समन्वय बैठकपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडाः बालश्रम अन्त्यका लागि मकवानपुर जिल्लाका विभिन्न पालिकाबीच समन्वय बैठक भएको छ । राक्सिराङ गाउँपालिकाको आयोजना, बालकल्याण समाज र आसमान नेपालको सहकार्यमा बाल संरक्षणको सवालमा मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाबीच समन्वय बैठक भएको हो ।

बालश्रम अन्त्यका लागि संयुक्तरुपमा गर्न सकिने कार्यक्रम र बाल संरक्षण कार्ययोजना तयार गर्ने उद्देश्यले समन्वय बैठक आयोजना गरिएको राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङले बताउनु भएको छ । धर्मको नाममा बालबालिकालाई अन्तै पढ्न पठाउने गरेको जानकारी दिनुहुँदै उपाध्यक्ष थिङले बालबालिकाको पढाइ छुटाएर भरियाको काममा लगाउँदा उनीहरुको भविष्य अन्योलमा परेको बताउनुभयो । मनहरी गाउँपालिकाले बालश्रम अन्त्य गर्न होटल, ग्यारेज, घर र तानको अनुगमन गर्ने गरेको गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले जानकारी दिनुभयो । अनुगमनका क्रममा भेटिएका बालश्रमिकलाई विद्यालयसम्म पहुँच पु¥याउन छात्रवृत्ति र अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्नेबारे छलफल भइरहेको उहाँले बताउनुभयो ।

कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले बालअधिकारको बारेमा सचेतना, बालश्रमको नकारात्मक पक्षको बारेमा अभिभावकलाई शिक्षा र सबै बालबालिका पूर्णसमय औपचारिक दिवा स्कूलमा हुनुपर्दछ भन्ने मान्यताका साथ पालिकाले कार्य गर्ने बताउनु भएको छ । बालश्रम अन्त्य गर्ने सवालमा गाउँपालिकाले सामाजिक संस्थासहितको संयुक्त बैठक आयोजना गरेकोमा धन्यवाद दिनुभयो । समन्वय बैठकले तीनवटै पालिकाबीच संयुक्तरुपमा बालश्रम अनुगमन गर्ने र श्रमिक बालबालिका भेटिए जुन पालिकाको बालश्रमिक हो त्यही पालिकाले बालश्रमिकको व्यवस्थापन गर्ने सहमति गरेको छ । तीनवटै पालिकालाई सडक बालबालिकामुक्त बनाउन राष्ट्रिय बालअधिकार परिषद् र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गर्ने निर्णय गरेको छ ।

विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन र सबै बालबालिका पूर्णसमय औपचारिक दिवा स्कूलमा हुनु पर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्दै छात्रवृत्तिको संख्या वृद्धि गर्दै सार्वजनिक शिक्षाको सुदृढीकरण गर्ने कार्ययोजना बनाएर लागू गर्नेसमेत निर्णय गरिएको छ । बैठकले तीनवटै पालिकाबीच संयुक्त अनुगमन गर्ने, बालश्रमिकको कुरा सुनेर उसको आवश्यकताको आधारमा सर्वोत्तम हित हुनेगरी कार्ययोजना निर्माण गर्ने, बालक्लब परिचालन र क्षमता विकास गर्ने, बालबालिकालाई लागूपदार्थ ओसारपसार र सेवन गर्नेजस्ता दूव्र्यसनबाट मुक्त गर्न सचेतना गर्ने, धर्मको नाममा बालबालिका अन्यत्र पठाउने गरेको समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ ।

समन्वय बैठकले बालबालिकाको पुनःस्थापना केन्द्रको आवश्यकता महसुस गरेको राक्सिराङ गाउँपालिकाको रोजगार संयोजक गोविन्द विश्वकर्माले बताउनुभयो । बैठकमा राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्थम थिङ, मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर, कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, बालकल्याण समाजका अध्यक्ष प्रकाश खतिवडा, मनहरी गाउँपालिकाको शिक्षा अधिकृत प्रदीप पराजुली, राक्सिराङ गाउँपालिकाको शिक्षा अधिकृत पंकज थारु बैठकमा सहभागी थिए । राक्सिराङको रोजगार संयोजक विश्वकर्मा, कैलाशको रोजगार संयोजक हस्तराम नेगी, मनहरीको महिला बालबालिका शाखाका सम्झना दंगाल, मनहरीको रोजगार सहायक राजुकुमार ठाकुरलगायत १६ जनाको सहभागिता रहेको थियो ।

बैठकमा बालकल्याण समाजका अध्यक्ष खतिवडाबाट दिगो विकास लक्ष्य ८.७ का लागि नागरिक मञ्चद्वारा तयार पारिएको साझा अवधारणापत्र र आसमान नेपालबाट प्रकाशित गरिएको ‘श्रमिक बालबालिकाको सहभागिता सुनिश्चित गरौं’ र ‘सबै बालबालिका पूर्णसमय औपचारिक दिवा स्कुलमा हुनु पर्दछ’ ब्रोसियर र बालकल्याण समाजद्वारा प्रकाशित बालअधिकारको संरक्षण तथा सम्बद्र्धन स्रोत सामग्रीको संगालो पुस्तिका वितरणसमेत गरिएको थियो ।