सर्वदलीय बैठकमा सहभागी ।

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दलका माग सम्बोधन गर्ने लिखित सहमति भएको छ । आइतबार बिहान बसेको बैठकमा सहमति जुटेपछि आज आइतबारका लागि बोलाइएको प्रदेश सभा बैठक निर्धारित समयमै सञ्चालन हुने भएको छ ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बजेट र सरकार सञ्चालनका सवालमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारले नगरेसम्म प्रदेश सभा बैठक चल्न नदिने चेतावनी दिएको थियो । सर्वदलीय बैठकमा सहमति जुटेकाले प्रदेश सभा बैठक निर्धारित समयमै सञ्चालन हुने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिनुभयो ।

“सरकारले आफ्नो कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । कर्मचारी सरुवा बढुवामा कानुनसम्मत गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता आयो”, प्रमुख सचेतक ढकालले भन्नुभयो, “विगतमा सत्ता र प्रतिपक्षीबीच भएको बजेटका विषयका सम्झौता कार्यान्वयन गर्ने, असन्तुलित बजेट परिमार्जन गर्ने लिखित सहमति भयो ।” प्रदेश सभा बैठक आइतबार दिउँसो १ बजेलाई बोलाइएको थियो । निर्धारित समयभन्दा केही ढिलो भए पनि बैठक सुचारु हुने भएको छ ।