मामाघर नेपालका संरक्षक अर्पण पराजुली

हेटौंडाः नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण बढेसँगै मकवानपुर जिल्लामा निषेधाज्ञा जारी छ । गत बैशाख १९ गते राति १२ बजेदेखि सुरु भएको निषेधाज्ञा आगामी जेठ १३ गते राति १२ बजेसम्म कायम रहनेछ । निषेधाज्ञाले ब्यापार, व्यवसाय, यातायात, शिक्षा सबै क्षेत्र बन्दप्रायः छ ।

लामो समयसम्म निषेधाज्ञा हुँदा व्यक्तिगत सहयोगमा सञ्चालन भइरहेका विभिन्न प्रकारका मानिसहरुलाई आश्रय दिइरहेको संघसंस्थामा खाद्यान्नलगायत अत्यावश्यक सामग्री अभाव भइरहेको छ । केही दिनअघि हेटौंडा–९ स्थित मानवसेवा आश्रममा खाद्यान्न अभाव हुने स्थिति भएको भन्दै सहयोग गरिएको थियो । मानवसेवा आश्रममा २ सयभन्दा बढी सहयोगापेक्षीहरु आश्रित छन् । सडक बालबालिकालाई आश्रयसहित संरक्षण गरिरहेको हेटौंडा—११ स्थित मामाघर नेपाल मकवानपुरलाई भने निषेधाज्ञाले खासै असर गरेको छैन ।

तत्कालका लागि मामाघर नेपाललाई खाद्यान्नलगायत अन्य सामग्री आवश्यक नभएको मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले जानकारी दिनुभयो । पहिलादेखि नै सहयोगी मनहरुले मामाघरलाई सहयोग प्रदान गरिरहनु भएकाले हाललाई खाद्यान्न तथा लत्ताकपडा सहयोग आवश्यक नरहेको पराजुलीले बताउनुभयो ।

सडक बालबालिकाको मामाको रुपमा परिचित पराजुली हेटौंडा तथा मकवानपुर जिल्लामा मात्र नभई स्वदेश तथा विदेशमा पनि चर्चित तथा परिचित हुनुभएको छ । असहाय सडक बालबालिकालाई आश्रयसँगै शिक्षाको उज्यालो दिँदै आएको मामाघर नेपालको परिकल्पनाकार पराजुलीले सडक बालबालिकालाई मामाघरमा ल्याउन निकै संघर्ष गर्नुभएको थियो ।

हेटौंडामा नै बालबालिकाको आश्रयस्थल स्थापना गरेर सामाजिक रुपान्तरणमा लाग्नुभएका पराजुली राजनीतिक नेतादेखि प्रशासक, प्रतिष्ठित व्यक्तिहरुले समेत ‘मामा’ भनेर सम्बोधन गर्दा खुशी हुने गरेको बताउनुहुन्छ । ‘मानिसमा निस्वार्थ भावना र सहयोगको भावना भए बालबालिका सडकमा रहनुपर्ने स्थिति हुँदैन थियो । अहिले हेटौंडामा सडकको पेटीमा सुतेर बस्ने बालबालिका कम हुँदै गएका छन्’, पराजुलीले भन्नुभयो– ‘कसैले पनि सडक बालबालिकाले दयनीय जीवन गुजारेको देख्नु नपर्ने भए पनि केही बालबालिका भने सडकमा भेटिने गरेका छन् ।’ एउटै धर्ती र माटोमा जन्मेका हामी मानिस इज्जत, मान–प्रतिष्ठा, सम्मान र सुरक्षाका साथ बाँच्न पाउने अधिकार धनी गरिब सबैको हुने पराजुलीले बताउनुभयो ।

‘गरिबीका कारण या अभिभावक नभएकै कारण अबोध बालबालिकाले सडकमा जीवन गुजार्नुपर्ने, शिक्षा, संस्कार, मूल्य, मान्यता नपाउने र पेटभरी खाना नपाउने कुरा अहिलेको आधुनिक युगको समाजलाई पटक्कै सुहाउँदैन’, पराजुलीले भन्नुभयो– ‘सबैले बाँच्नुपर्छ र बाँच्न दिनुपर्छ भन्ने सोचले समाजलाई सकारात्मक बनाउँछ ।’ पराजुलीले मामाघरको सुरुवात गर्नुअघि सडक बालबालिकाको समस्या हेटौंडामा भयाबह थियो । बालबालिका सडकमै माग्थे, खान्थे, खेल्थे र सुत्थे । सडक नै उनीहरुको घर र आकाश नै छानो भएको थियो । कहिले गर्मीको घामले छट्पटाउँथे । कहिले ठण्डीले कठांग्रिइरहेका हुन्थे । कहिले झरीमा भिजिरहेका हुन्थे । तर, अहिले त्यो स्थिति हेटौंडामा धेरै कम भएको पराजुलीको भनाई छ । पराजुलीको पहलमा खुलेको ‘मामाघर’ सडक बालबालिकाको आफ्नो घर भएको छ । धेरै बालबालिकालाई आफ्नो घर ठेगाना, बाबु, आमा थाहा छैन । मामाघर नै उनीहरु आफ्नो घर सम्झिन्छन् ।

