बागमती पुलको पहुँचमार्ग निर्माणपछि सवारी साधनको आवागमन सुचारु हुँदै । फाइल तस्वीर ।

हेटौँडाः हेटौँडा–काठमाडौं छोटो मार्ग भीमफेदी–कुलेखानी–फपिङ खण्डको कुलेखानी सिमखोलामा दुईतर्फी सहज सडक निर्माणका लागि स्थानीय प्रशासनले उक्त सडक एकतर्फी गर्ने निर्णय गरेको छ । आज शुक्रबारदेखि आइतबारसम्म ३ दिनका लागि सडक एकतर्फी सञ्चालन गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभएको छ ।

“सिमखोलाको डाइभर्सनमा एउटा गाडी मात्रै आउजाउ गर्न सकिने र केही क्षति पनि पुगेकोले उक्त खण्डलाई दुईतर्फी सञ्चालन गर्न सक्ने गरी मर्मत गर्न आज शुक्रबारदेखि पर्सी आइतबारसम्म ३ दिनका लागि काठमाडौंबाट आउन मात्रै दिने व्यवस्था गरिएको छ” प्रमुख जिल्ला अधिकारी चिलुवालले भन्नुभयो, “काठमाडौं जाने सवारी साधनले त्रिभुवन राजपथ र कान्तिलोकपथ प्रयोग गर्नुपर्नेछ ।”

भीमफेदी हुँदै काठमाडौं जान खोज्ने सवारी साधनलाई प्रहरीले भैंसेमै रोकेर त्रिभुवन राजपथ हुँदै जान दिने प्रमुख जिल्ला अधिकारी चिलुवालले बताउनुभएको छ । असोज १० गतेदेखि १२ गतेसम्मको वर्षाका कारण हेटौँडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी–फर्पिङ सडकखण्ड र कान्तिलोकपथ सडकमा ठूलो क्षति पुगेको छ ।