विगतका वर्षमा दशैंअघि हेटौंडा बजार क्षेत्रमा बजार अनुगमन हुने गरेको भए पनि यस वर्ष अनुगमन शून्यप्रायः छ । नेपाली बजार उपभोक्तामैत्री छैन । बजारमा व्यापारीको वर्चश्व छ । उपभोक्ताको हित तथा अधिकारलाई बजारले बुझेको छैन । व्यापारीले जे चाह्यो, बजारमा त्यही हुन्छ, जसलाई न्यूनीकरण गर्न समय–समयमा बजार अनुगमन हुनुपर्छ ।

विगतमा दशैं, तिहार, छठजस्ता मुख्य चाडपर्वलक्षित बजार अनुगमनले केही हदसम्म भए पनि समयमा बजारमा देखिने व्यापारीको मनोमानी कम गर्ने गरेको भए पनि यस वर्ष अनुगमनका कुनै खबर सार्वजनिक भएको छैन । हुन त बजारमा हुने अनियमितता र गैरकानुनी कार्य हुन नदिन र बजारलाई नियमन गर्न गरिने अनुगमनलाई कुनै विशेष अवसर वा चाडपर्व कुरिरहनु पर्दैन । परम्परागत शैलीमै भए पनि चाडपर्वलक्षित बजार अनुगमनसमेत हुन नसक्दा बजारमा उपभोक्ता ठगिने सम्भावना बढेको छ ।

नियमित र निरन्तर बजार अनुगमन गरेर उपभोक्ता तथा सेवाग्राहीको हितअनुकूल बजारलाई नियमन गर्नु सरकारको दायित्व हो । मुलुकमा तीन तहको सरकार हुँदा पनि नियमनकारी निकायले बजारको नियमनको लागि सक्रियता नदेखाउनुले आम उपभोक्ताले सरकार भएको अनुभूति गर्न पाएका छैनन् । बजारको नियमन गर्ने जिम्मेवारी पाएका निकायले वर्षैभरि चनाखो र जागरुक बनेर अनुगमन र कारबाही गर्नुपर्ने भए पनि विगतमा हुने गरेको चाडपर्वलक्षित अनुमगनसमेत हुन नसक्दा व्यवसायीको मनोमानी बढ्ने र उपभोक्ता आक्रान्त बन्ने निश्चित छ ।

दशैं, तिहारजस्ता चाडपर्वको समयमा सार्वजनिक सवारी साधन, माछामासु, खाद्यान्न, तरकारी, फलफूल, कपडा, मिठाइजस्ता वस्तु एवम् सेवामा व्यवसायीले चलखेल गर्ने गरेको पाइन्छ । व्यवसायीको यस्ता चलखेल र विकृति कम गर्न नियमित अनुगमन र प्रभावकारी कारबाही प्रक्रियालाई व्यापक बनाउनुपर्ने भए पनि अनुमगन शून्यप्रायः बन्नुलाई स्वभाविक मान्न सकिँदैन ।
दशैं सुरु भइसक्दा बजारमा किनमेल गर्नेहरुको भिड बढेको छ ।

बजारमा जताततै मानिस र सवारी साधनको लस्कर देखिन्छ । दशैंका लागि किनमेल गर्न बजारमा ग्रामीण क्षेत्रका उपभोक्ता बढी आउने गरेका छन् । अहिले बजारमा तरकारी, खाद्यान्नजस्ता दैनिक उपभोग्य सामग्रीको मूल्य निकै वृद्धि भएको छ । फलफूलको मूल्य पनि उस्तैगरी वृद्धि भएको छ । सबै वस्तुमा भइरहेको मूल्यवृद्धिले आम उपभोक्ता मारमा परिरहेका छन् । उपभोक्ताले दैनिक प्रयोग गर्ने वस्तुको मूल्यबृद्धिको मार सबैले महसुस गर्ने भए पनि सबैजसो वस्तुमा मूल्यवृद्धि भइरहेकै छ ।

अन्य समयमा भन्दा चाडपर्वको बेलामा बजारमा अव्यवस्था र विकृति बढ्छ नै । भिडभाडका कारण उपभोक्ताले सामान खरिदमा सबै कुरा ध्यान दिन नसक्ने र यस्तै समयमा गुणस्तरहिन, मिसावट भएका र म्याद गुज्रिएको वस्तु बिक्री गर्ने सम्भावना बढी हुने गर्दछ । उपभोक्ताको घुइँचो हुने भएकाले मूल्यमा पनि अस्वभाविक वृद्धि हुने गरेको छ । यस्ता व्यथिति रोक्नका लागि आवश्यक प्रभावकारी अनुगमनका लागि जिम्मेवार निकायले चासो देखाएको छैन ।

बजारमा उपभोक्ताको आवश्यक वस्तु तथा सेवाहरुको मौज्दात के छ ? व्यवसायीले कति मूल्यमा वस्तु तथा सेवा बिक्री गरिरहेका छन् ? पसलमा राख्नुपर्ने मूल्यसूचीको अवस्था कस्तो छ ? कुनै वस्तुको कृत्रिम अभाव सिर्जना भएका छन् कि छैनन् ? जस्ता प्रश्नको उत्तर खोजेर कालोबजारी नियन्त्रण गर्न अनुगमन गर्नैपर्छ ।

विगतमा मुख्य चाडपर्व नजिकिँदै जाँदा स्थानीय प्रशासन र नियमनकारी अन्य निकायले संयुक्तरुमा बजार अनुगमन गर्ने गरेको भए पनि यसवर्ष बजार अनुगमनको अत्तोपत्तो छैन । संघ, प्रदेश र स्थानीय सरकारका विभिन्न निकायले बजार अनुगमन गर्न सक्ने भए पनि अनुगमनको कुनै खबर पाइएको छैन । प्रभावकारी बजार अनुगमन गरेर कम गुणस्तरका, मिसावट भएका, म्याद गुज्रिएका र मूल्य तथा उपभोग्य मिति उल्लेख नगरिएका सामग्री बरामद गरिनुपर्छ ।

यस्ता वस्तु बिक्री गर्ने बिक्रेतालाई कारबाही गरिनुपर्छ । कृत्रिम अभाव सृजना गर्ने र बढि मूल्य असुल गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । बजारमा हुने सबै प्रकारका गैरकानुनी कामलाई रोकेर उपभोक्ताको हितका लागि सरकारी संयन्त्रले बेवास्ता गर्नु हुँदैन ।