मकवानपुरे खेलाडी रिजन बुबा राजु ढकालसँग । रिजनको खेल जिवनमा परिवारको महत्वपूर्ण साथ र सहयोग छ ।

हेटौँडाः मकवानपुरका क्रिकेटर रिजन ढकाल राष्ट्रिय टिममा परेका छन् । नेपाल क्रिकेट संघ (क्यान) नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्न क्यानडा भ्रमणलाई सोमबार १६ सदस्यीय टोली घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा घोषणा गरेको राष्ट्रिय टोलीमा मकवानपुरका रिजन पनि समेटिएका हुन् ।

लिग २ मा नेपालले पहिलो खेल सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ । त्यस्तै नेपालले सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ । २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

त्यसपछि नेपाल लिग २ खेल्न नै अमेरिका जानेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुबै सिरिज हुनेछ । अमेरिकालाई फेरि टोली घोषणा गर्ने क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन् । ८ टोली सहभागी लिग २ आगामी २०२७ सम्म चल्नेछ । शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच गत फेब्रुअरीमा लिग २ त्रिकोणात्मक सिरिज भएको थियो । नेपाल नामिबियासँग दुबै खेलमा पराजित हुँदा, नेदरल्यान्ड्समाथि एक खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो । नेपाल ४ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ ।