हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले हेटौंडामा सञ्चालन हुन लागेको पुनर्नवा अस्पतालको निरिक्षण गर्नुभएको छ । ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्वारा हेटौंडा–४ स्थित सञ्चालनको तयारीमा रहेको अस्पतालको प्रमुख खुलालले शुक्रबार निरिक्षण गर्नुभएको हो ।सञ्चालनको तयारी रहेको अस्पतालको सेवा सुविधालगायत समग्र व्यवस्थापनका विष्यामा उहाले जानकारी समेत लिनुभएको छ ।

प्रतिष्ठानले गर्ने प्राकृतिक उपचार, गुरुकुल शिक्षा, औषधि वृक्षरोपण तथा स्वच्छ खाद्यान्न लगायतका विषयमा काम गर्ने क्रममा प्राकृतिक उपचार केन्द्र (पुनर्नवा अस्पताल) सञ्चालन गर्न थालेको हो । अस्पतालमा आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्दतिबाट उपचार गरिने बताईएको छ । ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानले गर्ने काम र अस्पतालका बारेमा प्रतिष्ठानका अध्यक्ष ललित बस्नेतले जानकारी दिनुभएको थियो । उहाले प्रतिष्ठानले चार विधामा रहेर काम गर्ने र यसले बागमती प्रदेशलाई नै केन्द्र मानेर काम गर्ने बताउनुभयो ।

उहाले आयुर्वेद प्रतिको मनस्थितिमा परिवर्तन ल्याउन तथा आयुर्वेद तथा प्राकृतिक चिकित्साका उत्थानमा संस्थाले काम गर्ने बताउनुभयो । पहिलो चरणमा अस्पताल सञ्चालन हुन लागेको बताउँदै उहाँले अन्य विषयमा समेत काम अगाडि बढेको बताउनुभयो । अस्पतालले अहिले सुरुवाती चरणमा मसाज, स्टिम वाथ, अकुपञ्चर, अकुप्रेसर, फिजियो थेरापी, अल्ट्रा साउण्ड, एनिमालगायत उपचार विधि सुरु गर्न लागेको अस्पताल व्यवस्थापक समितिका अध्यक्ष मनोज सुवेदीले जानकारी दिनुभएको छ ।