पराजुलीले मामाघर सुरु गर्नुअघि स्थानीय निकायहरुले सडक बालबालिकाको नाममा योजना बनाउनेदेखि बजेट निकासा गर्ने गरेको भए पनि त्यसको उपलब्धि शून्यप्रायः थियो । हरेक बालबालिकाको राज्य स्रोतमाथि समान अधिकारका साथै सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ । त्यो कुरा संविधानदेखि नीति, नियममा उल्लेख गरिएका छन् । तर, त्यसको अनुभूति सडकमा पुर्‍याइएका बालबालिकाले कहिल्यै पनि गर्न पाउँदैनन् । हाम्रो राज्यप्रणाली लोककल्याणकारी हुन नसकेको गुनासो गर्दै पराजुली भन्नुहुन्छ– ‘फरक सोचका व्यक्तिहरुको पहलमा जन्मिने मामाघरजस्ता संस्थाहरुले राज्यको दायित्वलाई बहन गर्न लागिपरेको अवस्था छ ।’

करिब ११ वर्षअघि पराजुलीले बालबालिका सडकमा आउनुको कारण पहिचान गर्न सडकमा तिनै बालबालिकासँग रहेर अध्ययन अनुसन्धान गर्नुभएको थियो । सडकमा आएपछि उनीहरुको जीवन कतिका कष्टमय हुन्छ भन्ने थाहा पाउन पनि सडकमा सुतेको बताउनुहुन्छ पराजुली । सडकमा बालबालिकासँगै सुत्न सुरु गरेका पराजुली भन्नुहुन्छ– ‘बालबालिका आफ्नो भोक मेटाउन अपराधसम्म गर्न पछि पर्दैनथे । उनीहरु समाजका लागि ठूलो चुनौती बन्ने गरेका थिए । उनीहरुप्रति मानिसहरुको हेर्ने दृष्टि पनि कठोर थियो ।’ पराजुलीले त्यतिबेलाको तथ्यहरु स्मरण गर्दै भन्नुभयो– ‘एक दिन कुरा हो, साँझमा हेटौंडाको बसपार्क पुगेको अवस्थामा मेरो ध्यान सडक बाललिकामा पर्‍यो । सडक बालबालिका कोही बटुवाहरुलाई मःमः किनिदिन आग्रह गर्दै थिए ।

कोही चुरोट तान्दै थिए । कोही अपशब्द बोल्दै झगडा गर्दै थिए । कोही दूधका प्याकेटमा हालेर नसालु पदार्थहरु सुँघ्दै थिए । कोही बटुवा महिलाको पछि लाग्दै पैसा माग्दै थिए । कोही अरुले मःमः खाएर फालेको टपराको अचार चाट्दैथिए । कोही फोहोर फाल्ने डस्टवीनबाट हड्डीका टुक्रा निकालेर मासु टोक्दै थिए ।’ यस्तो दृश्य देखेपछि त्यो दिन निराश भएर घर फर्किएको पराजुलीले बताउनुभयो ।

भोलिपल्ट उहाँ पुनः बसपार्क पुग्नुभयो । नजिक गएर ती सडक बालबालिकालाई बोलाउनुभयो । तर, उनीहरु बोलेनन् । उल्टै शत्रुको नजरले हेर्न थाले । त्यसपछि पराजुलीले पसलेसँग एक प्लेट मःमः माग्नुभयो र नजिकै रहेको एक सडक बालकलाई बोलाउनुभयो । त्यो बालक आशा र आशंकाको मुद्रामा विस्तारै नजिक आएको पराजुली बताउनुहुन्छ । उहाँले त्यो बालकका लागि थप मःमः माग्नुभयो । त्यसपछि अरु बालकहरु पनि क्रमशः मःमः खान आएको उहाँले बताउनुभयो । त्यसदिन सबै सडक बालकलाई उहाँले पेटभरी मःमः खुवाउनुभयो ।

ती सडक बालबालिकाहरु पराजुलीप्रति आकर्षित र उत्सुक हुँदै नजिकिन थाले । त्यसपछि पराजुलीले बालबालिकाको नाम, घर ठेगाना सोध्न सुरु गरेको बताउनुभयो । छुट्टिने बेला एक बालकले ‘भोलि पनि आउनुहुन्छ अंकल ?’ भनेर सोध्दा आफू भावुक भएको पराजुलीले बताउनुभयो । घर पुगेर पनि उनले तिनै बालबालिकाको अनुहार सम्झिएको बताउनुहुन्छ । उनीहरुको बाध्यता र पीडालाई सम्झिएर ‘यिनीहरुका लागि म केही गर्छु’ भन्ने अठोट लिएकै कारण मामाघर जन्माउन सकिएको उहाँले बताउनुभयो ।

