ज्योति सामुदायिक वन उपभोक्ता समूहको साधारणसभामा सहभागी उपभोक्ताहरु ।

हेटौँडाः हेटौँडा–१८, हर्नामाडीस्थित ज्योति सामुदायिक वन उपभोक्ता समूहको ३१ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले चालु आर्थिक वर्ष २०८१/०८२ मा २ करोड ५३ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्यय तथा विभिन्न कार्यक्रमसम्बन्धी प्रस्ताव पारित गरेको छ । वन उपभोक्ता समूहका अध्यक्ष रामबाबु खतिवडाले चालु आर्थिक वर्षको अनुमानित आय–व्यय प्रस्तुत गर्नुहुँदै गतवर्षझैं यस वर्ष पनि वन विकास, सामुदायिक विकास र गरिबी न्यूनीकरण लगायतका कार्यक्रमहरु गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । उहाँले समूहको भवन निर्माण गर्न ६० लाख रुपैयाँको कोष निर्माण गर्ने पनि जानकारी दिनुभयो ।

समूहको कार्यकाल ५ वर्षको हुनेगरी विधान तथा कार्ययोजना संशोधन गर्ने पनि निर्णय भएको छ । उहाँका अनुसार वन व्यवस्थापन कार्यक्रममा वन व्यवस्थापन, सम्वद्र्धनका कार्यक्रमहरु, चरिचरणको व्यवस्थापनसहित वृक्षरोपण, वन्यजन्तु तथा चराचुरुङ्गीका लागि पोखरी निर्माण, वन सदुपयोगसम्बन्धी कार्यक्रमहरु र उपभोक्ताहरुलाई फलफूलका विरुवा वितरण गरिने जानकारी दिनुभयो । त्यसैगरी सामुदायिक विकास कार्यक्रम अन्तर्गत विभिन्न संघ, संस्थाहरुलाई आर्थिक अनुदान, उपचार सहयोग उपलब्ध गराउनुका साथै खेलमैदान स्तरोन्नति, सत्तल निर्माण, थानी मन्दिर निर्माण, प्रतिक्षालय निर्माण, कुवा मर्मत, पर्यटन, पर्यावरण विकास लगायतका कार्यक्रमहरु गरिने पनि उहाँको भनाई छ ।

अध्यक्ष खतिवडाले गरिबी न्यूनीकरण कार्यक्रम अन्तर्गत महिला सशक्तीकरण, उद्यमशीलता, कृषिमा अनुदान सहयोग, लक्षित वर्गहरुमा अनुदान सहयोग, समूहलाई आर्थिक रुपमा सवल बनाउनुका साथै समुदायलाई आत्मनिर्भर, सीपमूलक बनाउन आफ्नै काठ प्रशोधन उद्योग सञ्चालन गर्ने र सामुदायिक वनभित्रका खाली ठाउँमा आयआर्जनमूलक खेती लगाउने कार्यक्रमहरु गरिने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष अनिल कुमार बानियाँले वन समूहको रकम सही ठाउँमा लगानी हुनुपर्नेमा जोड दिनुभयो । समूहले लक्षित वर्गका समूहलाई छुट्याएको रकमले उनीहरुलाई ठूलो राहत पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । ज्योति सामुदायिक वन उपभोक्ता समूहमा आर्थिक पारदर्शिता रहेको र वडाकै उत्कृष्ट वन समूह रहेको दावी समेत अध्यक्ष बानियाँले गर्नुभयो ।

कार्यक्रमका हर्नामाडी सव–डिभिजन कार्यालयका प्रमुख मदन घिमिरेले चालु आवको कार्यक्रममा वन पैदावार चोरी, तस्करी नियन्त्रणका विषय समेट्न आग्रह गर्नुभयो । उहाँले सव–डिभिजनको क्षेत्राधिकारभित्र रहेका १५ वटा सामुदायिक वनमध्ये समयमै साधारणसभा गर्ने ज्योति सामुदायिक वन पहिलो भएकोमा प्रशंसा समेत गर्नुभयो । समूहका सल्लाहकार संयोजक एवम् वंशगोपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अरुण कुमार खतिवडाले समूहको हालसम्मको क्रियाकलाप लोकतान्त्रिक पद्दतिमै रहेको बताउनुभयो । उहाँले वन तथा वातावरण जोगाउन निरन्तर लाग्न पनि समूहलाई सुझाव दिनुभयो ।

कार्यक्रममा समूहका सचिव राजकुमार श्रेष्ठले आर्थिक वर्ष २०८०।०८१ को आय–व्यय प्रस्तुत गर्नुभयो । कार्यक्रममा ज्योति सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार एवम् हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल, समूहका पूर्व अध्यक्षहरुको तर्फबाट मंगल सिं लामा, टोल विकास संस्थाका तर्फबाट रामधुनी टोल विकास संस्थाका अध्यक्ष रमेश सिलवाल, समूहका लेखा संयोजक इमान बहादुर थापा, गोरक्षनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रोशन थापा, वडा प्रहरीका ईन्चार्ज उर्मिला रानाले मन्तव्य राख्नुभयो । कार्यक्रममा वडा सदस्य पुजा मंग्राती, समूहका पूर्वअध्यक्ष प्रेम बराल, वैदिक वानप्रस्थ गुरुकुलका शिक्षक कृष्णप्रसाद गर्तौला र समूहका लेखा सदस्य बालकुमार श्रेष्ठ, देवकी कोईराला, रामधुनी कालीवन सामुदायिक वनका उपाध्यक्ष काजीमान थिङ र उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।