चौतर्फी घोर तम व्याप्त भएछ आज ।
कामान्ध क्रूर अति स्वार्थी बन्यो समाज ।।
सुत्नु हुँदैन अब व्यूँझ भयो अबेर ।
व्यर्थै अमूल्य नरजीवन जान्छ खेर ।।१।।
तोडेर बन्धनहरु अब उठ्नु पर्छ ।
लागेर कर्मपथमा सब जुट्नु पर्छ ।।
सद्भावयुक्त रहू आफू बनी उदार ।
संकीर्ण त्यो हृदयलाई फुकाउ धेर ।।२।।
सेवा र प्रेम दुई हात लिएर आऊ ।
उद्देश्यपूर्ण सही मार्ग सफा समाऊ ।।
बन्दै अजेय पुरुषार्थी बढाउ मात्रा ।
संघर्षपूर्ण अविराम छ हेर यात्रा ।।३।।
आफू स्वयं बन दीपक मार्ग आफ्नै ।
भण्डार खोज सब ज्ञान छ आफुमा नै ।।
आलोकयुक्त बन सत्य बुझेर जान ।
यो जिन्दगी छ बहुमूल्य भनेर मान ।।४।।
लोकोपकारी गुणी व्यक्ति गुरु समान ।
जानेर केही सिक धेर लिएर ज्ञान ।।
पूर्वाग्रही र अभिमान सबै हटाऊ ।
उन्मुक्त भाव लिई पङ्ख सदा फिँजाऊ ।।५।।