निर्वाचन आयोगले २०८१ साल मंसीर १६ गतेका लागि घोषणा गरेको स्थानीय तहको उपनिर्वाचनअन्तर्गत बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । उपनिर्वाचनअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा पनि वडा अध्यक्षको निर्वाचन हुँदैछ । मकवानपुर जिल्लाको १० वटा पालिकाका १ सय २ वटा वडा मध्ये एउटा मात्रै वडामा वडाअध्यक्षको निर्वाचन हुँदैछ । २०७९ सालको निर्वाचनमा वडा अध्यक्ष निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखको रुपमा निर्वाचित हुनुभएपछि रिक्त भएको वडाअध्यक्ष पदका लागि झण्डै अढाई वर्षपछि उपनिर्वाचन हुन लागेको हो । कार्यकालको आधा समय वडा सदस्य ज्ञानबहादुर श्रेष्ठले कार्यवाहक वडाध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । कार्यवाहक नभई जनमतका आधारमा नयाँ वडाध्यक्ष चयनको प्रक्रिया महत्वपूर्ण छ ।
निर्वाचनको घोषणालगत्तै प्रत्यक्ष, अप्रत्यक्ष निर्वाचनमा सहभागी दल, उम्मेदवार र तिनका सहयोगीले मतदातालाई आफ्नो पक्षमा पार्न विविध क्रियाकलाप गर्दै आएका छन् । वडामा एक हजार पाँच सय ८८ जना मतदाता थपिनु राजनीतिक दल, उम्मेद्वार र तिनका सहयोगीको सक्रियताको परिणाम हो । अझ उम्मेद्वारी दर्तापछि निर्वाचनमा होम्मिएको दल, उम्मेदवार र तिनका समर्थक, शुभेच्छुकले मतदातालाई आकर्षित गर्ने कार्यलाई तीव्रता दिएको छ । जिल्लाका १ सय २ वटा वडा मध्ये एउटा मात्रै वडामा निर्वाचन हुनुले सबैको ध्यान त्यहीँ पुगेको छ । चुनाव प्रचारप्रसारदेखि सरसहयोग पनि एउटै वडामा केन्द्रित छ । विशेषगरी देशका प्रमुख दलहरुलाई एउटा वडाध्यक्ष पद जित्दा या हार्दा कुनै ठूलो असर पर्ने त होइन । ठूला दललाई वडाअध्यक्ष जित्दा सिंगै जिल्ला जिते जस्तो, हार्दा सिंगै जिल्ला हारे जस्तो हुने मनस्थिति विकसित भएको छ ।
राजनीतिक दल र उम्मेदवारका लागि प्रतिष्ठाको विषय बनेको वडाअध्यक्षको निर्वाचन वडावासीका लागि भने निक्कै कठिन परिस्थिति बनेको छ । कार्यवाहक वडा अध्यक्षले पनि काम चलिरहेको वडामा निर्वाचित वडा अध्यक्ष आएर पनि कुनै ठूलो फरक पर्ने अवस्था छैन । कार्यकालको आधा अवधिमा वडावासीले ठूला भनिएका दलहरुबाट प्राप्त गर्नुपर्ने लाभ, सुविधा र विकासका प्रयासहरु देखेकै छन् । हाम्रो राजनीतिक संस्कार असल भइसकेको छैन । जनताका लागि ठूला दलहरुले राम्रो नियतले, अध्ययन, अनुसन्धान गरेर, फराकिलो दृष्टिकोण राखेर काम गरिदिएको थियो भने निर्वाचनको समयमा यत्तिधेरै घम्साघम्सी हुने थिएन होला । अझ भन्ने हो भने सामान्य समयमा नागरिकका लागि उपयुक्त काम गरेको भए निर्वाचनको बेला यसरी दलहरुले घम्साघम्सी गर्नुपर्ने अवस्था रहने थिएन ।
निर्वाचन लक्षित पछिल्लो २ साताको क्रियाकलापपछि मतदाताले अब उपयुक्त उम्मेदवार चयन गर्नका लागि आवश्यक शान्त वातावरणस्वरुप बिहीबार मध्यरातदेखि मौन अवधि कायम भएको हो । अब मतदाताले उपलब्ध उम्मेदवारमध्ये एकजनालाई चयन गर्नुपर्ने छ । राजनीतिक दल, दलसम्वद्ध उम्मेद्वारदेखि स्वतन्त्र उम्मेद्वारसम्मलाई नियालेर मतदाताले उपयुक्त उम्मेद्वार चयन गर्नुपर्नेछ । मौन अवधिमै मतदातालाई प्रभावित गर्न दलहरुले अनेकौं प्रलोभन देखाउने, खानपिनमा भुलाउने प्रयास पनि गर्न सक्छन् । सामान्यतः राजनीतिक दल, नेता, कार्यकर्ता, जनप्रतिनिधिले राम्रो काम गर्न सकेन भनेर आलोचना गर्ने हामी आम मतदाताले यो मौन अवधिमा भने जिम्मेवार भएर मत कसलाई दिने भनेर अठोट गर्ने समय हो ।
उपनिर्वाचन भएकाले मतदानमा सहभागी हुने मतदाताको संख्या समेत कम हुनेछ । त्यसैले जति संख्यामा उम्मेदवारले मतदान गर्ने हो उनीहरुले थप जिम्मेवारीवोध गर्नुपर्छ । वडाको मात्रै निर्वाचन भएकोले देश, विदेशमा रहने वडावासी मतदानका लागि नआउन सक्छन् । उनीहरु नआउँदा पनि राम्रो उम्मेद्वार चयन गर्ने जिम्मेवारी वडामै रहेर मतदान गर्ने सबै मतदाताको हुनेछ । अन्तिम समयमा हामी मतदाताको एक मतको महत्व बुझेका नेता, कार्यकर्ता, उम्मेद्वारको प्रलोभनमा नपरी २०७४ सालदेखि नै कुन दल, कुन व्यक्तिले वडा, पालिका, जिल्ला र भोलिका दिनमा प्रदेश र मुलुककै राजनीतिक, सामाजिक जीवनमा उल्लेखनीय योगदान गर्दै वडा र वडावासीको इज्जत बढाउन सक्छ त्यस्ता उम्मेद्वार चयन गरेर यो उपनिर्वाचनलाई अझ उपयोगी सावित गर्न, गराउन सम्पूर्ण मतदाता जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ । सम्पूर्ण मतदाता जिम्मेवार हुने अपेक्षासहित शान्त र सौहाद्र्धपूर्ण वातावरणमा उपनिर्वाचन सम्पन्न गर्न, गराउन आयोग, सरकार र राजनीतिक दल, उम्मेद्वार, मतदातामा अपील समेत गर्दछौं ।