उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह ।

मनहरीः उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले नागरिक लक्षित गरी प्रभावकारी रुपमा सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । मन्त्री सिंहले विकास निर्माणको कामलाई उपलब्धीमूलक बनाउन र समयमा नै काम सम्पन्न गरी नागरिकहरुलाई सहजता प्रदान गर्नुपर्ने बताउनुभयो ।

शनिबार मकवानपुरको विभिन्न कार्यक्रममा सहभागी हुनुभएका उपप्रधानमन्त्री सिंहले तीन तहको सरकारले नागरिकको अवस्था सुधार गर्नेगरी योजनावद्ध रुपमा काम गरिरहेको बताउनुभयो । २ ठुला दलहरुको गठबन्धनको सरकारले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गरेको र उक्त सरकारले सर्वांगिण विकासको काम अघि बढाएको उहाँको भनाई छ ।

उहाँले तीन तहको सरकारको समन्वयमा विकास निर्माण तथा आर्थिक समृद्धिको कामलाई तिव्रता दिन जरुरी रहेको बताउनुभयो । पछिल्लो समय मुलुकमा विकास नभएको भन्ने भाष्यमा सत्यता नभएको उहाँको जीकिर गर्नुभयो । उपप्रधानमन्त्री सिंहका अनुसार २०४६ सालपछिको राजनीतिक परिवर्तनसँगै मुलुकमा विकासको कार्य अगाडि बढेको छ ।

उपप्रधानमन्त्री सिंहले चन्द्रागिरी–चित्लाङ सडकको अवलोकन पनि गर्नुभएको थियो । उक्त सडक उहाँका बुबा गणेशमान सिंहले शिलान्यास गर्नुभएको थियो । उहाँले थाहा नगरपालिकामा कार्यकताहरुसँग भेटघाट तथा छलफल गर्नुभएको थियो भने मनहरी गाउँपालिकास्थित मनहरी बजारमा नेपाली काँग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँको सम्पर्क सचिवालयको उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रम पश्चात उपप्रधानमन्त्री सिंहले मनहरी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास समेत गर्नुभएको छ ।