सहयोगापेक्षी एकजना सडकमानवको उद्दार गरिँदै ।

हेटौँडाः मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा जारी मेचि–महाकाली राष्ट्रिय उद्दार यात्रा अन्तर्गत बुधबार १३ जनाको उद्दार गरिएको छ । बुधबार सुनसरीको दुहबी नगरपालिका–७ बाट १ जना, इटहरी उपमहानगरपालिकाका विभिन्न वडाबाट ७ जना र धरानबाट ४ गरी १२ जनाको उद्दार गरिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।

‘यस पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नारासहित सुरु भएको यात्रा ३२ दिनसम्म सञ्चालन हुनेछ । उद्दार यात्राका क्रममा उद्दार टोली बुधबार सुनसरीको दुहबी, इटहरी, धरानका विभिन्न स्थानका सडकपेटी तथा सार्वजनिकस्थलमा बेवारिसे अवस्थामा भेटिनुभएका मानिसको उद्दारमा खटिएको हो । यात्राको पहिलो दिन सोमबार झापाका विभिन्न क्षेत्रबाट १० जना, दोस्रो दिन ६ जना सडकआश्रित मानवहरुको उद्दार गरिएको थियो । उद्दार गरिएकाहरुलाई मानवसेवा आश्रम विराटनगर सेवा केन्द्रमा संरक्षणका लागि पठाइएको छ । अभियान अन्तर्गत बिहिबार उदयपुरमा पुगेर उद्दार गरिने जनाएको छ ।

उद्दार यात्रामा गायिका तथा समाजसेवी आनी छोइङ डोल्मासहित ४७ जना खटिरहनुभएको छ । मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आइरहेको छ । आश्रमले यस पटकको मेचि–महाकाली राष्ट्रिय उद्दार यात्राले मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्न लिएको संकल्पलाई सघाउने विश्वास गरेको छ ।