नुवाकोट जिल्लाको यु–१९ क्रिकेट टिम ।

हेटौंडाः बागमती प्रदेशको यु–१९ क्रिकेट टिम तयार पार्न हेटौंडामा पहिलो पटक छनोट प्रतियोगिता सुरु भएको छ । बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नुवाकोट जिल्लाले रोमाञ्चक जीत दर्ता गरेको छ । हेटौंडा–४, हुप्रचौरमा भएको खेलमा घरेलु टोली मकवानपुर जिल्लालाई १ रनले हराउँदै नुवाकोट जिल्लाले रोमाञ्चक जीत दर्ता गरेको हो ।

टस जितेर पहिलो व्याटिङ गरेको नुवाकोट जिल्लाको टिमले २९ ओभरमा १० विकेटको क्षतिमा ८३ रन मात्रै बनाउन सफल भयो । नुवाकोटका अजय विकले सर्वाधिक ३१ रन बनाएका थिए । निशान्त रेग्मीले १५ रनको योग्दान दिएका थिए भने योगेश भटट्राईले ६ रन मात्र जोडेका थिए । मकवानपुरबाट एमडी अहमद राजाले सर्वाधिक ३ विकेट लिएका थिए । यस्तै रोहित ठाकुरले २ विकेट लिएका थिए ।

नुवाकोटले दिएको ८४ रनको लक्ष्य पछ्याएको मकवानपुर २९ ओभरमा ८३ रन बनाएर अलआउट हुन पुग्यो । मकवानपुरका शिवशक्ति महतोले सर्वाधिक १६ रन बनाएका थिए । यस्तै राजा अहमदले १३ रन बनाएका थिए । अरविन्द प्रसाद यादवले ११ रन, आशिक अधिकारीले १० रन र रौशन कुमार रोयले ९ रन बनाएका थिए ।

बलिङतर्फ नुवाकोटका रोशन विक, निशान्त रेग्मी र अजय विकले समान २÷२ विकेट लिएका थिए । म्यान अफ द म्याच नुवाकोटका अजय विक घोषित भए । उनलाई बागमती प्रदेश क्रिकेट संघका सदस्य तथा टेक्निकल हेड अरुण सत्यालले म्यान अफ द म्याचको ट्रफी हस्तान्तरण गर्नुभयो । छनोट खेल अन्तर्गत भोलि बिहिबारको खेलमा चितवन जिल्ला र नुवाकोटबीच प्रतिस्पर्धा हुनेछ ।