सन्दर्भः अन्तर्राष्ट्रिय ध्यान दिवस
संयुक्त राष्ट्रसंघले डिसेम्वर २१ लाई विश्व ध्यान दिवस घोषणा गरी यस वर्षको नारा विश्वव्यापी सद्भावका लागि आन्तरिक शान्ति तय गरेको छ । नेपालले पनि पुस ६ गते धुमधामसँग विश्व शान्ति दिवस मनाउँदै छ । यसबाट पूर्वीय दर्शन र संस्कृतिको महत्वपूर्ण योगदान ध्यानको महत्वलाई माथि उठेको छ ।
अष्ट्रेलियन नागरिक बर्नीको भनाई ः दुइ फरक जोडीले आफ्नो २० वर्षे वैवाहिक सम्बन्ध तोड्छन् । एउटा जोडीले एकअर्कालाई आफ्नो २० वर्ष खेर फालिदिएको भन्दै आरोप लगाएर घृणा र पछुतोमा रुमलिन्छ । तर, त्यस्तै सम्बन्ध तोड्ने अर्को जोडी चाहि अहिलेसम्मको साथलाई एकअर्कालाई धन्यवाद दिँदै, बाँकी जिवन थप उर्जा र लगनका साथ जिउन तयार हुन्छ । बर्नीले मुस्कुराउँदै भन्नुभयो (तपाईले मेरो कुरा बुझ्न सक्नुहुन्छ ।” बर्नीले थप्नुभयो, “मानिस विगतलाई सम्झेर वर्तमानमा घृणा र दोष लिएर बाँचिरहेको हुन्छ । त्यहि कारण उ वर्तमानमा खुसी भएर बाच्न सक्दैन । विगतको छायाँबाट मुक्ती पाउनका लागि सबैभन्दा उत्तम उपाय भनेको ध्यान हो ।”
“अहिलेको यो कोलाहालमा ध्यान गर्नु सम्भव हुँदैन । सबै मानिससंग एकाग्र भएर ध्यान गर्न सक्ने क्षमता पनि हुँदैन । त्यसैले नेपाल यस्तो ठाउँ हो जहाँ डाँडापाखा र हिमालको काखमा हिँडेरै ध्यान गर्न सकिन्छ । नेपाल ध्यान केन्द्र हो, जहाँ गएर मानिसले विगतको उतार–चढाव बिर्सिएर वर्तमानमा आफुलाई पाउनेछ । जब मानिसले वर्तमानमा जिउन सिक्छ, बल्ल उसले प्रेमको अर्थ बुझ्छ । जब मानिसले प्रेमको अनुभव गर्छ, तब उसले सबैलाई समान र मायाको दृष्टी हेर्छ अनि शान्तिको अनुभव गर्छ ।”
त्यसैले नेपालको पाखा र हिमालको काखले दिने आनन्द अन्त कतै पाइँदैन । त्यहि प्रेम र वर्तमानमा जिउन आफु हरेक वर्ष हिमालको काखमा जाने र अरुलाई पनि त्यहाँ जान उत्साहीत गर्दै आएको बर्नीको भनाई छ ।
के हो त ध्यानः
योग, ध्यान, चेतन मनको एक प्रक्रिया हो, जसमा व्यक्ति ले आफ्नो चेतना बाह्य जगतको कुनै एक विशेष कुरा वा मन्त्रादीमा केन्द्रित गर्छ । अर्थात कुनै एक विचार वा छवीमा मनलाई निरन्तर स्थीर गर्ने कार्यलाई ध्यान भनिन्छ । ध्यान यस युगको बहुचर्चित शब्द हो । यस सम्बन्धी मानिसहरुका आ–आफ्ना धारणाहरु छन् । विभिन्न खाले धर्म सम्प्रदायहरुले पनि आ–आफना मान्यता, सिद्धान्त, विश्वास अनुसार ध्यानको परिभाषा गर्ने गरेका छन् । एक ध्यान केन्द्र या सम्प्रदायले अर्को ध्यान केन्द्रको विरोध गरिरहेको र आफ्नो ध्यानलाई मात्र ध्यान र अन्यको ध्यानलाई हिन, कमसल, नादान इत्यादि भन्ने गरेको पनि पाइन्छ । यस्ता केन्द्र सयौंको संख्यामा भेटिन्छन् । कसैले ध्यानलाई आफ्ना इष्टदेवको स्मरणको रुपमा परिभाषित गर्छन् भने कसैले अन्य प्रतिकमा एकाग्रता अभ्यास गर्ने कुरालाई जोड दिन्छन् ।
