हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको ९ नम्बर वडामा लागूऔषध दूव्र्यसनीको विषयमा वडास्तरबाट नै अध्ययन गरिएको छ । ९ नं. वडा कार्यालयले सिआन पुनस्र्थापना केन्द्रको सहायतामा वडामा भइरहेको लागूऔषध दूव्र्यसनीका विषयमा वडास्तरबाट नै अध्ययन गरेको हो ।
पछिल्लो समय वडामा रहेका युवाहरुद्वारा लागूऔषधको प्रयोग तथा दूव्र्यसनी बढ्दै गएको भन्दै वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले के–कस्ता कारणले युवाहरु कुलतमा फस्दै गएका छन् भन्ने विषयमा थाहा पाउनका लागि अध्ययन गरिएको जानकारी दिनुभयो । अध्ययनपछि युवाहरुलाई यसबाट बचाउनका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्ने समेत उहाँले बताउनुभयो ।
केही समय अगाडि वडा कार्यालयले पुनस्र्थापना केन्द्र, ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएका प्रहरीसहितको टोलीले स्थलगत खोजी गरी वडाका विभिन्न स्थानबाट लागूऔषध प्रयोग गर्ने सुई, कोरेक्स लगायतका प्रयोग भएर फालिएका सामानहरु १५ किलो जम्मा गरिएको वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । विशेषगरी वडामा रहेको हेटौंडा सिमेन्ट उद्योग क्षेत्र लगायतका झाडी भएका स्थानहरुमा लागूऔषध प्रयोग भइरहेको अवस्थामै युवाहरु भेटिएको समेत उहाँले बताउनुभयो ।
सिआन पुनस्र्थापना केन्द्रले वडाका विभिन्न ३९ जना लागूऔषध प्रयोगकर्ताहरुमा गरेको अध्ययनबाट प्रयोगकर्ताहरुमध्ये ६९ प्रतिशत प्रयोगकर्ता साथीकै माध्यमबाट लागूऔषध प्रयोग गर्न थालेको देखिएको छ । १८ प्रतिशतले साथीको कारण साथै आफ्नो रहरले पनि दूव्र्यसनीमा फसेको बताएको अध्ययनले देखाएको छ । यस्तै ८ प्रतिशत आफूखुसीले र ३ प्रतिशत श्रीमतीका कारण तथा २ प्रतिशत दाजुभाईका कारण दूव्र्यसनीमा लागेको पाइएको छ ।
उनीहरुमध्ये १८ प्रतिशतले ५ देखि १० वर्षको उमेरमा नै पहिलो पटक लागूऔषध प्रयोग गरेको बताएका छन् भने ३३ प्रतिशतले १० देखि १५ वर्षको उमेरमा, २३ प्रतिशतले १५ देखि २० वर्षको उमेरमा, १० प्रतिशतले २० देखि २५ वर्षको उमेरमा तथा १६ प्रतिशतले २५ वर्षभन्दा माथिको उमेरमा पहिलो पटक लागूऔषध प्रयोग गरेका थिए । ५ वर्षदेखि माथिका उमेरका बालबालिकालाई जे शिक्षा दियो त्यही सिक्ने भएकाले दूव्र्यसनीको संगतमा बालबालिका परेमा यस्ता कार्य सिक्न सक्ने निर्देशक सौजन डिसीले बताउनुभयो । तसर्थ पनि २० वर्षसम्मका आफ्ना छोराछोरीलाई कुलतमा फस्न नदिन अभिभावकले विशेष ध्यान दिनुपर्ने उहाँको भनाई रहेको छ ।
लागूऔषध प्रयोगकर्ताहरुमध्ये ५९ प्रतिशतले दिनमा एकपटक लागूऔषध प्रयोग गर्ने गरेको बताएका छन् । २१ प्रतिशतले दिनमा दुईपटक र १० प्रतिशतले दिनमा तीन र चारपटकसम्म लागूऔषध प्रयोग गर्ने बताएका छन् । यसैगरी ६९ प्रतिशत प्रयोगकर्ताका परिवार तथा आफन्तले समेत लागूऔषध प्रयोग गर्ने गरेको पनि अध्ययनले देखाएको छ ।
अध्ययनकै क्रममा सर्वाधिक प्रयोगकर्ता सवारीचालक भएको देखिएको छ । पेशाको आधारमा गरिएको अध्ययनमा सहभागीमध्ये ३६ प्रतिशत प्रयोगकर्ता सवारीचालक भएको देखिएको छ । यस्तै २६ प्रतिशत बेरोजगार रहेका छन् । घरजग्गा कारोबारको व्यवसाय गर्ने ८ प्रतिशत, दैनिक रुपमा ज्याला मजदुरी गर्ने र होटल व्यवसाय गर्ने ५/५ प्रतिशत, बैदेशिक रोजगारी, विद्यार्थी र निर्माण व्यवसायी पेशाका ३/३ प्रतिशत तथा नाम नखुलेका पेशा गर्ने १० प्रतिशत लागूऔषध प्रयोगकर्ता रहेको अध्ययनले देखाएको छ ।
