श्रवण मुकारुङ ।

हेटौंडाः साहित्य संगम मकवानपुरको आयोजनामा कवि श्रवण मुकारुङका एकल कविता वाचन एवम् सांगीतिक साँझ हुने भएको छ । साहित्य संगम मकवानपुरको अक्षयकोष सहयोगार्थ आगामी मंसीर ७ गते कवि मुकारुङका एकल कविता एवम् सांगीतिक साँझ हुने भएको हो । यसअघि भदौ १ गते कार्यक्रम हुनेगरी मिति तय गरिए तापनि मुकारुङको स्वास्थ्य अवस्था ठीक नभएकोले स्थगित गरिएको थियो । साहित्य संगम मकवानपुरका सचिव मनोज पोखरेलले पछिल्लो समयमा मुकारुङको राई माइलाले गाउँ छाड्यो रे.. बोलको गीत चर्चित गीत बनेको बताउनुभयो । सांगीतिक साँझ हेटौंडा–४, स्थित हेटौंडा पार्टी प्यालेसमा हुनेछ ।

सांगीतिक साँझमा सहभागी हुनका लागि अक्षयकोषको सहयोगार्थ प्रतिव्यक्ति ५ सय रुपैयाँको दरले टिकटको व्यवस्था गरिएको सचिव पोखरेलले बताउनुभयो । नेपाली साहित्य जगतमा लोकप्रिय कवि तथा गीतकारको रुपमा परिचित मुकारुङको सर्वश्रेष्ठ गीतकार (रेडियो नेपाल, २०४७), राष्ट्रिय कविता महोत्सवमा द्वितीय (२०४८), राष्ट्रिय कविता महोत्सवमा प्रथम (२०५३), युवा स्रष्टा सम्मान (२०५६), रवीन्द्र गीत सम्मान (२०५६), मोहन रेग्मी स्मृति पुरस्कार (२०५९), युवा वर्ष मोती पुरस्कार (२०६०), समय सम्मान (२०६२), लोकेन्द्र साहित्य पुरस्कार (२०६२), जीवन स्मृति पुरस्कार (२०६३), शुभप्रभात काव्य सम्मान (२०६३), स्रष्टा सम्मान (२०६४), विशिष्ट सम्मान (सन् २००७) जस्ता सम्मान तथा पुरस्कारबाट सम्मानित स्रष्टा हुनुहुन्छ ।

उहाँको देश खोज्दै जाँदा (२०४९), जीवनको लय (कवितासङ्ग्रह, २०६०), हिउँको दरबार (गीतसङ्ग्रह, २०५३), यलम्बर (नाटक, २०५३), फूलको आवाज (२०५५), बिसे नगर्चीको बयान र अन्य कविता (भीसीडी, २०६३) आदि प्रकाशित भएको उहाँले बताउनुभयो । उहाँको हजुर हजुर ए हजुर, सुनकोशीको सुनको पानी, तिमी तारे भिर, बाटो हेरे हुन्छ आमा, माथी माथी सैलुङगेमा गीतहरु प्रकाशित रहेको उहाँले बताउनुभयो । कार्यक्रममा श्याम कुमार बानियाँ, अन्जन दहाल, सुनिता बुर्लाकोटी, रमेश गहतराज, लालकाजी परियार र बाल प्रतिभा भएको प्रसिद्धि लामिछानेको पनि सांगीतिक प्रस्तुती रहने छ ।