मनहरी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि शिलान्यास गरिँदै ।

मनहरीः मकवानपुरको मनहरी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि शिलान्यास गरिएको छ । शनिबार एक समारोहका बीच संघीय सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रशासकीय भवन निर्माणको शिलान्यास गर्नुभएको हो ।

लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको मनहरी गाउँपालिकाले नयाँ प्रशासकीय भवन निर्माण थालेको हो । राष्ट्रिय वन क्षेत्रको जग्गाको स्वामित्व गाउँपालिका अन्तर्गत ल्याएर मनहरीले भवन निर्माण कार्य थालेको गाउँपालिकाका योजना महाशाखा प्रमुख राजेन्द्र भट्राईले जानकारी दिनुभयो । ६ कठ्ठा क्षेत्रफलमा ४२ वटा कोठासहित ३ तले सुविधा सम्पन्न भवन निर्माण गर्नेगरी मनहरीले ठेक्का सम्झौता गरेको उहाँले बताउनुभयो ।

प्रशासकीय भवन निर्माणका लागि तामाकोशी–ढाचा जेभी बालाजु काठमाडौंले निर्माणका लागि गत असोज १४ गते सम्झौता गरेको छ । ८ करोड २८ लाख ६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी काम सुरु गरिएको उक्त भवन निर्माण आगामी २०८२ चैत ३० गते सम्पन्न गर्नुपर्ने छ । उहाँका अनुसार उक्त भवन निर्माणका लागि शहरी विकास मन्त्रालयबाट ३० लाख रुपैयाँ प्राप्त भएको र अन्य रकम गाउँपालिकाबाट व्यहोर्नेगरी ठेक्का सम्झौता भएको छ । भवनका लागि मन्त्रालयबाट थप सहयोग प्राप्त हुने पालिकाको विश्वास छ । शिलान्यास कार्यक्रममा बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको पनि उपस्थिति रहेको थियो ।