चन्द्रमणि रिमाल हेटौँडा, मकवानपुर

रमेशले शिक्षक पेसाको सुरुवात गरेको १७ वर्ष भएछ । सहरको एक विद्यालयमा आफ्नो समय र परिश्रम सधैँ विद्यार्थीहरूको उज्ज्वल भविष्य बनाउनमा लगाउँथे । उनी बिहान उठ्नेबित्तिकै विद्यालयको तयारी गर्थे, पाठ्यपुस्तकहरूलाई सरसर्ती पढ्थे र त्यहीअनुसार नयाँ तरिकाले कक्षा चलाउने विचार गर्थे । विद्यार्थीहरू उनलाई निकै माया गर्थे, उनीहरूका लागि रमेश सर एक मार्गदर्शक, एक अभिभावक मात्रै थिएनन् उनी साथी पनि थिए । दुःख सुखको घाउमा मलम लगाइदिन्थे पनि ।

तर, रमेशका आफ्नै छोराछोरीहरू घरमा उनलाई अभाव महसुस गर्थे । सानो छोरो अनुगम, बाबालाई बिहान भेट्नै पाउँदैनथ्यो । कतिपय अवस्थामा जब रमेश घर फर्कन्थे, अनुगम निदाइसक्थ्यो । उनीसँग सधैँ व्यस्त तालिका थियो—बिहानै कोचिङ, दिउँसो विद्यालय त्यसपछि अतिरिक्त कक्षा अनि ट्यूसन कक्षा । उनका छोराछोरीहरूले सधैँ भनिरहन्थे, “बाबा, तपाईं कहिले हामीसँग खेल्नुहुन्छ ? कहिले सँगै खाना खानुहुन्छ ?”

यस्तो कुरा सुन्दा रमेशको मन भारी भएर आयो । भित्रभित्रै भक्कानिए उनी तर केही बोल्नै सकेनन् । गहभरि आँसु सिवाय उनका ओठमा बोल्ने शब्दहरु भएनन् ।

एक दिन रमेशले अनुगमलाई घरको आँगनमा एक्लै खेलिरहेको देखे । उनीसँग अनुगमनका लागि समय नहुँदा आफ्नै बाबुको याद आयो । कति वर्षसम्म आफूले पनि बाबुसँग पर्याप्त समय बिताउन नपाएको सम्झिए ।

अर्को दिन, विद्यालयमा उनले विद्यार्थीहरुलाई कक्षामा भने, “विद्यार्थीहरू हामीले हाम्रो अध्ययनको महत्वलाई बुझ्नुपर्छ । जीवनको रेखा कोर्न पढाइको निकै नै महत्त्व छ । आफ्नो भविष्यको डोरी अहिलेदेखि नै बाट्नुपर्छ ताकी पछि नचुडियोस् तर परिवारसँग पनि हामीले हाम्रो समय बिताउनु पर्ने हुन्छ । परिवारसँग बिताएको समय उत्तिकै मूल्यवान् हुन्छ ।”

विद्यालयबाट छिटै घर फर्केर रमेशले अनुगमनलाई अँगालो हाले । अनुगमले भने, “बाबा भोलि छुट्टी लिनुहुन्छ । हामी दुवै खेल्ने क्या रमाइलो गर्दै ।”

शिक्षक हुनु एउटा जिम्मेवारीपूर्ण काम हो, तर बाबु हुनु अझ बढी दायित्वबोध । जीवनमा असल शिक्षक बन्नुभन्दा असल बाबु बन्नु पनि महत्त्वपूर्ण हुने रहेछ । रमेशले आफ्नो पारिवारिक मोह थोरै बुझ्ने प्रयास गर्दै थिए ।

रमेशले अनुगमलाई अँगालो हालेपछि घरको वातावरणमा एउटा नयाँ ऊर्जा थपियो । अनुगमको अनुहारमा देखिएको खुसीले रमेशको मन झनै कोमल बनायो । उनी सँगै बसेर अनुगमको मनपर्ने खेल बल खेल्न थाले । बल खेल्दाखेरि रमेशले पहिलो पटक आफ्नो छोरोको हाँसोमा गहिरो आनन्द महसुस गरे ।