कसैले नृत्यलाई ध्यान भनेका छन् भने कसैले मूर्ति वा फोटो अगाडि धुप बाली सघन मनका साथ बस्नुलाई ध्यान भनेका छन् । आचार्यश्री पथिक भन्नु हुन्छ “जब कुनै दर्शन, अध्यात्म, राजनीतिक ज्ञान, अर्थशास्त्र या कुनै पनि विद्या या क्षेत्र नै किन नहुन, यदि विज्ञानलाई छोडेर जान्छन् भने ती क्षेत्रमा विभिन्न खालका मत, मान्यता, सिद्धान्त र सम्प्रदायहरु खडा हुन्छन्, जसले सत्यको परिपूर्ण व्याख्या गर्न सक्दैनन् । अनि त्यहाँ थुप्रै मतभेद सिर्जना हुन्छ, कलह सिर्जना हुन्छ, एक आपसमा अस्तित्वको संघर्ष शुरु हुन्छ ।” जसरी गणित र बाह्य विज्ञानको क्षेत्रमा, भौतिक विज्ञानका क्षेत्रमा भएका ज्ञान तथा उपलब्धिहरुमा आम मानिसको एक मत छ, त्यो त्यसभित्रको विज्ञानलाई स्वीकार्नुका कारणले भएको हो ।
आचार्यश्री पथिक भन्नु हुन्छ “ध्यानमा यदि विज्ञान जोडिन्छ भने यसले ध्यान सम्बन्धी चलेका सबै खाले बिखण्डनकारी मान्यता तथा भ्रमहरुलाई निर्मुल गर्नुका साथै सबै मनुष्यलाई स्वास्थ्य, शान्ति, प्रेम, सद्भाव र आनन्द प्रदान गर्नेछन् र मनुष्य जीवनको गरिमा प्रदान गर्ने छन् ।” थाहा पाउनु होस् जागृत हुनु, जानकारीमा आउनु, सचेत हुने क्रियाकलापबाट ध्यान शुरु हुन्छ । ध्यान शब्दलाई विश्लेषण गर्दा यसको अर्थ लाग्छ थाहा पाउनु या होश पुर्याउनु, देख्नु, निरिक्षण गर्नु इत्यादिलाई बुझाउँछ ।
यसलाई दुई आयामबाट व्यक्त गर्न सकिन्छ । १) वस्तुगत सचेतता जब हामी बाह्य जगतमा घटेका घटनाहरुको बारेमा थाहा पाउँछौं, वस्तुको प्रकृति, स्वभाव, अवस्थिति इत्यादिको बारेमा थाहा पाउँछौं, त्यसलाई वस्तुगत सचेतता भनिन्छ । उदाहरणको लागि गाडिहरुको गतिविधि तथा आवाज, मानिसहरुको क्रियाकलाप, बोटविरुवा, पशुपंक्षी इत्यादिका क्रियाकलापको निरपेक्ष निरिक्षण । २) आत्मगत सचेतता जब व्यक्तिले आफ्नो शरीरदेखि भित्र मन, विचार, श्वासप्रश्वास प्रक्रिया लगायतका गतिविधिहरुको बारेमा सचेततापूर्वक थाहा पाउँछ, त्यसलाई आत्मगत सचेतता भनिन्छ । यो स्वयम् पनि निरपेक्ष निरीक्षण हो ।
एक ध्यानी व्यक्तिले विशेषगरी आफ्नो चित्तमा चलेका अनेक प्रकारका रीपुहरु मार्न सचेत तथा जागरुक हुन्छ । पतञ्जली भन्नुहुन्छ, “प्रत्याहार सिद्ध गरेर नै ध्यानमा प्रवेश गर्न सकिन्छ । प्रत्याहार सिद्ध गर्नु भनेको चित्तका वृत्तिहरु पूर्णरुपले निरोध भई इन्द्रियहरु सांसारिक रसबाट मुक्त भएको अवस्था हो ।” गोरखनाथ भन्नुहुन्छ, “हाँस्दै खेल्दै ध्यान गर, दिन रात ब्रह्ममा विचरण गर ।” श्रीकृष्ण र अष्टावक्र भन्नुहुन्छ, “निर्विषय चेतनाको अवस्थामा ध्यान घटित हुन्छ । अष्टावक्र गीताका अनुसार विषयहरुमा जबसम्म रस रहन्छ तबसम्म ध्यान (मुक्ति) त्यस व्यक्तिसित निरस रहन्छ ।” विषय वासना, काम, फलाकांक्षा र व्यवसायसित खेलेर ध्यानको गहनतालाई अनुभवमा ल्याउन सकिंदैन । आचार्यश्री पथिक भन्नुहुन्छ, “ध्यान भनेको अमनि दशा हो । स्वयम् र वस्तुस्थिति प्रतिको जागरुकता हो । यो न त एकाग्रता हो, न धारणा नै । एकाग्रतामा मन एकाग्र हुन्छ भने धारणामा मन एकोहोरो हुन्छ । ध्यानमा मन हराउँछ । ध्यान स्वयंतिर फर्कने यात्रा हो । ध्यानमा सबै बाह्य वृित्तहरु छुट्छन् तर जागरणको सघनता रहिरन्छ ।” ध्यान गुरुको आवश्यक्ता पढाइ–लेखाइ तथा जीवनको सामान्य क्रियाकलाप सञ्चालन गर्नलाई गाइड चाहिन्छ भने ध्यान जस्तो मनुष्यलाई अन्तिम खजाना उपलब्ध गराउने आयाममा गुरुको अपरिहार्यता गहिरो छ । यसलाई नजरअन्दाज गर्न सकिँदैन ।
गुरुको निर्देशन, निरिक्षणको अभावमा गरिएका ध्यान साधनाबाट थुप्रै ध्याताहरु अल्मलिएको, भड्किएको तथा कतै फसेको पाइन्छ । यसरी भड्किनु, अड्किनु र फस्नुको कठिनाईलाई पार गर्नका लागि एक कुशल गुरु जसले ध्यानको गुढतम रहस्यलाई खोलिदिन्छ, उसको पछि लाग्नु नितान्त श्रेयष्कर छ । सामान्य मनोरञ्जन पूर्ण तथा सामान्य स्वास्थ्य आर्जनका लागि पुस्तकमा लेखिएका ध्यान विधिले गाइड गर्न सकेपनि ध्यानका लाभ प्राप्तिका लागि युग युगदेखि नै एक जीवन्त गुरुको आवश्यकताको महिमा गाइएको छ । आजको मान्छेले सामना गरेका समस्याहरु चाहे स्वास्थ्यको क्षेत्रमा होस्, शिक्षाको क्षेत्रमा होस् अथवा सामाजिक वा अन्य कुनै क्षेत्रमा किन नहोस्, ती सबैको समाधानका लागि एक नव मानवको आवश्यकता छ, जो प्रेम र सद्भावले भरिएको होस्, जसमा निष्काम सेवाभाव पलाएको होस्, संस्कार, संस्कृतिको चपेटामा नपरी उम्किएको होस्, जो भ्रष्टाचार र अन्य अमानवीय कार्यबाट मुक्त भई आफु वरिपरीको वातावरणलाई स्वच्छता दिन सकोस् । यस खालको नवमानव जसले युग अनुसारको प्रविधि, विज्ञानलाई आत्मसाथ गरोस् र उच्चतम आध्यात्मिक चैतन्यले युक्त होस्, जसले घर, परिवार, अफिस लगायतका क्षेत्रहरुमा सन्तुलन ल्याउन सकोस्, त्यस व्यक्तिको सृजना गर्नका लागि ध्यान एक आवश्यकता मात्र होइन, अपरिहार्य विषय हो । ध्यानलाई नितान्त नयाँ ढाँचाबाट अवलम्वन गरी जीवनको एक अभिन्न अंग बनाउन आवश्यक छ । यसलाई जडसुत्रीय चिन्तन तथा अन्धपरम्पराबाट मुक्त गरी एक वैज्ञानिक आयाम दिइनु जरुरी छ ।
भगवान शिवलाई पहिलो ध्यान गुरु मानिन्छ, त्यसपछि भगवान वुद्ध, गोरखनाथ र ओशोलाई ध्यानको गुरु मानिन्छ । भगवान शिवले दिनुभएको ११२ वटा ध्यान विधि र संसारमा चलेका थुप्प्रै ध्यान विधिहरुलाई संकलन र परिमार्जन गरी ओशोले ११२ वटा भन्दा बढि ध्यान विधिहरु दिनु भएको छ । ओशोको सक्रिय अर्थात डाईनामिक ध्यान विधि अहिलेको कोलाहल वातावरणका लागि महत्वपूर्ण ध्यान विधि मानिन्छ ।
