संप्रस पौडेल

(आजभन्दा २०० वर्षपछिको एउटा घुमन्ते अन्तरीक्षयात्रीको कथा)

जान्न भन्दा भन्दै छोरीले मंगलको टिकट कटाइदिछिन् । थकित छु, यो सिजनमा मात्रै ३ पटक पुगेर आइसकेँ । त्योभन्दा अघि पृथ्वी पारगरी डिज्नी स्पेस पार्क र चोमोलुङ्मा रोबोट पार्कमै धेरै दिन बिताइयो ।

मान्छे हिँड्न पनि कति सकेका है । जेठा दाइ अघिल्लो हप्ता भाउजु, छोराछोरी, कुकुर र बिरालोसहित पृथ्वीबाहिर ग‌एर आएछन् । पहिले कुकुरलाई यानको प्रयोगमा पठाए, अहिले कुकुर डुलाउन स्पेस‌ जान थालेकाछन् मान्छे । दाइभाउजु त्यहीँ पुगेपछि चन्द्रलोकको हलेसी र स्याङ्गबोचे त जानुपर्थ्यो नि । नजिकै जामे मस्जिद र समर्पण मण्डली पनि त थियो । आ जेसुकै गरून् ।

अबका छोराछोरीले परापूर्वकालमा जस्तो वृध्दाश्रममा देख्न चाहँदैनन् बाआमालाई । सडकमा टेक्ने मान्छे पनि फाट्फुट्ट देखिन्थ्यो अरे हाम्रा बाआमाका पालासम्म । घर-घर ट्विन‌अटर हजुरबाकै पालादेखि आएको अरे ।

पहिले पहिले त धर्म पनि फरक फरक समूहको हुन्थ्यो अरे । उहिले अमेरिकातिर काला र गोराको विभेद हुन्थ्यो अरे । हाम्रै आसपास पनि जातजातीबीच खुबै विभेद थियो अरे । सुन्दै आङ सिरिङ्ग हुने बाबै ।

जेहोस् नासाले १०० वर्ष‌अघिदेखि ‘सर्वहिताय नमोनमस्’ भनेर आफ्नो हरेक यानमा लेख्न थालेको छ । जम्बो यानमा ‘नो कन्ट्री बाउण्डरी फर लिभिङ बिइङु’ पनि लेखिएको छ । हामीहरूको थर पनि पौडेल, श्रेष्ठ, तामाङ, घले, राई, झा, चमार यस्तो पो हुन्थ्यो अरे । यो व्यवस्था बदलिएपछि हामी सबैको साझा थर नेपाली नै चलेको रहेछ । चाडबाड पनि दशैँतिहारदेखि क्रिसमस, सामाचकेवा, इदसम्म मनाउँछौँ हामी । पुर्खाहरूमा कति धेरै मनोवैज्ञानिक चेत भ‌एका नि ।

पहिले मेक्सिको, काठमाण्डु, हैदरावाद डुङ्डुङ् गन्हाउथ्यो अरे फोहोर थुप्रिएर । जिजुआमाले नै पैसा तिरेर घरघरबाट फोहोर पठाउनुभ‌एको अरे । आजकाल फोहोर लान्छन्, महिनापिच्छे घर खर्च नै चल्नेगरी बैङ्कमा टन्नै पैसा जम्मा गरिदिन्छन् । केही वर्ष जम्मा भ‌एको त्यही पैसाले मंगलको कोलोनी किनेका हौँ हामीले ।

छिमेकी रामलखनको छोरोले हजुरबा र हजुर‌आमालाई चन्द्र यात्रा गराएछ । बुढामान्छेले त मुनल्याण्ड झर्नासाथ निधारमा माटै टाँसिनेगरी ढोगे अरे । देशविदेश त घुमेकै हो, चन्द्रमा पनि आइयो भनेर हर्षले खुबै रोए अरे दुवैजना । यता ठण्डी बढेको छ । यो वर्ष उतै बस्ने अरे ।

आउँदो हप्ताको फ्लाइट छ हाम्रो । दशैँमाचाहिँ चन्द्रलोक नै आउनु नि भनेका पनि छन् । टिकट पठाए आउने हो क्यार । नत्र उतै मंगल कोलोनीतिरै मान्नुपर्ला चाडबाड । सबै आफ्नै लाग्छ हामीलाई त ।

मंगलमा पनि ट्राफिक जाम होला जस्तो भैसक्यो । जताततै रोबोट नै रोबोट । मान्छे हो कि भनी बोलाउँदा रोबोट नै बोल्ने । छातीमा कोड टाँसेको देखेरै चिन्नुपर्ने । काटिकुटी हामी जस्तै । चाइनिजमा बोले उस्तै, नेपालीमा बोले पनि दुरूस्तै बोलिदिने ।

अस्तिनँ जाँदा आलु मात्र खान पाइयो । रायो, बन्दा, मूला सबै खाइसकेका । हाइड्रोपोनिक्सबाट सागपात त २०० वर्ष‌अघि नै उमारेको हो नि । सेन्सरबाट बिऊ उमार्ने, स्याटलाइटमै खेति गर्ने, सफ्टवेयरले नै मल, पानी, तापक्रम व्यवस्थापन गर्ने पनि अब सामान्य नै भैसक्यो । अली नयाँ प्रविधी ल्याउनु र जसले जे खोज्यो त्यही तुरून्तै विकास गर्न सक्ने बनाउनु नि ।

मलाई त रकेट चढेपछि बान्ता आउँछ होला भन्दैथिए राजथला काका । काकी कागती सुङ्दै थिइन् । जेहोस् सरकारले जीवनमा एकपटक अनिवार्य र अरू पटक स्वेच्छिक गरेको अन्तरीक्ष यात्राको व्यवस्थालाई राम्रै भन्नुपर्छ । एक पटक मुक्तीनाथ र अर्को पटक मंगल, एक पटक चन्द्रागिरी र अर्को पटक चन्द्रको यात्रा नगर्ने मान्छे के मान्छे सरकारकै डाइलग हो यो ।

मान्छेमा लोभचाहिँ झन् बढेको छ । पृथ्वीमा जनसंख्या घटाइरहेको मान्छे मंगलमा अनिवार्य ४ सन्तान नीतिले ६र७ जन्माइराछन् । मंगलको ५ प्रतिशत पनि ओगटीसकेको छैन स्थायी बासले । भावी सन्ततीलाई पनि ठाउँ राख्नुपर्ला नि ।

मंगल लोक सरकारले मंगलको चोकचोकमा मोरल सेन्टर खोलेको छ । हरेक बिहान कथा, नीतिवचन, शास्त्र, इतिहास, चालचलन, प्रचलन बारे छलफल हुन्छन् । विकासका नाममा माटो बेची खानेदेखि, धर्मका नाममा प्रकृतिलाई प्रदुषित गर्ने, राजनीतिका नाममा युवाका दिमागमा विष शिक्षा भर्ने परम्परागत कुसंस्कारबारे खुलेर बहस हुन्छन् । मोरल सेन्टरकै कारणले पनि आफू त जानैपर्छ नै वृध्दवृध्दालाई पहिला अर्थात् ओल्ड एजिड फर्स्ट नीति लिएका छन् सबैले ।

(ए हे बुढी भुसुक्कै भ‌एछु नि आजको डिनर त हुसेन दाइकोमा भन्नुहुन्थ्यो क्यार । लौ हाइपरलुप बुक गरौ अनी लाहौर पुगेर आइहालौँ त ।)

(२०७८ जेठ २, मनहरी-५, मकवानपुर)