हेटौँडाः हेटौँडा सिमेन्ट उद्योगको क्रसरको तार चोरी भएको छ । असोज २२ गते राती २ बजेको समयमा झण्डै २० जनाको हतियारधारी समूहले सुरक्षागार्डलाई नियन्त्रणमा लिएर तार चोरी गरेको उद्योगका अधिकारीले जानकारी दिएको छ । उद्योग स्थापनाकै बेला जडान गरिएको हुनाले तारको मूल्य यकिन हुन नसकेको उद्योगको प्रशासन शाखाका हरेराम आचार्यले जानकारी दिनुभएको छ ।

तार चोरी भएसँगै उद्योग सञ्चालनमा समस्या हुने बताइएको छ । क्रसरमा प्रयोग भएका विभिन्न प्रकारका करिब १ सय ५० मिटर तार चोरी भएको हो । अनौपचारिकरुपमा प्रहरीलाई चोरीको घटना भएलगत्तै जानकारी गराइए पनि दसैं विदाका कारण बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा घटनाबारे जानकारी गराउँदै र आवश्यक अनुसन्धानका लागि निवेदन दिइएको आचार्यले जानकारी दिनुभयो ।

हेटौँडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले चोरीको घटनाबारे प्रहरीलाई गम्भीर भएर अनुसन्धान गर्न आग्रह गरिएको र उद्योगका कर्मचारीहरुको समेत कमि कमजोरी भए कारवाही गर्ने गरी अनुसन्धान गरिने बताउनुभयो । हेटौँडा सिमेन्ट उद्योगमा बज्र सेक्युरिटी सर्भिस प्रालिले सुरक्षागार्डसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले हेटौँडा सिमेन्ट उद्योगमा चोरी भएको घटना सम्बन्धमा निवेदन प्राप्त भएको र प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । ढिलो गरी घटना बारे जानकारी प्राप्त भएको उल्लेख गर्नुहुँदै प्रहरी नायव उपरीक्षक अर्यालले घटनाबारे उद्योगमै बुझ्न समेत आग्रह गर्नुभएको छ ।