हेटौंडाः हेटौंडा–४ नम्बर वडा कार्यालयले हेटौंडामा योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष मुकुन्द न्यौपानेको अध्यक्षता तथा नेपाल टे«ड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै महासंघ अध्यक्ष श्रेष्ठले ५ लाख बढी श्रमजीवीमा मुस्किलले १ लाख जनामात्र योगदानमा आधारित सामाजिक सुरक्षामा जोडिएको बताउनुभयो । शोषण र ठग्न पल्केकाले उक्त कार्यक्रम कार्यान्वयनमा अटेर गर्दै आइरहेको उहाँले आरोप लगाउनुभयो । जसले गर्दा नीति तथा कानुनमा उल्लेख गरिए पनि कार्यान्वयनमा फितलो रहेको उल्लेख गर्नुभयो ।
हेटौंडा–४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले सामाजिक सुरक्षा कोष सरकारको कार्यक्रम रहेको जानकारी दिनुहुँदै उक्त कार्यक्रमका लागि वडाले बजेट विनियोजन गरेको बताउनुभयो । सरकारले पैसा लिन पाउँदैन भनिरहेको अवस्थामा विद्यालयले विभिन्न बहानामा सहयोग शुल्कको नाममा विद्यार्थीसँग शुल्क असुलिरहेको दावी गर्नुभयो । सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक कृष्ण अधिकारीले सामाजिक सुरक्षा कोष संवैधानिक प्रतिबद्धता र राज्यको अपरिहार्यता रहेको बताउनुभयो ।