पराजुलीले मःमः खुवाउने क्रम जारी राखेको हुँदा सडक बालबालिको संख्या पनि दिन प्रतिदिन थपिँदै गयो । क्रमिकरुपमा पराजुली ती बालबालिकासँग नजिक भएपछि उनीहरुको समस्या अनि आनीबानी थाहा पाएर सकारात्मक कुराहरु सिकाउन सुरु गरिएको उहाँले बताउनुभयो । सोही क्रममा एक बालकले आफूलाई मामा भनेपछि अरुले पनि मामा भन्न थालेको उहाँ बताउनुहुन्छ ।

सडक बालबालिकासँगै सडकमै कतिपय रात बिताउनुभएका पराजुलीले बालबालिकाको विषयमा विद्यावारिधि गर्ने निश्चय गरेको उहाँले बताउनुभयो । मामाघर नेपालको नामबाट बालबालिकाको आश्रयस्थलको रुपमा २०६८ साल कात्तिक २७ गतेदेखि क्रियाशील रहेको उहाँले जानकारी दिनुभयो । स्थापनाकालदेखि भाडाको घरमा मामाघर नेपाल सञ्चालन हुँदै आएकोमा अहिले आफ्नै भवनमा मामाघर नेपाल रहेको छ । विगतमा हेटौंडा उपमहानगरपालिकाले घरभाडा तिरेर मामाघरको अभिभावकत्व ग्रहण गरेको पराजुलीले बताउनुभयो । सामाजिक सञ्चाल तथा विभिन्न सञ्चार माध्यमका कारण मामाघर नेपाललाई सहयोग गर्ने सहयोगी मनहरु बढेको उहाँको भनाई छ ।

मामाघरका प्रथम भान्जा तथा जेठो भान्जा राजु अधिकारी अहिले हक्की खेलको राष्ट्रिय खेलाडी तथा क्याप्टेन हुनु गौरवको कुरा भएको उहाँ बताउनुहुन्छ । यसैगरी चार भान्जा पनि हक्कीको राष्ट्रिय खेलाडी रहेका छन् । भान्जाहरु शिक्षामा अब्बल, फुटबललगायत अन्य खेलमा रुचि राख्नुका साथै आत्मनिर्भर बनेर जीवनयापन गर्न विभिन्न तालिममा संलग्न भइरहेको पराजुलीले बताउनुभयो ।

हेटौंडा ११ का स्थानीय बासिन्दा तथा समाजसेवी सिद्धिलाल श्रेष्ठले २ कठ्ठा १४ धुर जग्गा उपलब्ध गराएपछि व्यक्तिगत तथा संस्थागत सहयोग जुटाएर मामाघरको आफ्नै बालमैत्री भवन बनाइएको छ । भान्जाहरुको शिक्षाको जिम्मेवारी आनन्दभैरव आधारभूत विद्यालय र भूटनदेवी माध्यमिक विद्यालयले लिएका छन् । भान्जाहरुका स्वास्थ्य उपचारका लागि हेटौंडा–१०, बुद्धचोकमा रहेका मेडिसिन सेन्टरले जिम्मेवारी लिएको र स्वास्थ्यमा जटिल समस्या भए विशेषज्ञ डाक्टर हरि खड्काले उपचार गर्ने व्यवस्था भएको पराजुलीले बताउनुभयो ।

जुन शहरका सडकमा बालबालिका छन्, त्यसले बालबालिकाको मनोवैज्ञानिक र भौतिकरुपमा सक्षम नहुने हुँदा स्थानीय तहदेखि सरोकार निकायले चासो दिनुपर्ने पराजुलीले बताउनुभयो । बालमैत्री समाज र राज्य निर्माणका लागि सबै एकजुट हुन आग्रह गर्नुहुन्छ, पराजुली । पहिला निषेधाज्ञा हुनुपूर्व बालबालिका छन् या छैनन् भनि सडकमा अनुगमन गरी उद्दार गरिएको भए पनि अहिले सडकमा अनुगमन नभएको उहाँले बताउनुभयो । अहिले सडक बालबालिका भेटिए पनि कोरोना संक्रमणको त्रासका कारण मामाघरमा ल्याएर राख्न नसकिने हुँदा अनुगमनलाई निरन्तरता दिन नसकेको उहाँले बताउनुभयो । २०८२ सालसम्म सडक मनावमुक्त देश घोषणामा सहयोग पुर्‍याउन सबैको सहयोग जरुरी छ । मकवानपुर जिल्लाको हेटौंडालाई बालबालिकाको क्षेत्रमा एउटा अभिन्न योगदान दिई स्वदेश तथा विदेशमा पहिचान दिलाउन मकवानपुरबासीको सहयोग रहेको र थप सहयोगको अपेक्षा पराजुली राख्नुहुन्छ ।