हेटौंडाः मकवानपुरका तीन पालिका कोरोना भाइरस सङ्क्रमणमुक्त रहेको छ । मकवानपुरको इन्द्रसरोवर, कैलाश र बकैया गाउँपालिकामा पहिचान भएका सङ्क्रमितहरु कोरोनामुक्त भएसँगै पालिका नै कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।
इन्द्रसरोवरमा एक महिना अगाडि भारतबाट आएका एक पुरुषमा कोरोना सङ्क्रमण देखिएको थियो । उनी कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । उनको सम्पर्कमा आएका र लक्षण देखिएका ३३ जनाको विभिन्न समयमा स्वाब सङ्कलन गरिएको थियो । ती सबै नमुनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । अहिले गाउँपालिकामा कोरोना सङ्क्रमणको अवस्था सामान्य भएको र स्वाब सङ्कलन कार्य पनि रोकिएको इन्द्रसरोवर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मनुनाथ अधिकारीले जानकारी दिनुभयो ।
यस्तै मकवानपुरको कैलाश गाउँपालिका पनि कोरोना सङ्क्रमणमुक्त भएको छ । कैलाशमा गत महिना एक २२ वर्षीय महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनी भदौ १० गते उपचार भएर डिस्चार्ज भएपछि पालिका कोरानामुक्त भएको छ । गाउँपालिकामा हालसम्म एक सय ८० जनाको पिसिआर परीक्षण गरिएको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर महतोले जानकारी दिनुभयो । उहाँले सङ्क्रमित भएकी महिला भरतपुर अस्पतालबाट उपचार भएर घर फर्किनुभएको हो । हाल गाउँपालिकामा कोरोना सङ्क्रमणको शंकास्पद र सङ्क्रमितको सम्पर्कमा रहेको लगायतका त्यस्तो कुनै अवस्था नभएको स्वास्थ्य प्रमुख महतोले बताउनुभयो ।
यस्तै मकवानपुरको पूर्वीक्षेत्रस्थित बकैया गाउँपालिका पनि कोरोनामुक्त भएको छ । गाउँपालिकामा हालसम्म ४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती ४ जना नै कोरोनामुक्त भइसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फटिकरमण प्याकुरेलले जानकारी दिनुभयो ।