महाकाव्यकार मुना आर्याललाई पुरस्कार समर्पण गरिँदै ।

हेटौंडाः मकवानपुरे महाकाव्यकार मुना अर्याललाई ‘महालक्ष्मी साहित्य पुरस्कार–२०८१’ समर्पण गरिएको छ । शनिबार महालक्ष्मी विकास बैंकको प्रायोजन तथा मातृभूमि साहित्य समाज मकवानपुरको आयोजनामा भएको पुरस्कार वितरण कार्यक्रममा महाकाव्यकार अर्याललाई पुरस्कार समर्पण गरिएको हो ।

महालक्ष्मी विकास बैंकको सहकार्यमा मातृभूमि साहित्य समाज मकवानपुरले महाकाव्यकार अर्याललाई ५१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरेको हो । अर्यालले काव्य लेखनबाट मकवानपुरको साहित्यलाई विशेष योगदान पुर्याएको आयोजकको भनाइ छ । मातृभूमिले ईश्वर मैनालीले स्थापना गर्नुभएको १० हजार राशिको ‘केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार’ बाट हेटौंडा सन्देश राष्ट्रिय दैनिकका सम्पादक माधव न्यौपानेलाई प्रदान गरेको छ । यस्तै, ‘मकवानपुरश्री सम्मान–२०८१’ बाट शिक्षासेवी बद्रीनाथ शर्मालाई सम्मान गरेको छ ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले पुरस्कृत हुनेहरुलाई सम्मानपत्र प्रदान गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै उहाँले भाषा, कला र साहित्य मुलुुकको पहिचान भएको बताउनुभएको छ । उहाँले साहित्य क्षेत्रले देशको पहिचान भइरहेको पनि बताउनुभयो । प्रदेश सरकारले भाषा, कला र साहित्यलाई जोगाउन आवश्यक कार्य गर्ने उहाँले आश्वासन दिनुभएको छ । मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा समाजका प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य र महालक्ष्मी विकास बैंकका क्षेत्रीय प्रबन्धक शम्भु पराजुलीलगायतको आतिथ्य रहेको थियो ।