लागूऔषध प्रयोगकर्ताको विषयमा विस्तृत रुपमा अध्ययन गर्ने क्रममा २४ किसिमका आधारमा अध्ययन गरिएको सिआन पुनस्र्थापना केन्द्रका निर्देशक सौजन डिसीले जानकारी दिनुभयो । पहिलोपटक वडास्तरमा नै लागूऔषध दूव्र्यसनीको विषयमा अध्ययन गरिएको समेत उहाँले बताउनुभयो । अध्ययनबाट वडाको अवस्थाबारे जानकारी, लागूऔषधमा युवाहरु के कारणले फस्दै छन् ? सरकारलाई प्रयोगकर्ताको सुझाव, प्रयोगकर्तामा भएको रोग, पारिवारिक अवस्था, सेवन गर्ने श्रोत बारे जानकारी, आगामी वर्ष बजेट निर्माणमा आवश्यकता अनुरुप मद्दत हुने, तथा स्थानीय सरकार, संघसंस्था र प्रयोगकर्ता बीच आवश्यक सम्बन्ध कायम रहने निर्देशक डिसीले बताउनुभयो ।
अध्ययनका क्रममा २० देखि ६५ वर्षसम्मका उमेर समुहका लागूऔषध प्रयोगकर्तामध्ये ३० देखि ३५ वर्ष उमेर समुहका प्रयोगकर्ता सबैभन्दा धेरै ३१ प्रतिशत र २० देखि २५ वर्षका युवा २० प्रतिशत रहेका देखिएको छ । यस्तै २५ देखि ३० वर्षका १५ प्रतिशत, ३५ देखि ४० वर्षका १३ प्रतिशत, ४० देखि ४५ वर्षका ८ प्रतिशत, ४५ देखि ५० वर्षका १० प्रतिशत तथा ५५ देखि ६५ वर्षका ३ प्रतिशत प्रयोगकर्ता रहेका छन् ।
जातिका आधारमा सबैभन्दा बढी ४९ प्रतिशत प्रयोगकर्ता जनजाति रहेका छन् । धार्मिक आस्थाको आधारमा ७९ प्रतिशत प्रयोगकर्ता हिन्दु रहेका छन् भने बाँकी २१ प्रतिशत बौद्ध धर्म मान्ने रहेका छन् । प्रयोगकर्ता मध्ये ५९ प्रतिशत बिवाहित, ३८ प्रतिशत अबिवाहित तथा ३ प्रतिशत सम्बन्धबिच्छेद भएका अध्ययनले देखाएको छ ।
शैक्षिक योग्यताका आधारमा ५१ प्रतिशत लागूऔषध प्रयोगकर्ताले मावि तहसम्म अध्ययन गरेका छन् । पारिवारिक विवरणअनुसार ६२ प्रतिशत प्रयोगकर्ताको अभिभावकका दुई वा सो भन्दा बढी सन्तान रहेका छन् भने ३८ प्रतिशत प्रयोगकर्ता एकल सन्तान रहेका छन् । यस्तै ६९ प्रतिशत प्रयोगकर्ता आफ्नो आमाबुवासँगै बसोबास गर्ने भए पनि लागूऔषध प्रयोग गर्ने गरेको पाइएको छ ।
प्रयोगकर्तामध्ये ६२ प्रतिशतले इन्टरनेट सुबिधा प्रयोग गर्ने गरेका छन् भने सुबिधाको आधारमा सबैभन्दा बढी ३९ प्रतिशतसँग रेडियो, टेलिभिजन तथा टेलिफोन रहेको अध्ययनले देखाएको छ । प्रयोगकर्ताहरुमध्ये सबैभन्दा बढी ४४ प्रतिशतले स्थानीय रुपमा पाईने मादक पदार्थ सेवन गर्ने गरेका छन् । बाँकीले प्रयोगकर्ताहरुमध्ये केहीले मानसिक रोगका औषधीका साथै अन्यले गाँजा, सुईको माध्यमबाट लागूऔषध, ब्राउन सुगर, रुघाखोकीको औषधी, सबैप्रकारमा मादक पदार्थ लगायतका लागूऔषध प्रयोग गर्ने अध्ययनका क्रममा देखिएको छ ।
प्रयोगकर्ताहरुमध्ये २३ प्रतिशतले रोजगारी प्रदान गरेमा दूव्र्यसनी कम गर्दै जाने बताएका छन् । ८ प्रतिशतले भने लागूऔषध ओसारपसार गर्नेलाई नै पक्राउ गर्नुपर्ने बताएका छन् । १० प्रतिशतले भने लागूऔषध तथा मादक पदार्थ पूर्णरुपमा निषेध गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । अन्य १० प्रतिशतले सिपमुलक तालिमको माग गरेका छन् । समान ५/५ प्रतिशतले बैंकको ब्याज कम गर्नुपर्ने, विद्यालयको शुल्क कम गर्नुपर्ने बिवाहका लागि जबरजस्ती गर्न नहुने बताएका छन् । ८/८ प्रतिशतले भने परिवारका सदस्यले विश्वास गर्न, बेरोजगार भत्ता प्रदान गर्न तथा तलबबृद्धि गर्न माग गरेका छन् ।
अध्ययनका क्रममा दूव्र्यसनी नियन्त्रण गर्न सरकारले गर्नुपर्ने कामहरुका आधारमा प्रयोगकर्तामध्ये ५४ प्रतिशतको रोजगारीको सुनिश्चितता गर्न माग गरेका छन् । यस किसिमको अध्ययनले लागूपदार्थ दूव्र्यसनी नियन्त्रण गर्न मद्दत मिल्ने जानकारहरु बताउँछन् । उनीहरु कसरी र के कारण दूव्र्यसनीमा फसे ? कसरी उनीहरुलाई त्यसबाट मुक्त गर्न सकिन्छ ? भनेर सहयोग मिल्ने उनीहरुको भनाई छ ।