मिथिला अधिकारी
कुरा २०६३ साल पुस महिनाको हो । मेरो केही काम विशेषले साविक हत्पते गाविस र हालको दुधौली नगरपालिकाको सदरमुकाम सिन्धुली जानुपर्ने भएकाले म र मेरो जेठानी दिदी आफ्नै घर अगाडिबाट बिहान सबेरै आउने गाडीमा चढ्यौँ ।
त्यसबेला कच्ची बाटो थियो र गाडीहरू फाट्टफुट्ट मात्रै चल्दथे। त्यसैले गाडीमा यात्रुको अलि भिडभाड हुन्थ्यो । त्यसकारणले हामीलाई बस्न सिट मिलेन । हामी उभिएरै यात्रामा थियौंँ । गाडी आफ्नै रफ्तारमा गुडिरहेको थियो । केही समयपछि एक्कासी मेरो आँखा चिलाउन थाल्यो । आँखा बिझाइरहेको पनि थियो । मेरो आँखामा के भएको होला भनेर मलाई डर पनि लागिरहेकोे थियो ।
विस्तारै गाडी सदरमुकाम सिन्धुली बजारमा पुग्यो । हामी त्यहीँ ओर्लियौँ । मैले सोधेँ, दिदी यहाँ कतै आँखा अस्पताल छैन ? मेरो आँखा चेक गराउनु पर्यो, सारै गारो भयो । चिलाएको र बिझाएको पनि छ । दिदीले भन्नुभयो, छ नि यहीँ नजिकै सरकारी आँखा अस्पताल छ, जाऔँ न त । टिकट पनि खुल्ने बेला हुन लाग्यो होला ।
हामी दुबैजना अस्पतालको टिकट काउन्टरमा पुग्यौँ । भखर काउन्टर खुलेको रहेछ । पहिलो टिकट मैले नै पाएँ । सोधेँ “कति नम्बर कोठा हो ?”
टिकट दिने एक महिला हुनुहुन्थ्यो । उहाँले कोठा नम्बर बताएपछि हामी उतै लाग्यौँ ।
पहिलो टिकट मेरै भएकोले सबैभन्दा अगाडि म नै थिएँ । कोठाको ढोकाको साइडमा बेन्च राखिएको थियो, म गएर त्यसै बेन्चमा बसेँ ।
“तिमी डाक्टर आएपछि चेक गराउँदै गर । मेरो सानो काम छ, म काम सकेर आइहाल्छु है”, भन्दै दिदी निस्किनुभयो । म त्यहीँ बसिरहेँ । केही बेरपछि बिस्तारै स्वास्थ्य जाँच गराउन आउने अरू पनि थपिन थाले ।
एकछिनपछि लगभग मेरै उमेरको एउटा सुन्दर युवक मेरो अगाडि आएर बोल्न लाग्यो, “म्याम, हजुर आँखा चेक गराउन आउनु भएको हो ?”
मैले भनेँ, ‘हो ।’ अनि उसले आफ्नो आँखा देखाउँदै भन्यो, “म्याम हेर्नुस न । मेरो पनि आँखामा यसरी घाउ आ को छ, आँखा दुखिराखेको छ, पहिला भित्र म जान्छु ल ।”
उसको कुरा सुनेर मैले उसको अनुहारतिर हेरेँ, उसको आँखाको डिलमा सानो घाउ आएको रहेछ । मैले भनेँ, “अहँ, कहाँ हुन्छ त्यसरी । मेरो पालो पहिलो छ । म आफैं जान्छु आफ्नो पालोमा । पछि आउने अनि अघि जान खोज्ने ? कहाँ पाइन्छ अर्काको पालो मिच्न ? मेरो कुरा सुनिसकेपछि उसले भन्यो, “प्लिज म्याम, मलाई जान दिनुस् न पहिला भित्र अनि हजुर पछि आउनुहोला नि ।”
मलाई उसले गरेको त्यो जिद्दी देखेर कता कता रिस उठिसकेको थियो । मैले भनेँ, “हुँदैन, हुँदैन, हुँदैन । तपाईं खुरुक्क गएर पछाडि उभिनुस् अनि आफ्नो पालोमा आउनुस् । यहाँ मलाई कति गारो भएको छ, तपाईंको त हिजो अस्ति नै आको घाउ हो । मेरो त आजै अघि भर्खरै एक्कासी आँखामा के परेर यस्तो भएको छ ? तपाईको एमर्जेन्सी हैन मेरो भन्दा । त्यसैले धेरै जिद्दी नगर्नुस् ।”
