हेटौंडाः हेटौंडा–२ नगरपालिका रोडस्थित अञ्चल आयूर्वेद औषधालयका सबैखाले सेवा निशूल्क प्रदान गरिरहेको छ । सरकारी स्वामित्वको अस्पतालमा स्वास्थ्य उपचारमा जाने सेवाग्राहीले टिकट काट्न समेत शूल्क तिर्नुपर्दैन । आयूर्वेद औषधालयमा दैनिक ५० देखि ६० जनाले सेवा लिइरहेका छन् ।
आयूर्वेद औषधालयमा ग्यास्ट्रिक, जण्डिस, पायल्स, दम, खोकी, छाला सम्बन्धी स्वास्थ्य समस्या लिएर सेवाग्राही आउने गरेको औषधालयका सूचना अधिकारी बैकुण्ठ आचार्यले जानकारी दिनुभयो ।
अस्पतालमा बहिरंग, प्रयोगशाला, पञ्चकर्म, फिजियो थेरापी, औषधी सेवा प्रदान गरिरहेको आयुर्वेद औषधालयका सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । प्रदेश सरकारको सहयोगबाट ज्येष्ठ नागरिकलाई स्वास्थ्य प्रबर्धनात्मक योग, आमाहरुको लागि औषधि वितरण गरिरहेको छ । औषधालयले जिल्लाका विभिन्न स्थानमा सञ्चालित आइसोलेसन तथा क्वारेन्टिनमा रहेका नागरिकलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी पनि निशूल्क वितरण गरिरहेको छ ।
स्वास्थ्य परीक्षण तथा उपचारका लागि आउनुभएकी हेटौंडा–४, कान्तिराजपथकी कुन्ति नकर्मीले आयूर्वेद औषधालयमा आयुर्वेद चिकित्सकहरुले राम्रो जाँच्ने र औषधि निशुल्क पाउने भएकोले उपचारका लागि आएको बताउनुभयो ।