कृष्ण कटुवाल, अध्यक्ष, मकवानपुर उद्योग वाणिज्य संघ

विश्वमै कोरोना भाइरस सङ्क्रमण फैलिरहेको छ । नेपालमा पनि कोरोना भाइरस सङ्क्रमणको दर बढ्दो क्रममै रहेको छ । सङ्क्रमण फैलिने क्रम बढ्दै गएपनि स्थानीय प्रशासनले बागमती प्रदेशको राजधानी हेटौंडामा लागू गरेको निषेधाज्ञालाई केहि खुकुलो बनाइएको छ । खुकुलो बनाउनमा व्यवसायीहरुको माग रहेको र सोही अनुसार बिहानको समयमा सम्पूर्ण व्यवसाय सञ्चालन भएका छन् । यसै सन्दर्भमा व्यवसाय सञ्चालन गर्दा आवश्यक सतर्कता नपनाइएको, निषेधाज्ञा खुकुलो हुँदा बढ्न सक्ने जोखिमका विषयमा समाज संवाददाता संगी लामाले मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालसँग गर्नुभएको कुराकानीः

समाजः निषेधाज्ञा खुकुलो भएको छ । व्यवसायीहरु कै मागले गर्दा निषेधाज्ञा खुकुलो बनाइएको छ । यसले कोरोना सङ्क्रमणको जोखिम बढाउने भयो होइन ?
कटुवालः निषेधाज्ञा खुकुलो भएपछि सङ्क्रमणको केहि न केहि जोखिम त हुन्छ नै । तर जोखिम हामीले कति उठाउने भन्ने कुरा हो । जोखिमको कुरा गर्दा व्यवसायीको बैंकको किस्ताको ताकेता त्यत्तिकै छ । राज्यबाट करको लागि उस्तै, घरभाडा तिर्न परेकै हुन्छ । कर्मचारीहरु र मजदुरहरु सबैको तलब सबै कुराहरु जोडिएको हुन्छ । त्यसले गर्दा केहि निषेधाज्ञा खुकुलो बनाएर सहज बनाइएको छ । हामी सबैखाले व्यवसायीहरुको अनुगमन गरिरहेका छौं । यसमा सबै व्यक्ति सचेत हुनु पर्‍यो, व्यवसायीले उद्योगीले सबैले नियमको पालना गर्नु पर्छ । भौतिक दूरी कायम गर्दै, सुरक्षाको नीति अवलम्बन गर्दै व्यवसायलाई सहज बनाऔं भन्ने हिसाबले मात्र खुकुलो बनाएको हो ।

समाजः व्यवसायीले आवश्यक सतर्कता अपनाएको त देखिँदैन नि ?
कटुवालः व्यवसायीहरु सतर्क छन् । यसमा अनुगमन कस्ले गर्ने भनेर कमाण्ड पेष्टको बैठकमा भनेका पनि छौं । तैपनि हामी सबै नागरिक पनि सचेत हुनु पर्‍यो । व्यवसाय गर्नेहरुले पनि ग्राहकहरुलाई भौतिक दूरी कायम गर्दै व्यवसाय गर्नुपर्छ । हिजोका दिनमा पूरै ठप्प थियो भने ५० प्रतिशत व्यवसाय सञ्चालन गर्ने हिसाबले सबैलाई सहज होस् भनेर खोलिएको हो । यसमा सबैले सजगता अपनाएमा सङ्क्रमणको जोखिम कम गर्न सकिन्छ भन्ने धाराणाले खुकुलो बनाएको हो ।

समाजः अनुगमनको जिम्मा पनि तापाईहरुले नै पाउनुभएको छ । यो तपाईहरुको माग हो की, प्रशासनले जिम्मा दिएको हो ?
कटुवालः अनुगमनको जिम्मा हामीलाई दिइएको होईन । हामीले सहजीकरण मात्र गरेका हौं । हामीले नै अनुगमन गर्दा समस्या हुन्छ भनेर अनुगमनको जिम्मा वडा अध्यक्षहरुलाई दिइएको छ । हामीले सहजीकरणका लागि मात्र अनुगमन र निगरानी गरिरहेका हौं । व्यवसायी र उपभोक्ताबाट त्यस्तो नियम विपरितको कमि कमजोरी नहोस् भनेर अनुगमन गरेका हौं ।

समाजः तपाईहरुले निरीक्षण चै कसरी गरिरहनुभएको छ ?
कटुवालः यसमा हामीले आजै (बिहीबार) विहान पनि निरीक्षण गरेका थियौं । व्यवसाय कसरी सञ्चालन भएको छ । कर्मचारी, मजदुरहरुको अवस्था के छ ? सबै उद्योगहरु सञ्चालन भएको छ कि छैन् ? नियमहरु पालना भएको छ, छैन ? लगायतका कुराहरु निरीक्षण गरेका छौं । बजारमा बैंकहरुमा भीड भएको थियो । आज (बिहीबार) हामीले बैंकका म्यानेजरहरुलाई बैंकमै गएर व्यवस्थापन गर्न सल्लाह दिएका छौं । त्यसैले व्यवसाय पनि बाँचोस् र सङ्क्रमण पनि नहोस् भन्ने हिसाबले केही सहज बनाएका छौं ।

समाजः बजार मूल्य अस्वभाविक रुपमा बृद्धि भएको भन्ने उपभोक्ताहरुको गुनासो रहेको छ । यसलाई कसरी लिनुभएको छ ?
कटुवालः यसमा उपभोक्ताको तर्फबाट अनुगमन गर्ने विभिन्न निकायहरु छन् । हामीलाई पनि समन्वय गरे हामी पनि गछौं । व्यवसायीले बजार भाउ एकदम धेरै बढाउनुपर्छ भन्ने हाम्रो मान्यता होइन । हिजोका दिनमा जुन दर/रेट थियो त्यही हुन पर्छ । कुनै सामानको खरिद विक्रि बढेको छ भने त्यहि अनुसार जानु पर्छ होइन भने यथावत हुनु पर्छ । बजार भाउ बढ्नु पर्छ भन्ने मान्यतामा हामी छैनौं ।