प्रदेश प्रमुखको कार्यालय ।

हेटौँडाः बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले २ विधेयक प्रमाणीकरण गर्नुभएको छ भने एउटा विधेयक फिर्ता गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाबाट पारित भएर प्रमाणीकरणका लागि प्राप्त भएको एउटा विधेयक पुनःविचार गर्नका लागि प्रदेश सभामै फिर्ता पठाउनुभएको हो ।

प्रदेश प्रमुख देवकोटाले बिहीबार प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्राप्त भएको ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ पुनर्विचारका लागि प्रदेश सभामा फिर्ता पठाउनुभएको हो । उहाँले संविधानको धारा २०१ को उपधारा (३) बमोजिम उक्त विधेयकमा व्यवस्था गरिएका केहि प्रावधानहरुका विषयमा पुनःविचार गर्नुपर्ने भएकाले प्रदेश सभामा पठाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखले फिर्ता पठाएको उक्त विधेयक प्रदेश सभामा पुनः छलफल गरी आवश्यक संशोधनसहित प्रमाणीकरणका लागि पठाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । यस्तै प्रदेश प्रमुख देवकोटाले प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि प्राप्त भएका अन्य २ वटा विधेयक भने प्रमाणीकरण गरी प्रदेश सभामा फिर्ता पठाउनुभएको छ ।

प्रमाणीकरण भएका विधेयकहरुमा प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक रहेका छन् । प्रदेशसभाको असोज ७ गते बसेको बैठकले पारित गरेको ती विधेयकहरु प्रदेश प्रमुख देवकोटाले संविधानको धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणीकरण गर्नुभएको हो । प्रदेश प्रमुखबाट प्रमाणित भएका दुबै विधेयकहरु राजपत्रमा प्रकाशित भएपछि लागू हुने छन् ।