हेटौँडाः आज सेप्टेम्बर १०, अर्थात् विश्व आत्महत्या रोकथाम दिवस । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) द्वारा प्रकाशित एक रिपोर्टअनुसार आत्महत्याका कारण विश्वमा प्रत्येक वर्ष ७ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ । जसमध्ये ७७ प्रतिशत भन्दा बढी आत्महत्याका घटना नेपाल जस्ता कम तथा मध्यम आय भएका देशहरूमा हुने गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस आधानोम गेब्रीयससले विश्वमा प्रत्येक ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्छन् र प्रत्येक ३ सेकेन्डमा एक जनाले आत्महत्याको प्रयास गर्छन् भनेका छन् । यो सङ्ख्या वर्षेनी बढ्दो क्रममा छ । गएको ५० वर्षमा युवाहरुमा आत्महत्याको दर तीन गुणाले बढेको डरलाग्दो तथ्याङ्क छ ।

नेपालमा पनि आत्महत्याले अत्यन्त डरलाग्दो र भयावह रूप लिँदै आएको छ । संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौँ स्थानमा पर्छ । नेपालमा पुरुषको तुलनामा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्याङ्कलाई हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ । नेपालमा बर्सेनी औसत आठ हजार ६ सय ४० जना मानिसले आत्महत्या गर्ने गरेका छन् । यसर्थ, आत्महत्या नेपालको एक राष्ट्रिय समस्या बन्दै गएको छ ।

संरचनात्मक प्रकार्यवादी विचारका प्रतिपादक तथा समाजशास्त्रका चार स्तम्भमध्येका एक मानिने इमाइल दुर्खिमले सन् १८९७ मा लेखेका आफ्नो पुस्तक ‘सुसाइड’ मा व्यक्तिले आत्महत्या गर्नुमा समाज दोषी भएको विचार प्रकट गरेका छन् । दुर्खिमका अनुसार आत्महत्या व्यक्तिगत मुद्दा नभएर सामाजिक मुद्दा वा घटना हो । आत्महत्या गर्न बाध्य हुनुको कारण सामाजिक परिबन्द हुन्छ । त्यो समाजको मूल्य–मान्यता हो । समाज अर्थात् समाजका विभिन्न संरचना, अङ्गहरू जसले मानिस र उसको दैनिकीलाई असहज बनाइरहेको छ, त्यस्ता पक्षका विभिन्न आयामहरूको प्रभाव आत्महत्याको निर्णयमा पर्छ । समाजसँग सहजरूपमा समायोजन हुन नसक्दा सामाजिक समस्या देखिन्छन्, त्यसको प्रकटीकरण नै आत्महत्या हो । त्यसैले दुर्खिम भन्छन्, “समाजशास्त्रीय विश्लेषण गरेर मात्र आत्महत्याको समस्यालाई निराकरण गर्न सकिन्छ ।”

मकवानपुर जिल्लामा पनि आत्महत्याका घटनाहरु उल्लेख्य संख्यामा हुने गरेका छन् । आत्महत्याका घटनाको सघन अध्ययन, अनुसन्धान र निराकरणमा भने सरकार र समाजको ध्यान जान सकेको छैन ।