शनिबार बिहान हेटौंडा–४ स्थित हेटौंडा स्पोर्टस् मुण्डियालमा मनोज श्रेष्ठले किनिदिएको खेल सामग्रीसहित भुवन कामी ।

हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा) को अन्डर–१३ युथ एकेडेमी कार्यक्रममा छनोट भएका मकवानपुरका भुवन कामी नेपाल आर्मी युथ एकेडेमीमा आबद्ध भएका छन् । एन्फाले विभागीय क्लबको युथ एकेडेमीका लागि छनोट गरेको खेलाडीहरुलाई गोलाप्रथाबाट विभाजन गर्दा भुवन आर्मीको युथ एकेडेमीमा पर्न सफल भएका हुन् ।

एन्फाले शुक्रबार छनोट गरेका २१ छात्रवृत्ति तर्फका, २१ आंशिक शुल्क तर्फका र ९ जना वैकल्पिक खेलाडीलाई गोलाप्रथा गरी आइतबार विभागीय क्लब नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई जिम्मा लगाएको छ । भुवनसँगै वैकल्पिक खेलाडीका रुपमा छनोट भएका सिमोन मगर पनि नेपाल आर्मीमा नै आबद्ध भएका छन् । अन्य खेलाडीले एकेडेमीमा आउन नचाएको अवस्थामा मात्र उनले अवसर पाउनेछन् ।

मृत्युको मुखबाट बाँचेका भुवनले आफ्नो सपना पूरा गर्ने राम्रो अवसर प्राप्त गरेका छन् । हेटौंडा–१० स्थित भुटनदेवी टोलमा भाडाको अँध्यारो र सानो एउटा कोठामा आफ्नी आमा र बहीनीको साथमा बस्ने गरेका भुवन करिब ६ वर्षअगाडि मृत्युको मुखमा पुगेर पनि बाँचेका थिए । बिजुलीको ट्रन्सफर्मरमा परेर गम्भीर घाइते भएका भुवन आज राष्ट्रियस्तरमा पुग्नु सबैका लागि गर्वको कुरा भएको भुटनदेवी युवा क्लबका अध्यक्ष सबिन मुक्तानले बताउनुभयो ।

एक निम्न परिवारमा आमाले दैनिक ज्यालादारी गरेर हुर्काएका भुवनको अबका दिन भने उज्जवल हुने अनुभुति भएको मुक्तानको भनाई रहेको छ । हाल १२ वर्षीय भुवन औपचारिक रुपमा भुटनदेवी युवा क्लबमा रहेर २ वर्षदेखि फुटबल प्रशिक्षण लिइरहेका थिए । हेटौंडा–१० कै ज्ञानदा माविमा अध्ययनरत भुवनको अबको फुटबल प्रशिक्षण तथा नियमित शिक्षा आर्जन नेपाल आर्मीको सैनिक आवासीय महाविद्यालयमा हुनेछ ।

करेन्ट लागेर पनि बाँचेका भुवन स्वभावले चलाख अनि कुरा गर्न खप्पिस छन् । यसैकारण उनलाई चिन्ने मानिसहरु उनको वास्तविक नाम भन्दापनि अन्य विभिन्न नाम प्रयोग गरेर बोलाउने र चिन्ने गर्छन् । जसमध्येको प्रचलित नाम ‘करेन्ट’ नै रहेको छ ।

उनी आफ्नो उमेरसमूहका खेलाडीसँगै ठूला उमेरका खेलाडीहरुसँग खेल्न बढी रुचाउँछन् । उनी प्रायःजसो हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको खेलमैदानमा ठुला खेलाडीहरुसँग फुटबल खेलिरहेका भेटिन्थे । सबैसँग सम्मानजनक व्यवहार गर्ने कारण पनि उनलाई सँगै खेलाउने गरेको ठुला उमेरका खेलाडीहरु बताउँछन् । ठुला खेलाडीहरुसँग खेल्दा आफूले सिकेको भन्दा फरक र नयाँ स्किलहरु सिकिने र जस्तोसुकै खेलाडी आएपनि मनमा डर नहुने भएकाले पनि फरेष्ट्रि आएर खेल्ने गरेको भुवनले बताए ।

निम्न परिवारको र बुवा नभएर समस्या भएको कारण आवश्यक पर्दा टोलछिमेकहरुले पनि सघाउने गरेका छन् । भुवन जिल्लाबाट छनोट भएर प्रदेश र राष्ट्रिय छनोटमा जाने बेला भएका सम्पुर्ण खर्च समेत भुटनदेवी युवा क्लबका सदस्य मदन कुमार लामाले सहयोग गर्नुभएको थियो । पछिल्लो समय भुवन पनि उहाँकै घरमा बस्ने गरेका छन् । यस्तै राष्ट्रियस्तरमा छनोटको समय लाग्ने मेडिकल परीक्षण खर्च क्लबका अध्यक्ष मुक्तानले सहयोग गर्नुभएको बताउनुभयो ।

आफैंले सामान्य फुटबल बुट किन्ने आर्थिक अवस्था नभएका भुवनले आफ्नो लगन र मिहिनेतले राष्ट्रियस्तरमा स्थान बनाउँदा उनका छिमेकी मनोज श्रेष्ठले शनिबार खेलकुद सामग्री सहयोग स्वरुप प्रदान गर्नुभएको थियो । खेलकुद क्षेत्रमा राजनीति नहुने हो भने सामान्य घरपरिवारका खेलाडीले पनि आफ्नो मिहिनेत र कलाले राष्ट्रियस्तरमा ठाउँ बनाउन सक्छन् भनेर भुवनले प्रमाणित गरिदिएका छन् ।