खेल्दा खेल्दै अनुगमले एकाएक सोध्यो, “बाबा, तपाईंलाई हाम्रा लागि कहिल्यै समय किन हुँदैन ?” यो प्रश्नले रमेशलाई मौन बनाइदियो । उनी सोच्न थाले, “यति वर्ष शिक्षकको भूमिकामा मग्न हुँदा आफूले छोराछोरीको बालापन कति छुटाइरहेछु ।”

रमेशले आफ्ना विद्यार्थीहरूलाई सधैँ प्रेरित गरेर उनीहरूको सपना पूरा गर्न सघाए । उनीहरुका लागि बाटो खोस्रिदिए । मार्गनिर्देशक बने तर आफ्नै छोराछोरीसँगको सम्बन्धमा भने कहिल्यै गहिराइमा जान सकेनन् ।

रमेशले अनुगमको हात समात्दै भने, “अनुगम, अब म तिमीहरूका लागि हरेक दिन समय छुट्याउनेछु । हामी सँगै रमाइलो गर्छौँ, म तिमीहरूको सबै कुरा बुझ्ने प्रयास गर्नेछु ।”

त्यस दिनदेखि रमेशले आफ्नो समयको नयाँ तालिका बनाउने निर्णय गरे । विद्यालय र विद्यार्थीहरूका लागि काम गर्न भने उनी सधैँ प्रतिबद्ध थिए, तर अब उनले आफ्ना छोराछोरीका लागि पनि समय छुट््याए ।
बिहान उनी विद्यालय जानुअघि अनुगम र छोरी अनुष्माको साथमा विहानको खाजा खान्थे । साँझ उनीहरूका होमवर्कमा सघाउँथे । शनिबारका दिन उनी परिवारसँग पार्क जान्थे, कहिले कहिले घुम्न पनि जान्थे ।

रमेशले महसुस गरे कि उनी शिक्षणमा जे कुरा सिकाउँथे, त्यसको वास्तविक महत्त्व तब मात्र प्रकट हुन्थ्यो जब आफूले आफ्नो परिवारसँगको सम्बन्धमा पनि ती पाठहरू लागू गर्न सक्थे । जीवनभर आफूले बनाएका सिद्धान्तहरू छोराछोरीसँग बिताएको समयमै पूर्ण हुने रहेछ ।

अब रमेशले विद्यालय र घर दुबै ठाउँमा आफूलाई सन्तुलित गर्न सके, जहाँ उनी शिक्षक मात्र नभई एक जिम्मेवार र माया गर्ने बाबु पनि भए ।

एकदिन रमेश बिहानको खाजा खाने बेला छोराछोरीसँग बसेर कुरा गरिरहेका थिए । अनुगमले टोस्टको सानो टुक्रा टोक्दै भन्यो, “बाबा, आज हामी पार्क जान सक्छौँ त ? म तपाईंलाई मेरो नयाँ फुटबल खेल देखाउन चाहन्छु ।”

रमेशले मुस्कुराउँदै उत्तर दिए, “अवश्य, अनुगम । आजको दिन तिमीहरूका लागि छुट््याएको छु । हामी पार्कमा धेरै रमाइलो गर्छौँ ।”

अनुष्माले एक गिलास दुध पिउँदै थपिन्, “बाबा, मलाई चङ्गा उडाउन मन छ । तपाईंले मलाई चङ्गा कसरी उडाउन सकिन्छ भनेर सिकाउनुहुन्छ नि है ?”

