हेटौँडाः बागमती प्रदेशको यु–१९ क्रिकेट टिम तयार पार्न हेटौंडामा जारी छनोट प्रतियोगितामा नुवाकोट जिल्ला दोस्रो खेलमा पनि विजयी भएको छ । हेटौंडा–४, स्थित हुप्रचौरमा बिहिबार भएको दोस्रो दिनको खेलमा चितवन जिल्लालाई ३२ रनले पराजित गर्दै नुवाकोटले दोस्रो जीत दर्ता गरेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको नुवाकोटले निर्धारित ४० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । नुवाकोटका निशान्त रेग्मीले अविजीत रहँदै ४६ रनको योग्दान गरे । अभिषेक कोइरालाले ३३ रन, अनुभव खनालले २५ रन र सुशील साउदले २३ रन बनाएका थिए । यस्तै योगेश भट्टले १८ रन र अनय विकले १६ रनको योग्दान दिएका थिए । बलिङतर्फ चितवनका मन्दिप बरालले सर्वाधिक ४ विकेट लिएका थिए भने विशाल खत्री र रोशन झाले समान १/१ विकेट लिएका थिए ।
नुवाकोटले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको चितवनले ३७ ओभरमा १ सय ४८ रन बनाउँदै अल आउट हुन पुग्यो । चितवनका लागि सुगम ढुङ्गानाले सर्वाधिक २२ रन बनाएका थिए । रोशन झा ले १९ रन बनाए । विशाल खत्रीले १८ रन, सिद्धान्त क्षेत्रीले १४ रन र विवश न्यौपानेले ११ रन बनाएका थिए । बलिङतर्फ नुवाकोटका निशान रेग्मीले सर्वाधिक ३ विकेट लिएका थिए । यस्तै सेख अजारले २ विकेट लिएका थिए । म्यान अफ द म्याच नुवाकोटका निशान रेग्मी घोषित भएका छन् । उनलाई हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले ट्रफी हस्तान्तरण गर्नुभयो ।
प्रतियोगिता अन्तर्गत शुक्रबार मकवानपुर र चितवनबीच प्रतिस्पर्धा हुनेछ । यसअघि बुधबार भएको उद्घाटन खेलमा घरेलु टोली मकवानपुर जिल्लाई १ रनले हराउँदै नुवाकोटले रोमाञ्चक जीत निकालेको थियो । कात्तिक १० गतेदेखि विराटनगरमा हुन लागेको वाईवाई यु–१९ राष्ट्रिय प्रतियोगितामा सहभागी हुन बागमती प्रदेशको टिम तयार गर्न छनोट प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिता कात्तिक ४ गतेसम्म हुनेछ । प्रतियोगितामा मकवानपुरसहित काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट र चितवन गरी ६ जिल्लाको सहभागिता रहेको छ । मकवानपुर जिल्ला क्रिकेट संघका कोषाध्यक्ष धिरज श्रेष्ठको संयजकत्वमा हेटौंडामा छनोट खेल भइरहेको छ ।