हेटौंडाः मकवानपुर जिल्लाको ट्राफिक व्यवस्थापनका निमित्त आज सोमबार विभिन्न उपकरण तथा सामाग्रीहरु हस्तान्तरण गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आज एक कार्यक्रमको आयोजना गरी बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुखलाई संयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरेको हो ।
बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरी, प्रहरी उपरीक्षक राज कुमार सिलवालको उपस्थितिमा प्रदेश सरकार भौतिक पुर्वाधार, विकास मन्त्रालय मार्फत यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका कार्यालय प्रमुखले ५ लाख रुपैयाँ मूल्य बराबरको सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।
बागमती प्रदेश प्रहरी कार्यालयको सक्रियता एवम् समन्वयमा समग्र प्रदेशको ट्राफिक आवागमनलाई सु–व्यबस्थित बनाउन दुई चरणमा ३ करोड रुपैयाँ बराबरको सामान आवश्यक रहेकोले सो सामाग्रीहरु खरिदको लागि भौतिक पुर्वाधार विकास मन्त्रालयलाई प्रस्ताव पेश गरेको प्रहरी बरिष्ठ उपरीक्षक तथा प्रवक्ता मीरा चौधरीले जानकारी दिनुभयो ।
सो सम्बन्धमा आगामी आर्थिक वर्षको वजेटबाट व्यवस्थापन गर्ने तथा तत्कालका लागि मकवानपुर र चितवनको लागि ५/५ लाख रुपैयाँको ट्राफिक उपकरण उपलब्ध गराई ट्राफिक व्यबस्थापनका लागि सरोकारवालसँगको वृहत अन्तक्रियाका लागि थप ३/३ लाख उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुभयो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले Breath Analyzer with printer-2, Magic Light-10, Wheel Lock-10, Florecent Jacket-38, Checking Board with Wheel(Metal)-1, Body Worn Camera -1, PVC Cone-20 थान गरी विभिन्न ८ प्रकारका ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्युनिकरण सम्बन्धी उपकरणहरु तथा अन्य सामाग्रीहरु प्रदान गरिएको छ ।
उक्त परिमाण तथा लागतमा केही दिनभित्र चितवन जिल्लाको ट्राफिक व्यवस्थापनका निमित्त समेत सोहि परिणामका सामाग्रीहरु उपलब्ध गराउने गरि खरिद प्रकृया अगाडि बढि सकेको समेत कार्यालयले जनाएको छ ।
विशेष गरी बागमती प्रदेशको मकवानपुर र चितवन जिल्लामा बढ्दो जनघनत्व, प्रमुख सवारी मार्गहरु तथा हेटौंडा बागमती प्रदेश राजधानी समेत भएको हुँदा ट्राफिक व्यवस्थापन सम्बन्धी विभिन्न किसिमका उपकरणहरु उपलब्ध गराउनका निमित्त सम्बन्धित प्रदेश मन्त्रालयहरु लगायत विभिन्न सरोकारवाला निकायहरुसँग नियमित समन्वय र सहकार्य गर्ने कार्यलाई निरन्तरता दिईएको पनि बरिष्ठ प्रहरी उपरिक्षक चौधरीले जानकारी दिनुभयो ।