हेटौँडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्त्री तथा प्रसुती विभागका २ सिटमा स्नात्तकोत्तर तहको विशेषज्ञ स्वास्थ्य शिक्षा (पीजी) अध्ययन गराउने भएको छ । चिकित्सा शिक्षा आयोगले तोकेको सिट अनुसार प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालमा स्त्री तथा प्रसुती विभागको २ सिटमा पीजी अध्यापन गराउने भएको हो ।
बागमती प्रदेश सरकारको लगानीमा चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई हेटौँडा अस्पतालमा स्त्री तथा प्रसुती विभागको २ सहित अन्य विभिन्न विभागका ८ सिट विशेषज्ञ स्वास्थ्य शिक्षा पढाउने भएको प्रतिष्ठानका सूचना अधिकारी अमर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठानका लागि आयोगले स्त्री तथा प्रसुती विभागका २ र फिजिसियन, सर्जरी विभाग, बाल स्वास्थ्य विभाग, हाडजोर्नी तथा नशा स्वास्थ्य विभाग, फेमिली फिजिसियन, एनेस्थियोलोजीका १/१ सिटमा अध्यापन गराउने गरी अनुमती प्राप्त भएको हो ।
पीजी कक्षा सञ्चालन गर्दा अस्पतालको स्वास्थ्य सेवाको गुणस्तर सुधार हुनु साथै विद्यार्थीले नवीनतम चिकित्सा ज्ञान तथा प्रविधिको प्रयोग गरेर उपचार प्रक्रियालाई प्रभावकारी बनाउन मद्दत गर्ने उनको भनाई छ । विशेषज्ञ चिकित्सा सेवाहरू विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । पीजी कक्षा संञ्चालनबाट विशेषज्ञ चिकित्सकहरुको निगरानीमा विद्यार्थीहरु रहने र सेवा थप व्यवस्थित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पीजी अध्यापन मार्फत् बिरामीहरुको उपचारमा सुधार ल्याउनुको साथै प्रशिक्षित चिकित्सकहरुमा दक्षता र अनुभव वृद्धि हुने उहाँले बताउनुभयो । विद्यार्थीहरुले तिर्ने शुल्कबाट अस्पतालको आम्दानी बढ्ने र विशेषज्ञ सेवाहरु मार्फत् बिरामीहरुको उपस्थिति बढ्ने उहाँले बताउनुभयो । विद्यार्थीसँगको सहकार्यमा अस्पतालले नयाँ विशेषज्ञ सेवा तथा विभागहरु खोल्न सहयोग पुग्ने अधिकारीले बताउनुभयो ।