रमेशले छोरीको कपाल सुम्सुम्याउँदै भने, “अनुष्मा, हामी सबै मिलेर चङ्गा उडाउँछौँ । तिमीलाई म राम्रोसँग सिकाउँछु । आजको दिन खेल्ने र रमाइलो गर्ने मात्र हो ।”

अनुष्मा र अनुगम दुवै उत्साहित देखिए । अनुहारमा चन्द्रमाझैं प्रकाश भरिएको थियो । रमेशले उनीहरूलाई हेरिरहे, आफ्नो अघिल्लो व्यस्त जीवनलाई सम्झिँदै मनमा अनेक कुराहरु सोचिरहेका थिए । त्यसपछि मनमनै, “अब यस्ता पलहरू म कहिल्यै छुटाउने छैन” भने ।

बिहानको खाजा उनीहरूका लागि अब केवल खाना खानका लागि मात्र थिएन, यो समय हाँसो र स्नेहमा परिणत हुँदै गएको थियो ।

अनुगमले उत्सुक हुँदै सोध्यो, “बाबा, आज हामी साँझमा के खेल्ने हो ?”
रमेशले मुस्कुराउँदै भने, “आज तिमीहरूले निर्णय गर । बल खेल्ने कि नयाँ खेल सिक्ने ?”

अनुष्मा अलि गम्भीर मुद्रामा बोली, “बाबा, बल खेल्न त म जान्दिनँ । मलाई अरु केही सिकाउनुहोस् न ।”
रमेशले माया गर्दै अनुष्मालाई हेरेर भने, “तिमीलाई चाहिँ आज नयाँ खेल सिकाउँछु, लुडो खेल्न अलिअलि आउँछ होइन तिमीलाई ?”

अनुष्माले हर्षित हुँदै हाँसेर भनिन्, “हो, बाबा ! आज त लुडो खेल्ने हो, अनि जित्न पनि सिक्ने ।”
अनुगमले अनुष्मालाई जिस्क्याउँदै भन्यो, “तिमी त मसँग सधैँ हाछौँ ! आज फेरि पनि म जित्छु ।”

साँझ घर फर्किएपछि रमेशले लुडोको बोर्ड ल्याए । तीनैजना खेल्न बसे । खेल्दा–खेल्दै रमेशले सोधे, “अनुगम, तिमीलाई कस्तो लाग्दैछ ? अब बाबा सधैँ तिमीसँग समय बिताउनुहुन्छ” भने ।

अनुगमले रमाउँदै भन्यो, “बाबा, मलाई खुसी लागिरहेको छ । अब हामीसँगै सधैँ खेल्ने कुरा सुनेर । मलाई त विश्वास नै लागेको छैन । फेरि स्कुलबाट फोन आउने बित्तिकै कुदिहाल्नुहुन्छ तपाईँ ।

अनुष्माले रमेशतिर हेर्दै थपिन्, “हो बाबा, हजुरले बल्ल अहिले अलिअलि बुुझ्दै हुनुहुन्छ । एउटा बाबुको महत्त्व छोराछोराका लागि कति हुने रहेछ भनेर । हामीलाई तपाईंको खाँचो अवश्य थियो अहिले विस्तार विस्तार पूरा हुँदै छ । हामीले एउटा अभिभावकले दिनुपर्ने माया, स्नेह, साथ र दायित्व पाउँदै छौँ ।”

रमेशले स्नेहपूर्वक हाँस्दै भने, “मैले बुझेँ । सानो कुराले पनि कत्तिको असर गर्दोरहेछ भनेर । यति सानो कुराले अहिले ठुलो परिवर्तन ल्याउन सकेको छ । म अब हरेक दिन बचेको समय र समय बचाएर तिमीहरूसँगै बिताउने छु ।”

त्यो साँझ रमेशले आफ्ना छोराछोरीसँग खेल्दै, हाँस्दै, कुराकानी गर्दै बिताए । रमेशले महसुस गरे, यो समय साँच्चै बहुमूल्य थियो ।

रमेशले आफ्ना छोरोछोरी अगाडि राखेर भने, “जीवनमा मैले हजारौँ विद्यार्थीहरुलाई धेरै कुरा सिकाएँ, समाजमा केही योगदान दिएँ । आफ्ना बुबाआमाका लागि केही काम गरेँ । कति साथीभाइका लागि टेक्ने लठ्ठी बनेँ । तर असल बाबु बन्ने पाठ भने तिमीहरूले मलाई सिकायौ । म धन्य छु ।”