विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसँग अन्तरक्रियामा सहभागीहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विद्यालयका प्रधानाध्यापकहरुलाई विद्यालय सञ्चालनको ढाचा पेश गर्न निर्देशन दिनुभएको छ । नगरका सबै विद्यालयका प्रधानाध्यापकहरुलाई आफ्ना विद्यालय के कसरी सञ्चालन गर्न सकिन्छ भनेर योजना प्रस्तुत गर्न निर्देशन दिनुभएको हो । नगरस्तरीय शैक्षिक समन्वय समितिको समन्वयमा बुधबार नगरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको भेला लाई सम्बोधन गर्नुहुदै मेयर महतले प्रधानाध्यापकहरुलाई आफ्ना योजना बनाएर उपमहानगरपालिकामा पेश गर्न र अभिभावक भेला गराएर अभिभावकको मतका आधारमा विद्यालयमा नियमित पठनपाठन सुचारु गर्न निर्देशन दिनुभएको छ ।

देशमा तीन तहको सरकार भएको र स्थानीय तह स्वायत्त सरकार भएकोले नियमित पठनपाठन सञ्चालनका लागि प्रधानाध्यापकहरुले उपयुक्त योजना बनाउनुपर्ने मेयर महतको भनाइ छ । केही दिनमै नगरभित्रका विद्यालयमा सञ्चालित क्वारेन्टिन खाली गराएर डिस्इन्फेक्सन गराइने पनि उहाले बताउनुभयो । “संघीय सरकारले भर्ना गर भनेको पठनपाठन पनि सुचारु गर भनेको हो”, मेयर महतले भन्नुभयो, “यो कोरोना कहिले भाग्दैन । अभिभावकको पनि सुझाव लिएर विद्यालयमा कक्षा चलाऔं ।” मेयर महतले जनप्रतिनिधि राजनीतिक व्यक्ति भएकाले शिक्षकले नै शिक्षामा के गर्नुपर्छ भनेर सुझाव दिनुका साथै काममा नेतृत्व लिन पनि आग्रह गर्नुभयो । उपमहानगरको शिक्षा महाशाखाका प्रमुखले डेढ वर्षको अवधिमा पनि उल्लेखनीय काम गर्न नसकेकोले महाशाखाका प्रमुखलाई मन्त्रालयमै फिर्ता पठाइदिएको उहाँले बताउनुभयो ।

३ बजेका लागि कार्यक्रम तय गरिएकोले प्रदेश सरकारको प्राथमिकताको कार्यक्रम छाडेर आउँदा शिक्ष्कहरु साढे ३ बजेसम्म भेला नभएको भन्दै मेयर महतले दुख व्यक्त गर्नुभयो । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाका अध्यक्ष सागरप्रसाद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख लिलानाथ गौतमले संकटका बेला शिक्षकले सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गर्नुपर्नेतर्फ स्थानीय सरकार र विद्यालयका प्रधानाध्यापकहरुलाई ध्यानाकर्षण गराउनुभएको छ । शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जीधराज ढकालले वडा शिक्षा समिति सक्रिय हुनुपर्ने उल्लेख गर्नुहुँदै कार्यतालिका बनाएर नगरको शैक्षिक सुधारमा काम गर्नु पर्ने बताउनुभयो ।