नयाँ शैक्षिक सत्रका लागि विद्यालयहरुले भर्ना अभियानसँगै वैकल्पिक विधिबाट पठनपाठन सुरु गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको र निषेधाज्ञा अन्त्य नभएका कारण भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसकिने भएपछि वैकल्पिक विधिबाट अध्यापन सुरु गरेका छन् । विद्यालय तहको शैक्षिक सत्र प्रत्येक वर्ष बैशाखबाट सुरु भएर चैतमा अन्त्य हुने गर्दछ । तर, कोभिड–१९ का कारण २०७७ सालको शैक्षिक सत्रलाई सरकारले जेठ मसान्तसम्म लम्ब्याएको थियो । संघीय शिक्षा मन्त्रालयले असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै मकवानपुर जिल्लाका विद्यालयहरुले विद्यार्थीको नतिजा सार्वजनिक गरेर नयाँ भर्ना, पाठ्यपुस्तक वितरणसँगै वैकल्पिक विधिबाट पठनपाठन सुरु गरेका छन् । यो विधि बाध्यता भए पनि प्रभावकारितामा प्रश्न उठेको छ ।
अघिल्लो वर्षदेखि नै वैकल्पिक विधिबाट पठनपाठन हुन थालेको हो । पढाईसम्म त ठिकै होला, तर परीक्षा लिने र नतिजासमेत वैकल्पिक विधिबाटै हुन थालेको छ । शिक्षकहरुले विद्यार्थीको बानी, व्यवहार, सक्रियता, जिज्ञासुजस्ता कुराको मूल्यांकन नै अघिल्लो कक्षा प्रवेशको आधार बन्न थालेको छ । शिक्षक र विद्यार्थीबीचको सम्बन्ध, बोलिचाली र निकटताले प्रभाव पार्ने सम्भावना यो विधिमा देखिन्छ । शिक्षकहरुकै मूल्यांकनबाट यसपटकको पनि एसईईको नतिजा तयारी भइरहेको छ । विद्यार्थीको ल्याकत परीक्षणका लागि केही आधार हुने भए पनि सम्पूर्ण मूल्यांकन शिक्षकबाट मात्रै हुन सक्नेमा अभिभावकहरु आशंका व्यक्त गर्दैछन् । उनीहरुको आशंका निवारण गर्ने गरी मूल्यांकनको आधारलाई विगतभन्दा केही कसिलो बनाएको देखिन्छ, तर पनि विश्वस्त हुन सक्ने अवस्था अझै देखिएको छैन ।
यतिबेला विद्यालयहरुले नतिजाको तयारी सुरु गरेका छन् । करिव एक वर्षदेखि शिक्षक विद्यार्थीबीच निकटको सम्बन्ध छैन । प्रविधिको माध्यबाट गरिएको पठनपाठनलाई नै आधार मन्नुपर्ने अवस्था छ । एक वर्षसम्म विद्यार्थीको अध्ययनको बानी, कक्षामा गर्ने व्यवहार तथा शिक्षकसँगको सम्बन्धमा निकै फेरबदल आएको हुनसक्छ । एक वर्ष पहिला देखेको र भेटेको तथा उसले गर्ने व्यवहारसमेत मूल्यांकनको आधार बन्दैछ । विद्यार्थी र शिक्षकको चिसो सम्बन्ध हुन सक्छ । कुनै विद्यार्थी जिज्ञासा नराख्ने तथा अन्तरमुखी स्वभावको भएमा उसको मूल्यांकन निष्पक्ष हुनसक्छ त ? भन्ने प्रश्न यतिबेला उठेको छ । तर कोभिडका कारण सम्झौता गर्नु सबैको बाध्यता बनेको छ ।
कक्षा सञ्चालनदेखि नतिजा प्रकाशनको मूल्यांकनसमेत वैकल्पिक माध्यमबाट गर्नुपर्ने बाध्यता हो । तर यो विधिको प्रयोग नेपालका सबै दुर्गम स्थानमा सहज छैन । त्यतिमात्र हैन, सानो कक्षाका बालबालिकाहरुले अनलाइन पढाईबाट कति सिक्न सक्छन् । शिक्षकले हात समाएर लेख्न सिकाउनुपर्ने उमेरका नानीहरुलाई समेत यतिबेला अनलाइन कक्षा सञ्चालन गरिएको छ । ठूलो कक्षा अनलाइनबाट सञ्चालन गर्नु स्वभाविक छ । तर नर्सरी, केजीदेखिकै कक्षा अनलाइनबाट गरिएको छ । अघिल्लो वर्ष कक्षा सञ्चालन नभएको अवधिका लागि शुल्क लिन नपाउने भनिएपछि यतिबेला संस्थागत विद्यालयहरुले रकम असुलीका लागि कक्षा सञ्चालन गरेको पाइन्छ । यस विषयमा सम्बन्धित निकायबाट अनुगमन गर्नु आवश्यक देखिन्छ । कम्तिमा कुन उमेर समूहलाई अनलाइन कक्षामा सहभागी गराउने भन्ने मापदण्ड बनाउनु पर्दछ ।