घनश्याम घिमिरे, उपप्राध्यापक, मकवानपुर बहुमुखी क्याम्पस

नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएका आदिकवि भानुभक्त आचार्यको आज जन्मजयन्ती । भानु जयन्तीलाई नेपाली भाषा, साहित्यको क्षेत्रमा क्रियाशील व्यक्तिले विशेष महत्वका साथ मनाउने गरेका छन् । नेपाली साहित्यको आदिम समयमा उल्लेखनीय योगदान गर्नुभएकै कारण भानुभक्तलाई आदिकविको उपाधी दिइएको हो । आज भानुजयन्तीकै अवसरमा समाज संवाददाता जेनिशा घिमिरेले मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक घनश्याम घिमिरेसँग गर्नुभएको कुराकानीः

समाजः आदिकविको उपमा प्राप्त गर्नुभएका भानुभक्तलाई आजको पुस्ताले कसरी बुझेको पाउनुभएको छ ?
घिमिरेः नेपाली साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान महत्वपूर्ण रहेको छ । हामीले विश्व साहित्यलाई नेपाली साहित्यसँग तुलना गर्दा नेपाली साहित्य धेरै कान्छो साहित्य हो । यसो भन्न हामीले लाज मान्नु हुदैन । किनकी इतिहासले यही तथ्यलाई पुष्टि गरेको छ । विगत २ सय वर्षअघिदेखि नेपाली भाषामा साहित्य लेख्न थालियो, एकदमै पातलो र छिट्पुट रुपमा कथा, कविता तथा श्लोकहरु लेखिरहेको सन्दर्भमा नेपाली भाषाको आफ्नै अस्तित्व नभएर संस्कृत र अनुवादजन्य सिर्जनाहरुमा नेपाली साहित्य टिकिरहेको अवस्थामा भानुभक्त आचार्य यस्तो स्रष्टाका रुपमा देखा परे जसले नेपाली साहित्यलाई फुटकर कवितादेखि महाकाव्यको स्तरसम्म फैलाउन र नेपाली भाषाको स्तरीयता वृद्धि गर्न तत्कालिन कालखण्डमा महत्वपूर्ण योगदान गरे । यसर्थ नेपाली साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान अपरिहार्य छ । यो कुरालाई इतिहासले नै पुष्टि गरेको छ ।

समाजः नेपाली साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदानलाई कसरी चर्चा गर्न सक्छांै ?
घिमिरेः हामीले भानुभक्तस“ग जोडिएको आदिकविको उपाधि र अहिलेको पुस्ताले भानुभक्तलाई हेर्ने दृष्टिकोणलाई चाहिँ फरक–फरक ढंगले विश्लेषण गर्दा उपयुक्त हुन्छ । आदिकविको शाव्दिक अर्थ सबैभन्दा पुरानो कवि सुरुवाती कवि भन्ने हुन्छ । भानुभक्तलाई नेपाली साहित्यको सुरुवाती कवि भन्ने सन्दर्भमा मात्रै आदिकविको उपाधि दिइएको होइन । नेपाली साहित्यको इतिहास हेर्ने हो भने भानुभक्त अगाडि धेरै साहित्यकारहरुले नेपाली साहित्यमा रचनाहरु सिर्जना गरेका छन् । सुरुवाती कवि भानुभक्त नै हुन् भन्न मिल्दैन । नेपाली साहित्यमा जुन किसिमको मर्म, उचाई छ त्यो उचाईलाई समात्ने गरी नेपाली साहित्यको विकासमा योगदान गर्ने पहिलो कवि चै भानुभक्त नै रहेका छन् । अहिलेको अवस्थामा आजको पुस्ताले भानुभक्तलाई एकदमै प्राचिन, पुरातन कविको रुपमा मात्रै बुझेका छन् । अहिलेका पुस्ताहरुले भानुभक्तको रामायण, वौद्धिक शिक्षा, प्रश्नोत्तरमाला लगायतका कृतिहरुलाई नयाँ ढंगले विश्लेषण गरिरहेका छन् र सोहि अनुसार अभिप्रेरणा लिइरहेका छन् । यसैगरी विद्यालयस्तरमा भानुभक्तप्रतिको लगाव हुनु उल्लेखनीय छ । जसले गर्दा युवापुस्तामा आदिकवि भानुभक्त नेपाली साहित्यको उदाहरणीय स्रष्टाको हुन् भन्ने किसिमको छाप परेको पाइएको छ ।