ओशोको सक्रिय ध्यानः आचार्य रजनीश अर्थात ओशोबाट प्रतिपादित सक्रिय ध्यान सबैभन्दा प्रभावकारी र शिध्र शान्तिको महसुस गराउने ध्यान विधि हो । संसारका धेरै देशहरुमा यो ध्यान विधि गर्ने गरिएको पाइन्छ । धेरै आश्रम तथा ध्यान केन्द्रहरुमा यो विधि सिकाइन्छ । नेपालमा मात्र ओशोका १० भन्दा बढी ध्यान आश्रमहरु र सय भन्दा बढी ध्यान केन्द्रहरु खुलेका छन् । अन्य धार्मिक संघसंस्था तथा ध्यान केन्द्रहरुले ओशोको यस ध्यान विधिलाई केही तोडमोड गरी, केही फेरवदल गरी आफ्नो खुशी नाम दिएको पाइन्छ । यो ध्यान विधि ५ चरणमा गर्ने गरिन्छ । हरेक चरण १०–१० मिनेट हुन्छ, उठेर गरिन्छ र ध्यान विधि भरी आँखा बन्द हुन्छ ।
१. शरिर शुद्धि अर्थात महा भास्रिकाः पहिलो चरणमा भास्रीका प्रणायाम गरिन्छ । नाकबाट गहिरो र तेज गतिमा श्वास बाहिर फालिन्छ । यसले शरीर शुद्ध गर्न सहयोग गर्दछ । शरीरभित्र रहेको कार्वनडाइअक्साईडलाई बाहिर निकाल्ने र शरीर भित्र प्राण वायु अक्सिजन भर्न सहयोग गर्दछ ।
२. मन शुद्धि अर्थात भाव रेचनः यस चरणमा चिल्लाउने, कराउने, उफ्रने, कुदने, शरीर हल्लाउने आदि गरिन्छ । यस प्रक्रियामा मन भित्र रहेका वेकार, कुण्ठा, रिस, घमण्डलाई बाहिर निकाल्ने प्रयास गरिन्छ । मन शुद्ध गर्ने प्रभावकारी विधि हो यो चरण ।
३. ध्यानको जागरण अर्थात कुण्डली जागरणः हु मन्त्र उच्चारणः यस चरणमा हु हु आवास निकाली हात आकाशतर्पm फर्काउँदै जम्प, उफ्रने गर्ने गरिन्छ । यसबाट शरीरमा उर्जा जागृत हुन्छ ।
४. स्टप ध्यान ः यस चरणमा स्थीर भएर साक्षीभाव सहित भित्र शारीरिक अवस्थालाई महसुस गरिन्छ । यसबाट शरीरमा जागृत भएको उर्जालाई संग्रहित गर्ने कार्यमा सहयोग पुग्दछ ।
५.उत्सव ः यस चरणमा म्युजिकको लयमा झुम्ने, नाच्ने, उत्सव गर्ने गरिन्छ । माथिल्लो चरणहरुबाट प्राप्त भएको शान्ति र खुशीलाई अहोभावका साथ जगतमा बाँड्ने कार्य गरिन्छ । त्यसपछि १५ मिनेट सुतेर विश्राम गरिन्छ । यस ध्यान विधि म्युजिकको साथ गरिन्छ । यस ध्यानबाट शरीर शुद्ध, मन शुद्ध भई गहिरो ध्यानमा जान सहज हुन्छ । शरीर र मनलाई निरोगी बनाउन मद्दत गर्दछ । यो ध्यान समुह र जान्ने साधक या गुरुको समीपमा गर्नुपर्दछ । पछि सिकेपछि एक्ला एक्लै आफ्नो घरमा पनि गर्न सकिन्छ ।
कुण्डलिनी, नादव्रहं, चक्र साउण्ड, नियो विपश्यना, नो माइण्ड लगायत ओशोका अन्य महत्वपूर्ण ध्यान विधिहरु छन्, यसलाई नियमितरुपमा गर्ने हो भने मानिस पूर्णरुपमा स्वस्थ हुन सक्छ । ध्यान दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना । स्वस्थ्य रहौं मस्त रहौं र सबैले नियमित ध्यान गरौं ।
(अधिकारी हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)