हेटौंंडाः अखिल नेपाल फुटबल संंघ (एन्फा) ले असोज १२ गतेको अविरल वर्षासँगै आएको पहिरोमा परी मृत्यु भएका ६ जना किशोर खेलाडीको परिवारलाई ८ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा बसेको आपतकालिन बैठकले राहत स्वरुप प्रत्येक परिवारलाई ८ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित एन्फा वात्सल्यदेवी एकेडेमीका ६ विद्यार्थीहरुले पहिरोमा परी ज्यान गुमाएका थिए । मकवानपुरका साइमन योञ्जन, अनुपम घलान र दिवस बानियाँसहित आदित्य बलम्पाखी, विकल रेग्मी र प्रियान्स आचार्यको पहिरोमा परी मृत्यु भएको थियो । एन्फाको बैठकले प्रत्येक मृतक खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा २ लाख रुपैयाँको अक्षयकोष खोल्ने निर्णय गरेको छ । यस्तै एन्फाले सञ्चालन गर्ने छात्र स्कुल प्रतियोगिता स्वर्गीय ६ खेलाडीको स्मृतिमा सञ्चालन गर्ने, मृतक खेलाडीहरुको सालिक वा स्मृति स्तम्भ निर्माणका लागि वात्सल्यदेवी माविमा पहल गरी निर्माण गराउने र मृतक परिवारको थप राहतका लागि फिफा र एएफसीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले उक्त घटनाको सत्य तथ्य विवरण संकलन गरी यथार्थ प्रतिवेदन १ महिनाभित्र पेश गर्ने गरी एन्फा केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यहरुमा केन्द्रीय सदस्य टिकाराम लामा र सहायक महासचिव दामोदर पनि छन् । यस्तै सोमबार साँझ ५ बजे एन्फाको केन्द्रीय कार्यालय, प्रदेश फुटबल संघ, जिल्ला फुटबल संघ र क्लबहरुले देशभर दीप प्रज्ज्वलन गर्ने भएको छ ।