समाज रुपान्तरण सँगै आवश्यकताले ल्याएको परिवर्तन बाहेक नेपाली खेलकुद क्षेत्रमा सुधार हुन सकेको छैन । विश्वको खेल क्षेत्र सँगै उन्नत गतिमा आफुलाई परिमार्जन नगर्दासम्म नेपाली खेलकुद सधैं पछाडी नै परिरहने छ । खेलकुदमा लगानी गर्नु बालुवामा पानी खन्याए झैं सम्झने प्रवृत्तीले नेपाली खेलक्षेत्र अगाडि बढ्न सक्दैन । निरन्तर अभ्यासका लागि आवश्यक पर्ने पूर्वाधार व्यवस्थापन आवश्यक छ । यसका लागि ठूलो धनराशी खाँचो पर्दछ । तर त्यो लगानीले तत्काल परिणाम दिन सक्दैन । त्यसैले राज्यले लगानीलाई अनुत्पादक ठान्ने गरेको छ । तर आजको लगानीले कालान्तरमा प्रतिफल दिने प्रतिक्षा गर्न सक्नु पर्दछ ।
यस्तै खेलाडीको क्षमताको परिक्षणका लागि निरन्तर प्रतियोगिता आवश्यक हुन्छ । तर प्रतियोगिताका लागि हुने खर्चबाट पनि तत्काल नतिजा खोजी गर्दा खेलकुद क्षेत्रले सोँचे अनुसारको प्रगति गर्न सकिरहेको छैन ।
नेपाली खेलाडीका लागि खुल्ला आकाश मुनी खाली खुट्टाले अभ्यास गर्नु स्वभाविक प्रक्रिया जस्तो छ । निरन्तर अभ्यासले मात्र खेलाडीको क्षमता अभिवृद्धि हन्छ । यसका लागि सुविधायुक्त पूर्वाधारदेखि खेलकुद सामग्री तथा उचित पोषणको व्यवस्था गर्नु खेलकुद क्षेत्रको जिम्मेवारी हो । पूर्वाधारले खेलाडीहरुमा प्रशिक्षणका लागि उत्सुकता बढ्ने छ । तर अति सामान्य पूर्वाधार समेत निर्माण हुन सकेका छैनन् । कहिँ कतै बनेका पनि संरक्षण र मर्मतको पखाईमा छन् । बेला बेला हुने राष्ट्रिय प्रतियोगिताका लागि बनेका पूर्वाधार समेत खण्डहर बनेका खबर सार्वजनिक भएका छन् । निर्माण भन्दा त्यसको संरक्षण महत्वपूर्ण पक्ष हो । तर पूर्वाधारको उपयोग र संरक्षणको जिम्मेवारी पाएका निकायहरुले उचित ध्यान दिन सकेको अवस्था छैन ।
देशका लागि महत्वपूर्ण योगदान गर्ने धेरै खेलाडी मकवानपुरले उत्पादन गर्दै आएको देखिन्छ । आज पनि विभिन्न खेलका राष्ट्रिय टिममा मकवानपुरका दर्जन बढी खेलाडी छन् । यी खेलाडीले सुविधायुक्त खेलस्थलमा अभ्यास गर्न पाएका होईनन् । हेटौंडाको हुप्रचौरमा आफ्नो क्षमता विकास गरेका खेलाडीहरु आज देशका गौरव बनेका छन् । तर त्यही मैदान आज संरक्षण हुन सकेको छैन । एउटा चौरमा धेरै खेल विधाका खेलाडीहरुले अभ्यास गर्नुपर्ने अवस्था हो । तर कोभिड–१९ लाई रोकथाम र संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले गरेको लकडाउन पछि हुप्रचौर झाडीमय भएको छ । खेलाडीहरुको उपस्थिति हुन छोडेपछि चौर बेवारिसे जस्तै भएको छ । खेल्ने मुख्य स्थानमा बुट्यान बढेको छ ।
मकवानपुरमा बन्दै गरेका पूर्वाधारहरु पनि व्यवस्थित हुन सकेका छैनन् । हेटौंडा उपमहानगरपालिकाले बनाएको बहुउद्देश्यीय कभर्डहल पूर्ण हुन सकेको छैन । यता राष्ट्रिय खेलकुद परिषद्को स्वामित्वमा रहेको राष्ट्रिय गौरवको आयोजना भनिएको गौरिटारको स्पोर्ट्स एकेडेमी धिमा गतिमा छ । बागमती प्रदेशले बनाउँदै गरेको फुटबल मैदान पनि अझै अपुरो छ । पिप्लेको बक्सिङ हलले केही गति लिएको भए पनि कर्रामा बनाउने भनिएको तेक्वान्दो हल जमिन मुनी नै छ ।
यस्तै अन्य विभिन्न पूर्वाधारहरुले पनि पूर्णता पाउन सकेका छैनन् । बागमती प्रदेशको राजधानीको आकर्षक केन्द्रका रुपमा रहनु पर्ने हुप्रचौरको संरक्षणमा स्थानीय तहदेखि खेलक्षेत्रको ध्यान आकर्षित हुनै पर्दछ । खेल संरचना बनाउन खोज्दा अवरोध गर्ने समूह समेत चौरको विजोगमै रमाएको भान भएको छ ।