समाजः आजको पुस्ताले आदिकवि भानुभक्त आचार्यलाई कसरी बुझन सक्छन् ? भानुभक्तलाई जान्ने बुझ्ने माध्यम के हुन सक्छ ?
घिमिरेः भानुभक्तलाई बुझने भनेकै उनका सिर्जनाहरु हुन् । उहाँ नरहे पनि उहाँका सिर्जनाहरु अमर छन् । त्यसैको माध्यमबाट पनि भानुभक्तको पहिचान गर्न सकिन्छ । उनको सिर्जनाको रुपमा रामायण पढ्ने, श्लोकहरु पढ्ने, बुझने, एक किसिमको भक्तिभाव लिने गनुपर्छ । आजको पुस्ताले रामायणलाई धार्मिक ग्रन्थको रुपमा मात्रै नलिई त्यसलाई साहित्य रचनाको रुपमा लिनुपर्छ । त्यहाँ भएका विषयवस्तुलाई आलोचनात्मक ढंगले टिप्पणी गर्नुपर्छ । यसैगरी भानुभक्तलाई जान्न बुझ्न सकिन्छ ।

समाजः आदिकवि भानुभक्त आचार्यको योगदानको कदर, सम्मानमा आम नेपालीले के गर्नुपर्छ होला ?
घिमिरेः भानुभक्तले प्राप्त गरेको आदर सम्मान अन्य स्रष्टाहरुको तुलनामा कमी छैन । नेपाली साहित्यमा भानुभक्तकै जति योगदान गरेका स्रष्टाहरुले त्यति सम्मान र प्रतिष्ठा पाएका छैनन् । तर, उहाँले योगदान गरेको जति सम्मान पाउनुभएको छ । नेपाली भाषाभाषीहरु भएको सबै ठाउँमा आदिकवि भानुभक्त पुग्नुभएको छ । आज भानुजयन्तीको अवसरमा तपाई हामी यहाँ बसेर कुरा गरिरहँदा नेपालमै रहेका ३ करोड भन्दा बढी नेपाली भाषी र संसरभर रहेका झण्डै ६ करोड नेपालीभाषीले आदरपूर्वक भानुजयन्ती मनाइरहिएको छ । यस सन्दर्भमा अहिलेको नयाँ पुस्ताले पनि आदर र सम्मानको साथ जयन्ती मनाइरहेका छन् । तसर्थ उहाँले पाउनुपर्ने आदर सम्मान पाउनुभएको छ ।

समाजः भानुभक्तको चरित्रलाई कसरी बुझन सकिन्छ ? उहाँ कस्ता प्रकृतिको व्यक्ति हुनुहुन्थ्यो ?
घिमिरेः उहाँको व्यक्तिगत चरित्रको सन्दर्भमा कतिपय औपचारिक र अनौपचारिक कुराहरु पाइन्छ । अर्थात कतिपय कुराहरु तथ्यले पुष्टी गरेका कुराहरु छन् भने कतिपय तथ्यले पुष्टी नगरेका कुराहरु छन् । जस्तै भानुभक्तले बोध शिक्षा रचना गरेको समयमा मित्रको घरमा जाँदा बुहारीसँग परेको बादविवाद र त्यसैलाई सन्दर्भ बनाएर लेखिएका कुराहरु, त्यसैगरी उहाँ जग्गाको मामलामा फस्दा केही समय जेल परेका कुराहरु । यि भानुभक्तका धेरै कुराहरु सम्बन्ध, आचरण, चरित्र र आफ्नो पारिवारिक व्यवहारिक सन्दर्भलाई लिएर कुराहरु उठेका छन् । ति उठेका कुराहरुमध्ये कतिपय कुरालाई इतिहासले पुष्टि गरेको छ भने कतिपय कुराहरु इतिहासले पुष्टि नगरे पनि किम्बदन्तिको रुपमा रहिरहेको पाइन्छ । त्यसैले अहिले आएर उहाँको चरित्र कस्तो थियो भन्दा पनि उहाँको रचना कस्ता छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । किनभने उहाँको जीवन सकिसक्यो उहाँको रचनामात्र हामीले प्राप्त गरेका हौं । त्यसैले उहाँलाई व्यक्तिगत चरित्रको आधारमा होइन उहाँको सृजनाको आधारमा मुल्याङकन गरिनु पर्छ । उहाँको सृजनाहरु त्यो समयको पृष्ठभूमिमा रचना गरिएका हुन् भनेर मूल्याङकन गरिनु पर्छ भन्ने लाग्छ ।