म अलि कड्किएर बोलेको सुनेपछि उसले हाँस्तै भन्यो, “ओके म्याम, हजुरले जे भने पनि हजुरको जति नै एमर्जेन्सी भए पनि भित्र त पहिला म नै जान्छु ।” यति भनेर ऊ त्यहाँबाट हिँड्यो ।
उसको त्यस्तो कुरा सुनेर मलाई झन् रिस उठ्यो र म भित्र भित्रै मुरमुरिँदै बोलेँ, “मान्छे पनि कस्ता कस्ता हुन्छ्न बाबै ।”
म ढोकामा उभिएर सोचिरहेँ, यही बेला डाक्टर आए त यो जिद्दी केटा नआउँदै पहिला म भित्र छिरिहाल्ने थिएँ अनि जान्थ्यो त्यो केटा पहिला ।
केही बेरपछि भित्रबाट घुरुक्क ढोका खुल्यो । अलि अधबैँसे पुरुषले मेरो हातको टिकट माग्दै भित्र बोलाए । मलाई एक किसिमको सुकुन मिल्यो र मनमनै भने खाइस् जिद्दी केटा । पैला त भित्र मै जान्छु भनेको थिइस्, अब देखिस् को गयो पैला भित्र, म गएँ कि तँ गईस् भनेर सोच्दै फुरुक्क परेर म भित्र पसेँ ।
भित्र एउटा टेबुलको अगाडि र पछाडि दुईवटा कुर्सी राखेको थियो । टेबुलको पछाडिपट्टिको कुर्सीमा बसेर डाक्टर पत्रिका हेर्दै हुनुहुन्थ्यो । उहाँले पत्रिका हातमा उठाएर हेरेको हुनाले मैले उहाँको अनुहार पूरै देख्न सकेकी थिइनँ । उहाँले पत्रिका नहटाईकनै भन्नुभयो, ‘बस्नुस् ।’
म टेबुलअगाडिको कुर्सीमा बसेँ । त्यसपछि उहाँले आफ्नो हातको पत्रिका टेबुलमा राख्दै भन्नुभयो, “देख्नुभयो त भित्र को पहिला आयो ?”
मैले आफ्ना आँखा उठाएर डाक्टरको अनुहारतिर हेरेँ । उहाँ मुस्कुराइरहनुभएको थियो । म छाँगाबाट खसे जस्तै भएँ । जसलाई म पहिला भित्र जानै दिन्नँ भनेर रिसाएकी थिएँ । आखिर उहाँ नै डाक्टर हुनुहुँदोरहेछ ।
म लाज र डरले रातीपिरी भएँ । केही बोल्नै सकिनँ । फेरि डाक्टर आफैं बोल्नुभयो, “हेर्नुस् न मेरो पनि आँखामा घाउ आ को चार, पाँच दिन भयो । बिसेक भाको छैन । दबाई खाँदै छु म पनि । ल, यता हेर्नुस् त ।”
मलाई लाजले डाक्टरतिर हेर्नै मन थिएन तर पनि हेर्नुपर्ने त छँदै थियो । मैले बिस्तारै आँखा उठाएँ । डाक्टरले चेक गर्नुभयो र भन्नुभयो, “डराउनु पर्ने केही छैन, सामान्य एलर्जी भएको हो, म ड्रप लेखिदिन्छु, त्यो किनेर दिनमा चारपटक एक एक थोपा आँखामा हाल्नुस् । ठिक हुन्छ, आत्तिनुपर्ने केही छैन, है त ।”
मैले हस् भनेर टाउको हल्लाएँ । बोल्न अझै सकेकी थिइनँ । डाक्टरले मुस्कुराउँदै भन्नुभयो, “ल अब पिर नगरी जानू है ।” म आफ्नो टिकट बोकेर बाहिर निस्किएँ । मलाई अझै सम्झी सम्झी लाज लागिरहेको थियो ।
मनमनै सोचेँ आहा, डाक्टरहरू पनि सेवाग्राहीहरूसँग यति मजाक गर्ने हुँदा रहेछन् । उहाँ डाक्टर भएर पनि कति सरल र आत्मीय व्यवहार बिरामीसँग ।
मेरो मनलाई उहाँको त्यस सरल व्यवहारले कता कता छोयो ।
हिजोआज पनि म आँखा अस्पताल जाँदा उहाँ यतै कतै हुनुहुन्छ कि जस्तो लाग्छ तर दुर्भाग्य, मैले उहाँको नेमप्लेट हेर्न भ्याइनछु । उहाँको नाम थाहा नभए पनि उहाँ मेरो स्मरणमा सदा हुनुहुन्छ र रहिरहनुहुने छ ।
लेखन २०८१ भाद्र ८ गते, हेटौँडा–८, कमाने, मकवानपुर