालयको ध्यानाकर्षण गराउँदा समेत आर्थिक मामिला मन्त्रालयले बजेट अभाव रहेकाले बजेट दिन नसक्ने बताएको मन्त्री महर्जनले बताउनुभयो ।
उक्त विषयका बारेमा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, युवा तथा खेलकुद मन्त्री महर्जन, प्रमुख सचिव हरिप्रसाद लम्साल, प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक लामा, अर्थ मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीसँग छलफल गरेको थियो । उक्त छलफलमा सहभागी एक कर्मचारीका अनुसार खेलकुद मन्त्रालयको प्रस्तावलाई स्वीकार गर्न नसक्ने आर्थिक मामिला मन्त्रालयको निश्कर्ष रहेको थियो ।
सो छलफलमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मैनालीले बजेट नभएकाले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि थप बजेट दिन कठिन रहेको बताउनुभएको थियो । विपद् व्यवस्थापनमा प्रदेशको बजेट बढी खर्च भएकाले थप बजेट दिन नसक्ने उहाँको भनाई थियो । उक्त विषयमा मुख्यमन्त्री लामा र अर्थ मन्त्री काफ्लेले आवश्यक छलफल र समन्वयबाट निर्णय गर्ने बताउनुभएको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मैनालीका अनुसार प्रदेशको आन्तरिक स्रोत नभएकाले खर्च कम गर्नुपर्ने अवस्था रहेको छ । प्रदेशको थैली कमजोर भइरहेको बखत विपद् व्यवस्थापनको कामलाई प्राथमिकतामा राख्दा अन्य क्षेत्रमा संकुचन हुनु स्वभाविक रहेको बताउनुभयो । ‘प्रदेशको अर्थ विविधमा पनि खासै पैसा छैन । विपद् व्यवस्थापनमा पनि केही रकम व्यवस्थापन गर्नु पर्यो । आगामी समयमा हुने विपद् व्यवस्थापनका लागि पनि केही बजेट राख्नु पर्ने अवस्था छ’, सचिव मैनालीले भन्नुभयो, ‘प्रदेशको आफ्नै आयआर्जन छैन । दायित्व व्यहोर्न संघबाट आएको अनुदानमा नै भरपर्नु उपयुक्त हुँदैन । थैली हेरर काम गर्नुपर्ने अवस्था रहेको छ ।’
प्रदेश सरकारको राजश्व संकलनको अवस्था पनि कमजोर रहेको सचिव मैनालीले बताउनुभएको छ । खेलकुद क्षेत्रको विकास र खेलाडीका लागि प्रदेश खेलकुद परिषद्बाट प्राप्त प्रस्ताव उचित भएपनि व्यवस्थापन गर्न कठिन भइरहेको सचिव मैनालीले बताउनुभयो । उक्त विषयमा आवश्यक छलफल पश्चात निर्णय हुने सचिव मैनालीको भनाई छ ।