मसान उपासक

आदरणीय सर
आफैले पढाएको विद्यार्थी
आफ्नै प्रश्नमा फेल हुँदा
गर्वले किन नाक फुलाउनु हुन्छ हँ ?

जीवनको उकालो चढिरहेको म
कोरा दर्शनमा उत्तीर्ण हुन सकिन र
निरन्तर अनुत्तीर्ण हुनेको सुचिमा छु ।
भाडाचुलोमा पोख्त छु अरुभन्दा
घरमा बाआमालाई सघाउनु धर्म भन्ठान्छु
जिन्दगीको ह्रस्व दीर्घ मिलाउँदा मिलाउँदै
तपाईंको प्रश्नको जवाफमा बिग्रियो त के
तपाईंले पढाएको सबै याद छ अहिले पनि
भन्नुस् किन अनुत्तीर्ण हुनेको सुचिमा छु ?

तपाईंले सोधेको प्रश्नमा उत्तर दिन खोज्दा
मेरा ओँठ कापेको सत्य हुन्
म बोल्न डराएको पनि सहि हो

यी गाला राता भए होलान् लाजले
यद्यपि तपाईले त बुझ्नुपर्ने मेरो पीडा
म कसरी पढेँ,बँढे र हुर्के आजसम्म
र पनि तपाईंको विषयमा किन
सधैं म कम प्राप्तांक पाउँछु ?

जीवनको अभिशप्त सपनाहरुको
मलामी गएर फर्किएको भोलिपल्ट
कक्षामा कसरी ध्यान दिएर पढ्न सक्छु
साहु बाको गिद्देदृष्टि छलेर हिँडिरहेको म
कसरी ईतिहासमा अब्बल ठहरिनु
घरमा त आमाले पढाउनुहुन्छ सधैं
कबाट कसेर खबाट खरपाखो ।

मलाई सबै थाहा छ
कुन पाहुनासँग के बोल्नुपर्छ
कतिखेर के पकाउनु छ घरमा
मेरो घरको भैंसीले कस्तो घाँस खान्छ
या सानो बिरालो किन लुटुपुटु गर्छ मसँग
र पनि म सधैं फेल हुन्छु ।
बिन्ति अब त भन्नुस् मलाई
म जीवनको परीक्षामा फेल भएँ कि
खाली तपाईंको प्रश्नमा ?

म जुनेलि माया प्रजा
उमेर १३ वर्ष
बाआमाको पाँचौं सन्तान
र कक्षाको अन्तिम बेन्चको विद्यार्थी
तर मलाई
जीवनका हरेक परीक्षामा पास हुनु छ ।

बकैया–४, मकवानपुर